सरकारी जागिर छोडेर व्यवसायमा चम्किएका मेघनाथ – Nepal Press

सरकारी जागिर छोडेर व्यवसायमा चम्किएका मेघनाथ

रुपन्देही । लुम्बिनीको पर्साचोकका ६४ वर्षीय मेघनाथ आचार्य चार दशकअघि सरकारी जागिरे थिए । १५ वर्षसम्म सरकारी जागिर गरेपछि मन भरियो । निजी व्यवसायतिर हामफाले । हुन त मत्स्य विकास केन्द्रमा प्राविधिक सहायक पदमा कार्यरत रहँदै आचार्यले ऋणधन गरेर २०५२ सालमा हार्डवेयर व्यवसाय सुरु गरेका थिए ।

हार्डवेयर व्यवसाय गर्न नै आफूहरु लुम्बिनीको पर्साचोकमा झरेको उनले बताए । आचार्यको परिवार २०२१ सालमा तत्कालीन कपिलवस्तुको कोपुवा (हाल वाणगंगा नगरपालिका) मा बसाइसराइ सरेको थियो । उनको पुर्ख्यौली घर अर्घाखाँचीको तत्कालीन अडगुरी गाविस हाल पाणिनी गाउँपालिका हो । मेघनाथ २०१६ सालमा त्यही जन्मिएका थिए ।

उनका बुवा तिलकराम कोपुवामा झरेपछि कृषि पेशा गर्थे । विद्यालय तह कोपुवामै पढेका मेघनाथले एसएलसी परीक्षा भने अर्घाखाँचीबाटै दिएका थिए । कोपुवामा नजिकै माध्यमिक विद्यालय थिएन । त्यसैले उनले अर्घाखाँचीको शारदा माविबाट २०३५ सालमा एसएलसी उत्तीर्ण गरे ।

चितवनको रामपुर क्याम्पसबाट आईएस्सी उत्तीर्ण गरेपछि उनले जागिर सुरू गरेका थिए । मेघनाथले सरकारी जागिर छँदै लुम्बिनीमा सुरु गरेको हार्डवेयर ५० को दशकमा पहाडी मूलको व्यक्तिले थालेको पहिलो व्यवसाय थियो । त्यसवेला तराई-मधेशमा पहाडी मूलका व्यक्तिहरुले व्यवसाय गर्नु जोखिमपूर्ण मानिन्थ्यो । त्यसैले धेरैले आफूलाई यस्तो हिम्मत कसरी आयो भनेर आश्चर्य मान्दै सोध्ने गरेको मेघनाथ बताउँछन् ।

हार्डवेयर व्यवसायसँगै तराईका समुदायसँग भावनात्मक सम्बन्धमा जोडिँदै गएपछि पेट्रोल पम्प सञ्चालनमा ल्याएको उनले बताए । दुइटै व्यवसायको सफलतापछि उनले पर्यटन क्षेत्रमा लगानी गर्ने सोच बनाए । अनि शुरू गरे होटल बुद्धमाया प्रालि ।

२०६५ सालमा २५ वटा रुमबाट शुरू गरिएको बुद्धमायालाई चारतारे होटल बनाउने अभियानमा रहेको मेघनाथले सुनाए । कोराना महामारीपछि लुम्बिनीमा पहिले जस्तो पर्यटन क्षेत्र बौरिनसकेको छैन । पर्यटनलाई पुरानै अवस्थामा फर्काउन धेरै चुनौती रहेको उनको भनाइ छ ।

अहिले आर्थिक मन्दीका कारण अहिले होटलमा करिब दुई दर्जन कर्मचारी कटौती गरेको उनले बताए । थोरै कर्मचारी राखेर परिवारकै सदस्यहरुले जिम्मेवारी लिएर काम गरिरहेको उनी बताउँछन् ।

करिब ४ दशकअघि थाइल्यान्ड पुग्दा आफूले लुम्बिनीबाट आएको भनेर परिचय दिँदा त्यहाँका नागरिकले सम्मान गरेको देखेपछि होटल व्यवसाय गर्न लुम्बिनी क्षेत्र रोज्ने निर्णयमा पुगेको उनी बताउँछन् । थाइल्याण्डबाट फर्किएपछि व्यवसाय गर्न लुम्बिनीमा जग्गा किनेको उनले सुनाए ।

‘थाइल्याण्ड र श्रीलंका घुमेपछि मलाई लुम्बिनीको महत्व झन् बढी थाहा भयो’, मेघनाथले भने, ‘सरकारी जागिरे मलाई भगवान गौतम बुद्धको काखमा व्यवसाय गर्ने बनायो । त्यो बेलाको मेरो थाइल्यान्ड भ्रमणले यहाँ पुर्‍यायो ।’

मधेश आन्दोलनको बेला आफ्नो व्यवसायको सरक्षा गर्न झेलेको सास्ती बिर्सिइनै नसकिने उनको भनाइ छ । ‘उद्योगधन्दा बन्द गरेर हिँड्ने अवस्था आएको थियो । धैर्य गरें । कसैको भावनालाई कुल्चिएन । तर, कसरी धानिएँ धानिएँ । अहिले सम्झिँदा आफैंलाई आश्चर्य लाग्छ’, उनले भने, ‘आन्दोलनको बेला पहाडी मूलका व्यक्ति देख्नेबित्तिकै फरक तरिकाले हेर्ने गरिन्थ्यो । अहिले अवस्था फेरिएको छ । सबै क्षेत्रका व्यक्तिहरु मिलेर बसेका छन् ।’

लुम्बिनीको समग्र विकासमा राज्य चुकेको उनको बुझाइ छ । ‘साँच्चै लुम्बिनीको महत्व ठूलो छ । राज्यले अझै पनि लुम्बिनी चिन्न सकेको छैन । जुन रूपमा लुम्बिनीको विकास हुनुपर्ने हो, अझै भएको छैन’, मेघनाथ भन्छन् ।

लगानीको वातावरण राज्यले निर्माण गर्न सके लुम्बिनीको पर्यटन क्षेत्र फस्टाउने उनको बुझाइ छ ।

४४ वर्ष अघिदेखि थालिएको लुम्बिनी गुरूयोजना अझै पूरा हुन सकेको छैन । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा नआएपछि लुम्बिनीमा विदेशी पर्यटक र लगानी भित्र्याउन समस्या पारेको छ । त्यसका लागि राज्यले लुम्बिनी गुरूयोजना छिटो पूरा गर्नेतर्फ अग्रसरता देखाउनुपर्ने उनको बुझाइ छ ।

मेघनाथ आफैंले उत्पादन गरेका तरकारी, आफैंले पालेका गाईको दूध होटलका ग्राहकहरुलाई दिन्छन् । त्यसको लागि बिहान सबेरै उठेर गाई दुहुन्छन् । खेतबारी पुग्छन् र आफूलाई पुग्ने सागसब्जी आफैं उत्पादन गर्छन् ।

मेघनाथको व्यवसायमा अहिले उनका दुई छोरा जोडिएका छन् । जेठो छोरा महेन्द्र सेभ द चिल्ड्रेनमा जागिरे छन् । तैपनि जागिरेपछिको बाँकी समय बुवाको व्यवसायमा साथ दिएका छन् । उनले बुद्धिजममा स्नातकोत्तर गरेका छन् । होटलको व्यवस्थापन कान्छो छोरा मनोज र बुहारी रञ्जुले हेरेका छन् । मनोज बायो मेडिकल इन्जिनियरसँगै बुद्धिजममै स्नातकोत्तर गरेका छन् । बुहारी रञ्जुले बीबीए पढेकी छन् ।

पर्यटन व्यवसायमा एउटै सेवा ‘कपी पेस्ट’ गर्न नहुने मेघनाथको मान्यता छ । ‘अर्को होटलले दिनेभन्दा फरक सेवा दिन सक्नुपर्छ,’ उनले भने, ‘टुरिजम प्रमोट गर्ने हो भने पर्यटकलाई फरक-फरक वातावरण, खानामा फरक स्वाद, बगैंचादेखि सजावटसम्म टिपिकल हुनुपर्छ ।’

अब पनि पर्यटन क्षेत्र थलिए व्यवसायी बैंकको व्याज तिर्न नसकेर धोतीटोपी हुने उनले सुनाए ।


प्रतिक्रिया

One thought on “सरकारी जागिर छोडेर व्यवसायमा चम्किएका मेघनाथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *