अबैध सुन कारोबारमा संलग्न चार व्यापारी पक्राउ, विरोधमा जनकपुरधामका सुनचाँदी पसलहरु अनिश्चितकालीन बन्द
जनकपुरधाम । सुनचाँदी व्यावयासी बलराम साह, अरुण कुमार ठाकुरसहित चार जनालाई पक्राउ परेको विरोधमा जनकपुरधामका सुनचाँदी पसलहरु बन्द गरिएको छ ।
जनकपुरधाम सुनचाँदी व्यवसायी संघको आह्वानमा सुनचाँदी पसलहरु व्यावसायीले बन्द गरेका छन् । व्यावसायीद्वय साह, ठाकुरसहितलाई तत्कालै रिहा नगरे थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने संघको चेतावनी छ ।
बाहिरबाट बिल बिनाको सुन ल्याएको भन्दै प्रहरीले साह र ठाकुरलाई धनुषा प्रहरीले बुधवार पक्राउ गरेको हो । यस्तै सिरहा मिर्चयाका व्यवसायीद्वय रोशनी ज्वेलर्सका अजय साह सोनार र संजय साह सोनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
साह र ठाकुरले सिरहाको मिर्चैयाबाट सुनको अबैध कारोबार गरेको प्रहरीको दावी छ । उनी चारै जनालाई अनुसन्धान तथा कारबाहीका राष्ट्रिय राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।
धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले सुनको बिलबिजक बिना खरिदबिक्री गरेकाले व्यावयासीहरुलाई नियन्त्रणमा लिएको बताएका छन् ।
व्यावसायीद्वय साह र ठाकुरलाई पक्राउ गरेको विरोधमा बुधवार जनकपुरधामका सुनचांदी व्यावसायीहरु टायर बालेर प्रदर्शन गरेका थिए । आजबाट पसलहरु अनिश्चितकालीन बन्द गरेर दुबैजनालाई रिहा गर्न प्रशासनलाई दबाब दिएको छ ।
आज सुनचाँदी व्यावसायीहरु र गरगहना बनाउने कालिगढहरु प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरु जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए । तर सुरक्षाकर्मीले त्यहाँबाट हटाएको छ ।