सामाजिक सञ्जालमा प्रश्न गर्नेलाई वडाध्यक्षको पत्र- ३ दिनभित्र कार्यालयमा उपस्थित हुनू
पोखरा । पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले सामाजिक सञ्जालमा प्रश्न गर्ने एक जनालाई वडा कार्यालयमा उपस्थित हुन पत्र काटेका छन् ।
बाटो मर्मत नहुँदा दुर्घटना बढेको भन्दै सामाजिक सञ्जालमा प्रश्न गर्ने आश्विन भण्डारीलाई ३ दिनभित्र कार्यालयमा उपस्थित हुन वडाध्यक्षले माघ ११ गते पत्र काटेका हुन् ।
सराङकोटबाट पोखरा आउँदै गरेको जिप सोही वडाको ग्यार्जतीमा माघ १० गते दुर्घटनामा हुँदा एक जनाको मृत्यु र २ जना घाइते भएका थिए ।
सोही विषयमा भण्डारीले सामाजिक सञ्जालमा वडाका जनप्रतिनिधिमाथि प्रश्न उठाएका थिए । सोही विषयमा वडाध्यक्षले पत्र काटेका हुन् ।
‘सामाजिक सञ्जालबाट नै धम्कीपूर्ण भाषा प्रयोग गरी आवतजावत गर्दा आफ्नो र सवारी साधनको सुरक्षा आफैँ गर्नु भनी लेख्नु भएको हुँदा यस विषयमा किन र कसलाई, के को लागी ? भनी बुझ्नुपर्ने भएकोले आजको मितिले ३ दिन भित्र मिति २०८०र१०र१४ आइतबारको दिन ११ बजे उपस्थिति भइदिनुहुन अनुरोध गरिन्छ, पत्रमा लेखिएको छ।
वडाध्यक्ष तिमिल्सिनाले यो छलफल भइसकेकोले बोल्न नमिल्ने प्रतिक्रिया दिए ।