सुदूरपश्चिमका मन्त्री साउदविरुद्धको उजुरी फिर्ता – Nepal Press

सुदूरपश्चिमका मन्त्री साउदविरुद्धको उजुरी फिर्ता

कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउदविरुद्ध परेको उजुरी फिर्ता भएको छ ।

बझाङको बुंगल नगरपालिका-१ का धनबहादुर बोहराले सापटी मागेको र उक्त रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा सोमबार उजुरी दिएका थिए । तर, आज आफूहरूबीच मिलापत्र भएको भन्दै बोहराले उक्त उजुरी फिर्ता लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

‘हिजो असुरक्षा भएको भन्दै उजुरी दिएर जानुभएको थियो । हामीले आज थप छलफल गर्ने भनेका थियौं । तर, उहाँ आफैं उजुरी फिर्ता लिन आउनुभयो’, प्रहरी नायब उपरीक्षक चन्दले भने ।

उनका अनुसार बोहराले मन्त्रीसँग संवाद गरेको र कुरा मिलिसकेको बताउँदै उजुरी फिर्ता लिन आएका थिए । प्रहरीलाई बोहराले आफूहरूबीच लामो समयदेखि चिनजान रहेको र आवेगमा आएर उजुरी दिएको भन्दै उक्त उजुरीमाथि थप कारबाही नगर्न भनेका थिए ।

यता बोहराले केही दिनलाई मात्रै आफू पछि अटेको प्रतिक्रिया दिएका छन् । आफू र्‍यार्स व्यापारी र निर्माण व्यवसायीसमेत रहेको भन्दै उनले मन्त्रीसँग संवादमा रहेको बताए ।

‘त्यो उजुरी छलफलमै छ’, उनले नेपाल प्रेससँग भने, ‘२-४ दिनलाई रोकिदिएको हुँ, त्यसपछि विस्तृत कुरा लिएर तपाईंहरूसँग आउँछु ।’

बोहराले मन्त्री साउदसँग आर्थिक कारोबार भएको बताए पनि कहिले र कति भएको हो भन्नेबारे खुलाउन चाहेनन् ।

यता मन्त्री साउदले भने उनीसँग भएको कारोबार र ज्यान मार्न दिएको धम्कीबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *