केपी ओली समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता : पूर्वराष्ट्रपति भण्डारी (भिडिओ) – Nepal Press

केपी ओली समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता : पूर्वराष्ट्रपति भण्डारी (भिडिओ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेताको रूपमा चित्रण गरेकी छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक समारोहबीच ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै उनले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रूपमा रहन सक्ने नेता भएको बताइन् । ओलीले संसदमा गरेका भाषणहरु पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

यो पुस्तकले नेपाली संसदको इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिकासमेत उजागर गरेको भण्डारीले बताएकी छन् । पूर्वराष्ट्रपति भण्डारीले सो पुस्तकलाई आम नेपालीको साझा सम्पतिको रूपमा रहेको भन्दै त्यसले भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्नसक्ने उल्लेख गरिन् ।

पुस्तक र ओलीबारे यस्तो छ पूर्वराष्ट्रपति भण्डारीको भनाइ

यस पुस्तकका नायक श्री केपी शर्मा ओलीज्यु समकालीन राजनीतिक नेताहरुमा पृथक पहिचान बनाउनुभएको नेता हुनुहुन्छ । सर्वाधिक प्रतिभाशाली नेताको रुपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ । उहाँ राजनीतिक साथै कला, साहित्य, संस्कृति एवं धर्म दर्शन र विज्ञान लगायतका विषमा समेत गहन ज्ञान भएको नेता हुनुहुन्छ । सघन अध्ययन र संघर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ । यसर्थ, श्री केपी शर्मा ओलीले संसदमा गर्नुभएका भाषणहरु पनि राजनीतिक हिसावले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण छन् । र ती संकलनीय र संग्रहणीय पनि रहेका छन् । त्यसैले पनि यस पुस्तकको विशेष महत्व रहेको छ । निरंकुश तानाशाही शासन व्यवस्थाको अन्त्य, लोकतन्त्र र मानव अधिकारको स्थापना, जनताको पक्षमा राजनीति गर्ने शिलशिलामा उहाँले १४ वर्ष लामो कष्टपूर्ण जेल जीवन बिताउनु भएको छ ।

२०४६ सालमा प्रजातन्त्र पुन:स्थापना भएपछि भने उहाँ नेकपा एमालेको तर्फबाट २०४८, २०५१ साल र २०५६ सालमा संसद सदस्य तथा २०७४ सालमा २०७९ मा समेत संसदमा निर्वाचित हुनुभएको छ । यसक्रममा उहाँ २०५१ सालमा गृहमन्त्री, २०६४ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, २०७२ मा पहिलो पटक र २०७४ मा दोस्रो पटक र २०७८ मा तेस्रो पटक देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली सक्नुभएको छ । उहाँले यिनै जिम्मेवारीमा रहँदा कहिले विपक्षी नेताको रुपमा, कहिले मन्त्री वा प्रधानमन्त्रीको रुपमा प्रतिनिनिधिसभा व्यवस्थापिका संसद र संविधानसभामा सम्बोधन गर्नुभएका विचारहरु यस पुस्तकमा समेटिएका छन । श्री केपी शर्मा ओलीज्युले संसदमा बोल्नुभएका कुराहरु कथ्यको रुपमा संसद सचिवालयमा मात्रे थन्किरहेको अवस्थामा त्यसलाई अभिलेखीकरण गरी यस पुस्तकका माध्यामबाट आज सार्वजनिक गर्ने काम सम्पन्न भएको छ । अव यी मन्तव्यहरु आम पाठकका बीचमा आएका छन् । नेपालको लोकतान्त्रिक शासन व्यवस्था र राष्ट्रिय विकासका लागि राजनीतिक नेताहरुले गरेका सार्वजनिक अभिव्यक्तिहरुको दस्तावेजीकरणले ठूलो महत्व राख्दछ । अव यो संग्रह सबैको साझा सम्पति भएको छ ।

यस्ता अभिलेखहरु भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्न सक्दछ । साथै अनुसन्धानकर्ताहरु, इतिहासकारहरु तथा आम पाठकलाई कुनै निश्चित समय अवधिको परिवेश, चुनौतिहरु र जनताका आकांक्षाहरु बुझ्न यस्ता अभिलेखहरु उपयोगी हुन सक्दछन् । लोकतन्त्रमा नागरिकहरुलाई उनीहरुको जीवनमा असर गर्ने निर्णयहरु र आफूले चुनेर पठाएका प्रतिनिधिले गरेका कामहरुका बारेमा जानकारी प्राप्त गर्ने अधिकार हुन्छ । सार्वजनिक भाषणहरुको दस्तावेजीकरणले एकातर्फ राजनीतिक नेताहरुलाई आफूले जनताको सामु गरेका वाचाहरु, घोषणाहरु र गरेका कार्यहरुका लागि जवाफदेही बनाउन सहयोग गर्दछ भने अर्कोतर्फ आफ्नो विचार, दृष्टिकोण एवं पहलहरुलाई जनता समक्ष पुर्‍याउन सञ्चार पुलको कामसमेत गर्न सक्दछ भन्ने मलाई लाग्दछ । यस पुस्तकले नेपाली संसदको इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिका उजागर गरेको छ ।


प्रतिक्रिया

One thought on “केपी ओली समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता : पूर्वराष्ट्रपति भण्डारी (भिडिओ)

  1. ‘संसदमा केपी ओली’ लोकार्पण भएपछि एउटा अडकल गर्न सकिन्छ, ‘कुनैपनि बेला केपी ओलीले प्रत्यक्ष राजनीतिबाट बिदा लिएर पार्टीलाई मार्ग निर्देशन दिने ठाउँमा बस्ने निर्णय गर्न सक्छन्।’ भोलि हामीले आश्चर्य नमान्दा हुन्छ किनभने नयाँ पुस्तालाई नेतृत्वमा सक्रिय बनाउने रणनीतिमा केपी देखिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर