ट्रमा सेन्टरका प्रमुख रिजालमाथि छानबिन, मन्त्रालयको पत्रमा न्याम्सले रायसहितको प्रतिवेदन पठाउँदै – Nepal Press

ट्रमा सेन्टरका प्रमुख रिजालमाथि छानबिन, मन्त्रालयको पत्रमा न्याम्सले रायसहितको प्रतिवेदन पठाउँदै

काठमाडौं । अनियमितताको आरोपमा स्वास्थ्य मन्त्रालयले समेत कारबाहीका लागि पत्राचार गरेका ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजाल जोगाउन खोजिएको भन्दै वीर अस्पतालका कर्मचारीले नेतृत्वको जवाफ मागेका छन् ।

विभिन्न कर्मचारी संघसंगठनले प्रमाणसहित रिजालविरुद्ध विभिन्न निकायमा उजुरी दिएका थिए । स्वास्थ्य मन्त्रालयको सुशासन इकाइ शाखाले गत मंसिर १ गते नै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताललाई पत्र लेखेर रिजालमाथि छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न भनेको थियो ।

मन्त्रालयको पत्रको साढे २ महिना पुग्दा पनि न्याम्सले रिजालमाथिको उजुरीमा छानबिन गरी प्रतिवेदन नपठाएपछि ताकेता बढेको हो । रिजालमाथि पैसा लिएर कर्मचारी भर्ना गरेको, मिलेमतोमा कोटेशनमार्फत महँगो सामग्री खरिद तथा ट्रमा सेन्टरमा आएका विरामाीलाई आफ्नो प्राइभेट अस्पताल पठाउँने गरेको लगायतका आरोप छ ।

त्यस्तै लाखौं रुपैयाँ पर्ने शल्यक्रियासम्बन्धी सामग्री ट्रमा फार्मेसीमा नराखी व्यापारीसँग कमिसन लिएको, दुवाकोटको अस्पताल विस्तारमा भाँजो हालेकोलगायतका आरोपसहितको उजुरीमाथि छानबिन गर्न मन्त्रालयले न्याम्सलाई पत्राचार गरेको थियो ।

यसअघि प्रधानमन्त्री कार्यालयले र सतकर्ता केन्द्रले पनि डा.रिजालमाथि आएको उजुरीको छानविन गरी कारवाही गर्न स्वास्थ्य मन्त्रालयलाई लिखित निर्देशन दिएका थिए । उनीविरुद्ध अख्तियार,प्रधानमन्त्री कार्यालय,संसदको राज्य व्यवस्था तथा सुशासन समिति,सतर्कता केन्द्रलगायतका निकायमा लिखित उजुरी परेको थियो ।

न्याम्स नेतृत्वमाथि नै प्रश्न उठेपछि विभिन्न निकायबाट आएका पत्रका आधारमा छानबिन गरी जवाफ पठाउने तयारी गरेको एक अधिकारीले बताए । विभिन्न स्वास्थ्य संगठनले पनि डा. रिजालमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर