सन्दीपमाथिको फैसलाको पूर्णपाठ- महिलाको बयान नै प्रमाण, असमान हैसियतमा राजीखुशी हुँदैन – Nepal Press

सन्दीपमाथिको फैसलाको पूर्णपाठ- महिलाको बयान नै प्रमाण, असमान हैसियतमा राजीखुशी हुँदैन

किन भनियो न्यायिक ब्लन्डर ? पूर्णपाठले छाडेका यी अनुत्तरित प्रश्नहरु

काठमाडौं । सन्दीप लामिछानेलाई बलात्कार अभियोगमा दोषी ठहर्‍याएको जिल्ला अदालत काठमाडौंले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । पूर्णपाठमा न्यायाधीशले तथ्य-प्रमाणभन्दा तर्कको बलमा बलात्कार सावित गर्ने जमर्को गरेका छन् ।

सन्दीपले गौशाला- २६ माथि बलात्कार गरेको निष्कर्षमा पुग्ने दुई वटा आधार दिइएको छ, पहिलो ‘पीडित’ को बयान र दोस्रो उनीहरु दुईबीचको असमान हैसियत । अदालतले जाहेरीकर्ताको बयानलाई नै बलात्कारको सबैभन्दा ठूलो प्रमाण मानेको छ । आर्थिक-सामाजिक हैसियत समान नभएका महिला र पुरुषबीच सहमतिमा करणी हुन नसक्ने दलिलसमेत गरिएको छ ।

फैसलाको ७४ नम्बर बुँदामा भनिएको छ, ‘जबरजस्ती करणी मुद्दामा पीडित नै घटनाको आधारभूत गवाह भएको र अन्यथा नभएसम्म निजको भनाइ नै सर्वाधिक महत्वको प्रमाण हुने हुँदा पीडितले जबरजस्ती गरेको भनी भनेको अवस्था र पीडित तथा प्रतिवादीको असमान हैसियत रहेको देखिएको अवस्थामा भएको करणीको कार्यलाई मञ्जुरीमा भएको भन्न मिल्ने देखिएन ।’

अदालतले सन्दीपले गौशालालाई करणी गर्ने नियतले नै होटलमा लगेको अनुमान लगाएको छ ।

बुँदा नम्बर ५६ मा भनिएको छ, ‘निज प्रतिवादीले पीडितलाई होटलमा लिएर जानु र आफूलाई तय गरिएको होटलको कोठामा नबसी पीडित बसेको कोठामा नै बसेको देखिइ प्रतिवादी तथा पीडितको क्रियाकलापको सामान्य क्रम विचार गर्दा प्रतिवादीको मनसाय पीडितसँग करणी गर्नु नै रहेको भन्ने अनुमान गर्न सकिन्छ । पीडितले करणी भएको भनेको र माथि उल्लेखित परिस्थितिबाट पीडित र प्रतिवादीका बीचमा करणीको कार्य भएको भन्ने अवस्था देखियो ।’

पीडितले आफ्नो साथीलाई ‘सन्दीपले साथीको घरमा छोडिसक्यो म सुरक्षित छु’ भनेर म्यासेज लेखेको कुरालाई सहमति मान्न नमिल्ने पूर्णपाठमा उल्लेख छ । प्रतिवादको शरीरमा संघर्षको चिह्नहरु नदेखिएको, स्वास्थ्य परीक्षण प्रतिवेदनबाट करणी भन्ने कुरा पुष्टि नभएको, पीडितले आत्मरक्षाको प्रयास नगरेकोलगायत प्रतिवादी पक्षबाट प्रस्तुत भएका दलिलहरुलाई अदालतले उल्लेखनीय मानेको छैन ।

कस्तो अवस्थामा महिलाले प्रतिकार गर्न सक्दैनन् भन्ने पूर्णपाठमा प्रष्ट्याइएको छ ।

‘एक पक्षबाट भौतिक बलको प्रयोग गरेको वा त्यस्तो बल प्रयोग गर्ने धम्की दिएको अवस्था तथा अर्को पक्ष कुनै कारणबाट अचेत रहेको तथा शारीरिक रुपमा अशक्त रहेको अवस्थामा अर्को पक्षले प्रतिकार गर्न नसकी समर्पण गर्नुपर्ने हुन्छ । यसरी समर्पण गरेको कुरालाई मञ्जुरी मानिँदैन ।’

तर, यीमध्ये कुन अवस्थाका कारणले गौशाला- २६ ले प्रतिकार नगरेकी हुन् भन्ने उल्लेख गरिएको छैन । प्रतिवादीले राजीखुशीमा सँगै बसेको भन्ने ठोस प्रमाण दिन नसकेको फैसलामा जनाइएको छ ।

पूर्णपाठमा थप भनिएको छ, ‘पीडितले आफ्नो साथीलाई आफ्नो घरमा छोडिसक्यो भन्ने म्यासेज घटना हुनुपूर्व नै लेखेको पाइन्छ । घटना हुनुभन्दा पहिला लेखिएको म्यासेजबाट पछि भएको भनिएको घटनालाई प्रमाणित वा खण्डन गर्ने अवस्था हुँदैन ।’

स्वास्थ्य परीक्षणबाट जबरजस्ती करणी पुष्टि नभएको स्वीकारोक्ति पूर्णपाठमा गरिएको छ । घटना भएको धेरै दिनपछि स्वास्थ्य परीक्षण भएकाले त्यसबाट यथार्थ पत्ता नलाग्ने तर्क न्यायाधीशले गरेका छन् ।

‘पीडितको स्वास्थ्य परीक्षण घटना भएको दिनभन्दा १५ दिनपछि र प्रतिवादीको करिब डेढ महिनापछि मात्र भएको देखिन्छ । लामो समयपछि भएको स्वास्थ्य परीक्षणमा करणीपश्चात देखिने संघर्षका चिह्नहरु नदेखिन पनि सक्छन् । पीडित तथा प्रतिवादीका शरीरमा संघर्षका चिह्नहरु नदखिँदैमा करणी नै भएको होइन भनी यकिन हुँदैन । संघर्षका चिह्नहरु देखिएको अवस्थामा एक पक्षको असहमतिमा करणी भएको भन्ने कुरालाई थप पुष्टि गर्ने अवस्था हो । तर, आत्मरक्षाको अधिकार प्रयोग नगर्दैमा करणीको कार्य नभएको भन्ने हुँदैन’, अदालतले भनेको छ ।

घटनालगत्तै पीडितले जाहेरी नदिनुलाई अदालतले सामान्य मानेको छ । जाहेरी दरखास्त कानूनले निर्धारित गरेको हदम्यादभित्रै परेको भन्दै अदालतले केही समय ढिलो जाहेरी दिएको कारणबाट मात्र त्यसलाई सोचीविचारी दिएको भन्न नमिल्ने तर्क गरिएको छ ।

अदालतले वारदातको बेला गौशाला- २६ नाबालिग नरहेको ठहर्‍याएको छ । तर, उनको मञ्जुरीविना सन्दीपले शारीरिक सम्बन्ध राखेको निष्कर्ष निकालेको छ ।

मञ्जुरीका सन्दर्भमा पूर्णपाठमा भनिएको छ, ‘मञ्जुरी नभएको मानिने परिस्थिति भन्नाले कुटपिट गरी वा गर्ने धम्की दिइ, गैरकानूनी थुनामा राखी, निन्द्रा वा अन्य कारणले अचेत रहेको, शारीरिक अशक्तताको कारणले मञ्जुरी दिन नसक्ने अवस्थामा रहेको, जाहेरवालाको सहमतिविना बेहोस हुने वा प्रतिकार गर्न नसक्ने मादकपदार्थको सेवन गराइ लिइएको मञ्जुरीलाई प्रतिवादीले प्रमाणद्वारा खण्डन नगरेसम्म मञ्जुरी मानिँदैन । प्रतिवादीले जानीजानी झुक्याएको र व्यक्तिगत रुपमा जाहेरवालासँग चिनजान भएको व्यक्तिको भ्रम सिर्जना गरी त्यस्तो कार्य गर्न जाहेरवालालाई जानीजानी उत्प्रेरित गरी लिएको मञ्जुरीलाई वास्तविक मञ्जुरी मानिँदैन ।’

गौशाला- २६ ले सन्दीपलाई भेट्नुमा आफ्नो कमजोर आर्थिक हैसियत मुख्य कारण रहेको अदालतको ठहर छ ।

फैसलाको पूर्णपाठमा भनिएको छ, ‘पीडितको उमेर, निजको पारिवारिक तथा आर्थिक अवस्थासमेत र प्रतिवादीको शारीरिक तथा राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्वसमेत हेर्दा यी दुईबीचमा समानता रहेको भन्ने देखिँदैन । पीडितको आर्थिक अवस्था समेतका कारणबाट निज सहज रुपमा दुरुपयोग हुने अवस्थाको देखिन्छिन् । आर्थिक सहयोगको आशको कारणले निज प्रतिवादीसँग भेट गर्न गएको भन्ने देखिन्छ । सोही अवस्थामा प्रस्तुत घटना भएको देखिन्छ ।’

अनुत्तरित प्रश्नहरु

सन्दीपको मुद्दामा फैसला गर्न अत्यधिक समय लगाएको अदालतले फैसलापछि पूर्णपाठ भने निकै हतारिएर एक महिनामै तयार ग¥यो । हतारिनुको कारण थियो- फैसलाप्रति जनमानसमा भइरहेको कटु आलोचना । न्यायाधीश शिशिरराज ढकालले गरेको फैसलामाथि अनेक प्रश्न उठिरहेका थिए र छन् । पूर्णपाठले ती प्रश्नहरु समाधान गर्नेभन्दा थप प्रश्न जन्माएको छ ।

