जबजको सान्दर्भिकता सकिएको छैन : माधव नेपाल
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2024/02/Madhab-Nepal.jpg)
रुपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जबजको सान्दर्भिकता अझै नसकिएको बताएका छन् ।
‘जबज सकियो भन्नु बहुदलीय प्रतिस्पर्धा अस्वीकार गर्नु हो । जन्मजात जबजको विरोध गर्नेहरुले मात्र यसको विरोध गर्न सक्छन्’ एकीकृत समाजवादी दाङले शुक्रबार आयोजना गरेको क्षेत्र नं १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने ।
नेता नेपालले राजतन्त्रको वकालत गरिरहेकाहरुको कडा आलोचना गर्दै वंशले शासन गर्ने दिन अब नआउने बताए ।
‘राजा महाराज र तीनका दासहरुले जतिसुकै जनता भड्काउने प्रयास गरेपनि त्यो असफल हुनेछ । बाउले शासन गर्ने, बाउ नभए छोराले शासन गर्ने, के अब जनताले यस्तो सहन सक्छ ? सक्दैन । अब वंशले शासन गर्ने दिन गए’, नेपालले भने ।
राजा महाराजाले बसिबसिकन देशको सम्पत्ति लुट्ने कुरालाई स्वीकार गर्न सकिदैन भन्दै नेता नेपालले भने, ‘शासन चलाउने भए जनतामा जानुस्, पार्टी खोल्नुस् । दुःख गर्नुस् । जनताको मन जितेर आउनुस् ।’ नेता नेपालले एकीकृत समाजवादीप्रति जनताले भरोसा गरेको दावी गर्दै आफ्नो पार्टी महाधिवेशन सम्पन्न गर्न लागेको बताए ।
त्यस्तै पूर्वमन्त्री एवम् दाङ क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनको विकल्प नरेको बताए ।
‘गठबन्धन कमजोर पार्न केही शक्तिले निकै बल गरे पनि उनीहरु निरन्तर असफल भइरहेका छन् । उनीहरुको केही उपाय लागिरहेको छैन । वर्तमान गठबन्धनको विकल्प छैन’, चौधरीले भने ।
भेलामा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य टोपेन्द्र केसी, विवेकशील साझाका केन्द्रीय सदस्य शरद केसी, वाइसिएल नेपालका केन्द्रीय सदस्य प्रशान्त चौधरी, नेपाली कांग्रेस दाङका क्षेत्रीय सदस्य सरिक मियाँलगायत १४ सय एकीकृत समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी दाङका प्रचार विभाग प्रमुख सूर्य बिसीले दाबी गरेका छन् ।