भारतबाट अवैधरुपमा भित्र्याइएका मरेको माछा बुटवल प्रहरीद्वारा बरामद
रुपन्देही । बुटवल प्रहरीले भारतबाट बुटवलतर्फ ल्याइँदै गरेको ६ सय केजी प्रतिबन्धित मरेको माछा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले भन्सार छलेर बुटवलतर्फ ल्याउँदै गरेको उक्त परिमाणको प्रतिबन्धित मरेको माछा बरामद गरेको हो ।
बुटवल ११ योगिकुटीचोकमा बेलहियाबाट बुटवलतर्फ आउँदै गरेको बस खानतलासीका क्रममा बैखी जातको प्रतिबन्धित माछा बरामद भएको हो ।
भन्सार छली चोरी निकासी गरी अवैध बैखि जातका माछा ओसारपोसार भइरहेको सूचनाको आधारमा भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको माइक्रो बस चेकजाँच गर्दा बसको पछाडि डिक्कीमा लुकाइछिपाई राखेका प्लाष्टिकको ८ वटा बोरामा ६ सय केजी प्रतिबन्धित बैखी जातका मरेका माछा फेला परेको बुटवल प्रहरी प्रमुख विजयराज पण्डितले बताए ।
बरामद भएको माछालाई स्थानीय प्रतिनिधिको रोहवरमा इलाका प्रहरी कार्यालयको कम्पाउण्डभित्र खाडल खनेर नष्ट गरी गरिएको छ ।