  • फैसलामा जस्तै पूर्णपाठमा पनि ‘बलात्कार’ ठहर गर्ने कुनै पनि ठोस तथ्य-प्रमाण उजागर गरिएको छैन । जाहेरीकर्ताको बयानलाई नै सर्वोपरि मानिएको छ । जिल्ला अदालतको यो फैसलालाई नै नजिर मान्ने हो भने भोलि कुनै पनि महिलाले कुनै पुरुषमाथि रिसको झोंकमा वा प्रतिशोधवस बलात्कारको मुद्दा हालेर जेल पुर्‍याउन सक्नेछिन् । उनले न प्रमाण पुर्‍याउनुपर्छ न त आफ्नो नाम र पहिचान नै खुलाउनुपर्नेछ । यसले भोलिका दिनमा कस्तो सामाजिक विकृति निम्त्याउला ?
  • असमान हैसियतका पुरुष र महिलाबीच सहमतिमा शारीरिक सम्बन्ध हुनै नसक्ने खराब निष्कर्ष न्यायाधीशले प्रस्तुत गरेका छन् । यो अत्यन्तै पुरातन र संकुचित दृष्टिकोण हो । के धनी र गरिब पुरुष-महिला आपसमा नजिकिन सक्दैनन् ? एक-अर्काप्रति आकर्षण/प्रेम हुन सक्दैन ? सक्छ भने शारीरिक सम्बन्ध पनि हुनसक्छ । के अब हरेक महिला र पुरुषले आआफ्नो आर्थिक-सामाजिक हैसियत स्केलले नापेरमात्रै शारीरिक सम्बन्धमा रहनुपर्ने हो ?
  • सन्दीप र गौशाला- २६ बीच करणी भएको ठहर अदालतले अनुमानका आधारमा गरेको छ । पूर्णपाठमा नै ‘अनुमान’ शब्द प्रयोग गरिएको छ । महिला र पुरुष एउटै कोठामा रात बिताउनु भनेकै करणी गर्नु हो भन्ने आशय न्यायाधीशको देखिन्छ, जुन एकदमै बेमुनासिब छ । के परिस्थितिजन्य कारणले केटा र केटी साथी एउटै कोठाभित्र रात बिताउनुपर्ने अवस्था आउन सक्दैन ? एउटै कोठामा सुतेपछि केटा र केटीबीच ‘सेक्स’ भएकै हुनुपर्छ भनेर भाइरलम्यान वा अभियन्ताहरुले ठोकुवा गर्न मिल्ला, अदालतले मिल्छ ? अदालतले ‘करणी गर्ने मनसायले नै सन्दीपले गौशाला- २६ लाई होटलमा लगेको अनुमान’ गरेको छ । यही अनुमानका आधारमा सन्दीपलाई बलात्कारी ठहर्‍याइएको छ । जबकि गौशाला- २६ ले नै बयानमा स्वीकारोक्ति गरेकी छन् कि आफूले राति होस्टल नखुल्ने बताएपछि सन्दीपले उनलाई होटलमा लगेका थिए । यसमा सन्दीपको मात्र होइन, गौशाला- २६ को पनि राजीखुशी र चाहना देखिन्छ कि देखिँदैन ?
  • गौशाला- २६ ले आफ्नो कमजोर आर्थिक हैसियतका कारण सन्दीपलाई भेटेको र होटलमा बस्न तयार भएको अदालतको निष्कर्ष छ । सन्दीपले गौशाला- २६ को कमजोर आर्थिक हैसियतको फाइदा उठाएको न्यायाधीशले तर्क गरेका छन् । यसले गौशाला- २६ को आत्मसम्मानमाथि कस्तो असर पर्ला ? उनी पैसाका लागि नै सन्दीपसित नजिकिन खोजेकी थिइन् भन्ने आशय प्रस्तुत गर्दा गौशाला- २६ को चरित्रमा लाग्नसक्ने दागबारे न्यायमूर्तिले किन विचार गरेनन् ?
  • गौशाला- २६ ले सन्दीपलाई फसाउनुपर्ने कुनै कारण नभएको पूर्णपाठमा उल्लेख गरिएको छ । स्मरणीय यो छ कि गौशाला- २६ लाई भेटेको भोलिपल्ट सन्दीप विदेश गए । त्यसको केही दिनमा उनले गौशाला- २६ लाई सामाजिक सञ्जालबाट ब्लक गरे । यही कुराले गौशाला विक्षिप्त भएर प्रतिशोधात्मक कदम चालेको हुनसक्नेतर्फ न्यायमूर्तिको ध्यान किन गएन ?
  • प्रतिवादी सन्दीपले गौशाला- २६ सित राजीखुशीले होटलमा बसेको भन्ने प्रमाण प्रस्तुत गर्न नसकेको पूर्णपाठमा उल्लेख छ । तर, प्रस्तुत गरिएका प्रमाणलाई अनदेखा गरिएको छ । ‘घटना भएको’ भोलिपल्ट गौशाला सन्दीपकै गाडी चढेर होटलबाट निस्केको, साथीलाई ‘ह्याप्पी इमोजी’ सहित ‘आई हग्ड सन्दीप लामिछाने एस्टर्डे’ भनेर म्यासेज लेखेको, रुममेटसित ‘आज मेरो जीवनको सबैभन्दा खुशीको दिन’ भनेर रोमाञ्चित बनेको जस्ता महत्वपूर्ण प्रमाण र गवाहलाई न्यायाधीशले पूरै नजरअन्दाज गरेका छन् । फैसलामा यी सन्दर्भहरुको चर्चासमेत गरिएको छैन । ‘सन्दीपलाई भेट्न गएको मेरो ब्याइफ्रेन्डलाई नभन्नू है’ भनेर साथीसँग गरेको अनुरोधले उनको नियतमा प्रश्न उठ्छ या उठ्दैन ? उनको सन्दीपसित अन्यथा कुनै योजना थिएन भने आफ्नो प्रेमीसँग किन लुकाउन चाहिन् ? यो पक्षलाई अदालतले ध्यान दिएन ।
  • गौशाला- २६ ले आफ्नो शैक्षिक प्रमाणपत्रहरुमा उमेर घटाएको र त्यसकै आधारमा जन्मदर्ता र नागरिकतामा समेत जन्ममिति परिवर्तन गरेको अदालतले नै स्वीकार गरेको छ । एउटा बालिग व्यक्तिले नाबालिग भनेर झूटो डकुमेन्टका आधारमा मुद्दा हाल्दा कुनै कानून आकर्षित हुन्छ वा हुँदैन ? उनले आफ्नो नागरिकता देखाएर नाबालिग दाबी गरिरहेकी थिइन् । तर, बालिग सावित भएपछि सरकारी कागजात कीर्ते गरेको ठहर्छ वा ठहर्दैन ? फैसला मौन छ ।

यी यावत कारणहरुले गर्दा सन्दीप लामिछानेविरुद्ध गरिएको कठोर फैसलाको धरातल निकै कमजोर देखिन्छ । अपराध कानूनका जानकारहरुले यसलाई ‘न्यायिक ब्लन्डर’ को संज्ञा दिइरहेका छन् । यदि भोलि उच्च अदालत कुनै बाह्य दबाब र प्रभावमा नपरेमा फैसला सहजै उल्टिन सक्ने उनीहरुको विश्लेषण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *