शहीदहरूको सपना साक्षी राखेर एकजुट भई काम गर्ने बेला आइसक्यो : उपप्रमुख डंगोल (भिडिओ)
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरूको सपना साक्षी राखी एकजुट भएर काम गर्ने बेला आइसकेको बताएकी छन् ।
मंगलवार काठमाडौंमा शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले शहीदले देख्नुभएको सपना र त्यसलाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि अहिले सबैका बीचमा साझा संकल्प चाहिएको बताइन् ।
उनले जनताका चाहनाबमोजिम सेवा सुविधा उपलब्ध गराउन स्वतन्त्रता र सँगसँगै समता र समुचित उपभोग गर्न शहीदहरूको सपना साक्षी राखेर एकजुट भएर काम गर्ने बेला आइसकेको बताइन् ।
उनले समृद्धिको मूल आधार भनेको आर्थिक विकास र रोजगारी रहेको भन्दै यसलाई सार्थक बनाउनका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र र अधिकार भित्र रहेर काम गरिरहेको स्पष्ट पारिन् ।
उनले नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक, उत्थान र सँगसँगै स्वास्थ्य शिक्षामा पहुँच तथा समावेशी एवं पहुँचयुक्त विकासमा प्रतिबद्ध रहेको बताइन् ।
उनले महानगरवासीको मुहारमा खुशी र सुखका अनुभूति ल्याउन निरन्तर रूपमा प्रयासरत रहेको जिकिर गरिन् ।
उपप्रमुख डंगोलले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तहगत रूपमा नै सरकारहरूलाई नागरिकको मुहारमा खुशी ल्याउने कर्ममा लाग्नुपर्ने आजको उद्देश्य रहेको बताइन् । यसबाट नै शहीदले देखेका सम्पूर्ण सपनाहरू पूरा हुने विश्वास व्यक्त गरिन् ।