रुसी फौजबाट भागेर आएका सुमन भन्छन्- १५ हजार हाराहारी नेपाली भर्ना छन्, ४ सयबढीले ज्यान गुमाए (भिडिओ)
काठमाडौं । रुसी फौजबाट भागेर दुई महिनाअगाडि खोटाङका सुमन राईले रुसमा १५ हजार हाराहारी नेपाली भर्ना भएको बताएका छन् । ४०० बढीले ज्यान गुमाएको उनको भनाइ छ ।
रसियन फौजमा ज्यान गुमाएका र बेपत्ता भएकाका परिवारको पत्रकार सम्मेलनमा उनले सुकेधाराको मेनपावरबाट भिजिट भिसामा रुस पुगेकै भोलिपल्ट भर्ना भएको बताएका छन् । आफूले एक महिना १८ दिन काम गरेर फर्केको उनले बताए ।
‘मेरै अगाडि ६ जना मरेको देखेर आएँ’, उनले भने । सुमनले ऋण काढेर जाँदा ८ लाख र भागेर आउँदा ३ लाख तिरेको बताएका छन् ।
‘नेपाली मरे छोडेर रुसीहरू गाडी लिएर जान्छन् । मंगोलियन, भारतीय र चिनियाँ पनि त्यहाँ छन् ‘, उनी भन्छन् ।
दुबईमा साढे दुई लाख तलब छोडेर पुग्नेहरू पनि आफूले भेटेको सुमनले बताएका छन् ।
असोज १५ मा रुस पुगेका उनी तिहारको अघिल्लो दिन नेपाल फर्किएका थिए । आफ्नो लटमा भर्ना हुनेहरू ८ सय जना रहेको उनले सुनाए ।