अलपत्र कमला पुलमा गगन थापा- ‘म बोल्ने हैन, गर्ने मान्छे हुँ’ भनेर हिँडे (भिडिओ)
जनकपुरधाम । ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत नेपाली कांग्रेसका महामन्त्री गगन थापा हिजो सिरहा आइपुगे । महामन्त्री थापा स्थानीयस्तरमा देखिएको समस्या बुझ्ने र काठमाडौं फर्केर सम्बोधन गर्ने उद्देश्यका साथ संवाद यात्रामा निस्किएपनि आफुहरूले कुरा गर्न नपाएको सिरहाका कांग्रेस नेता-कार्यकर्ताले गुनासो गरेका छन् ।
सिरहा सदरमुकाम पुगेका महामन्त्री थापासँग सुखदुःख र जनताले विकासको अनूभुति नपाएको कुरा शेयर गर्ने उदेश्यका साथ स्थानीय नेता-कार्यकर्ता प्रदेश महामन्त्री उपेन्द्र यादवको निवास पुगेका थिए । थापा बोल्न लाग्दा एकजनाले भने- हजुर केही नगर्नुस्, एउटा काम गरिदिनुस् । कमला नदीको पुल अविलम्ब निर्माण कसरी हुन्छ ? यसको पहल गरिदिनुपर्यो ।
महामन्त्री थापाले बोल्नै लाग्दा कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले ति कार्यकर्तालाई भने, ‘कमला पुलको कुरा आइसकेको छ । अहिले उहाँ त्यहीँ जानुहुन्छ । महामन्त्री ज्यू पुलबारे त्यहीँ बोल्नुहुन्छ ।’ थापाले संक्षिप्त मन्तव्य राखेर हिँडे ।
यादवको निवासबाट कमला नदी करिब १ किलोमिटरमात्र पर्छ । त्यहाँबाट कांग्रेसका नेता कार्यकर्ताहरु कमला नदी पुगे । एकैछिनमा महामन्त्री थापाको गाडी पनि दर्जनौं नेताका गाडीकोलस्करसहित आइपुग्यो ।
भासिएको कमला पुलनजिकै पुगेका महामन्त्री थापालाई एक वयोवृद्ध कार्यकर्ता उनी नजिक बिन्ती गरे, ‘हजुर, यहाँ ओर्लिनुपर्यो । पुललाई हेर्नुस् न ।’ वयोवृद्ध कार्यकर्ताको बिन्तीपछि महामन्त्री थापा गाडीबाट ओर्लिए र पुल पुनः निर्माणस्थल पुगे । त्यहाँ एक कार्यकर्ताले पुल १४ वर्षमा पनि सञ्चालनमा नआएको र करिब ९५ प्रतिशत काम पूरा भएपछि पिलर नै भासेपछि अलपत्र परेको ब्रिफिङ गरेका थिए ।
फर्किन लाग्दा महामन्त्री थापा नजिक पुगेर ती वयोवृद्ध कार्यकर्ताले पुनः आग्रह गरे- पुल कहिले निर्माण हुन्छ ? हजुर केही बोल्दिनुस् ।
‘म बोल्ने मान्छे हैन, अरुले आएर बोल्ने हो । म गर्ने मान्छे हुँ’, जवाफ फर्काउँदै महामन्त्री थापा उनी धनुषातर्फ लागे ।
कमला पुलबारे पटक पटक चासो देखाएका कांग्रेसका वयोवृद्ध कार्यकर्ता राजाराम बनरैत यादवले भने, ‘महामन्त्री ज्यूलाई एक/दुई शब्द बोल्न भनेपछि उहाँले म काम गरेर देखाउने भन्नुभयो । उहाँले पहल गर्नुहुन्छ भन्ने विश्वास छ ।’
०६८ सालमै कमला पुल निर्माणको ठेक्का लागेको थियो । निर्माण कम्पनी पप्पु-लुम्बिनी जेभी कन्ट्रक्सनले ०७३ मंसिरभित्र पुल निर्माण गर्ने भनेर २७ करोड ३५ लाख ९ हजारमा ठेक्का कबुल गरेको थियो । तर, सुस्त गतिका कारण पुल निर्माण गर्न १० वर्ष लाग्यो । निर्माण सकेर उद्घाटनको तयारी गरिरहँदा ०७८ असार १७ मा पुलको २ वटा पिलर (पाया) भासियो । त्यसको तीन महिनापछि तेस्रो पिलर पनि भासियो । त्यसपछि पुल अलपत्र छ । पुल पुनः निर्माणका लागि सिरहा र धनुषामा पटकपटक आन्दोलन भए पनि सरकारले चासो देखाएको छैन ।
पुल सञ्चालनमा नआएपछि त्यस क्षेत्रका धनुषा र सिरहाका लाखौं मानिस ठूलो समस्या झेलिरहेका छन् । करिब ९ महिनासम्म त नदीमा पानी बग्छ । आवत जावत गर्नै सकिदैन । अहिले त्यहाँका यूवाहरुले निजी लगानीमा बाँसको अस्थायी पुल बनाएका छन्, जुन पुलबाट मोटरसाइकल र पैदल यात्री आवतजावत गर्छन् । अहिले पानी कम भएपछि ठूलो चारपाङ्ग्रे गाडी पनि पार हुने गरेको स्थानीय बताउँछन् ।
सिरहाको बसपिटा घर भएका काँग्रेसका वयोवृद्ध कार्यकर्ता यादव भन्छन्, ‘पुल अभावमा यस भेगका जनता ठूलो समस्यामा छन् । जनकपुर राजमार्ग भएर जानुपर्छ । त्यो बाटोमा तीन घण्टा लाग्छ । तर, यो पुल बन्यो भने हुलाकी सडक भएर आधा घण्टामै पुग्न सकिन्छ ।’
भासिएको झण्डै दुई वर्षपछि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’बीच गत पुसको अन्तिम साता भएको कार्ययोजना सम्झौता अनुसार पुनःनिर्माणको काम माघ २ गतेबाट सुरु भएको छ ।
आगामी असार अगावै पुल सञ्चालन गर्ने गरी कार्ययोजना सम्झौता भएको निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले बताए । उनका अनुसार पुल पुनः निर्माणमा विविध समस्या थियो । हामीले निर्माण कम्पनीसँग बसेर कार्ययोजना बनाएका छौं । सोही कार्ययोजनाअनुसार तोकिएकै समयमा पुलको बाँकी निर्माण कार्य सम्पन्न हुन्छ ।
सिरहा नगरपालिका-६ का श्रवणकुमार यादवले पिलर भासिएको पुल अब पुनः निर्माण गरेर सञ्चालनमा ल्याए धेरै नटिक्ने बताए । उनका अनुसार भासिएको ठाउँमा दुई पायल राख्नेगरी फाउन्डेसन र पाइलिंङको काम गर्न सुरु गरिएको छ । दुई पायल राखेपछि पुल काम चलाउ त हुन्छ । तर, धेरै समय टिक्दैन ।
‘१२/१३ वर्षअगाडिको डिजाइन अनुसार पुल बनेको छ’, उनले भने, ‘सम्झौता अनुसार पिलर नै राखिएको छैन । त्यसैले त भासियो । निर्माण कम्पनीलाई कारबाही गरेर नयाँ पुल बनाउनुपर्यो । टालटुल पारेर हुँदैन ।’
मधेसको ‘लाइफ लाइन’ हुलाकी सडक हो तर सरकार एउटा पुल बनाउन सकिरहेको छैन, उनले दुःखेसो पोखे ।