इमरान खानलाई एक दिन अन्तरमा अर्को सजाय : दम्पतीलाई १४ वर्ष जेल, डेड अर्ब जरिवाना
काठमाडौं । एक दिन अगाडि राज्यका गोपनियता तलमाथि गरेको आरोपमा रावलपिण्डिको अदालतले दश वर्ष कैद फैसला गरेको पाकिस्तानी अदालतले इमरान खानलाई फेरि अर्को सजाय तोकेको छ । नयाँ फैसलाअनुसार इमरान खान र उनकी पत्नी बुस्रा बिबीलाई राज्यले पाएको उपहार तलमाथि गरेको आरोपमा यस्तो फैसला सुनाएको हो ।
बीबीसीका अनुसार खान दम्पर्तीलाई बुधबार सजाय तोकिएको हो । सजायअनुसार दम्पतीलाई डेड अर्ब पाकिस्तानी रुपैयाँ अर्थात् ५३ लाख अमेरिकी डलरको क्षतिपुर्ति समेत तोकिएको छ । दुई दिनको अन्तरमा दुई अलगअलग अदालती सजाय पाएका खानले उनी अध्यक्ष भएको पीटीआई दलको लोकप्रिय चुनाव चिन्ह क्रिकेट ब्याट पनि पाउनबाट बन्चित भएका थिए ।
आन्तरिक चुनाव नगरिएको भन्दै पाकिस्तानी निर्वाचन आयोगले यस्तो फैसला सुनाएको थियो । खानको पार्टी र स्वतन्त्र विश्लेषकहरुले खानलाई राजनीतिक उद्देश्यले प्रेरित सजायहरु भएको बताउँदै आएका छन् ।