राणाको जेलमा गणेशमान शहीद हुने सम्झेर सिद्धिचरण श्रेष्ठले लेखेको त्यो कविता
काठमाडौं । नेपालको शहीद सप्ताह समाप्त भएको छ । तर, को असली शहीद हुन् भन्ने बहस भने सकिएको छैन । सरकारले सार्वजनिक गरेका झण्डै १५ हजार शहीदको आँकडाले त यो बहस सामाजिक सञ्जालमा झनै तातेको छ । यो सामग्री शहीदको बहसको सामग्री होइन । झण्डै सच्चा शहीद भएका नेपाली प्रजातान्त्रिक आन्दोलनका एक मानक नेता गणेशमान सिंहको रोचक पक्षको चर्चामात्रै छ यहाँ ।
२००३ सालमा भारतबाट नेपाली कांग्रेसको प्रारम्भिक संस्था नेपाली राष्ट्रिय कांग्रेस जन्मँदा नेपालमा बीपी कोइराला, मात्रिकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई कोही पनि आमजनतामा चिनिएका थिएनन् । गणेशमान सिंह भने त्यही बेला सेलिब्रेटी बनिसकेका थिए । राणा युगमा जेल तोडेर भागेको भनेर उनको चर्चा व्यापक भएको थियो । १९९७ सालमा नेपाल प्रजापरिषद्को नेताको रुपमा गणेशमान सिंह राणाको जेल परेका थिए । जेलबाट उनी २००१ सालमा भाग्न सफल भएका थिए ।
माघे औंसीको अन्धकारमा राणाको जेल त्याग्दा गणेशमान सिंहलाई पूर्णबहादुर एमएदेखि चन्द्रमान कम्पाउण्डर आदिले सहयोग गरेको बताइन्छ । क्रमशः ६, १२ र २४ फिटे काँडे तार र त्यसमाथि राखिएको विद्युतीय तार पार गरेर गणेशमान सिंह फुत्किएको कुरा किंवदन्ती जस्तो भएर राणा युगमै चर्चामा आएको थियो ।
गणेशमान सिंह राणाको जेलबाट फुत्किए पनि उनीसँगै जेलमा परेका प्रजापरिषद्का अरु चार नेता भने शहीद भए । १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा राणा सत्ताले हत्या गरेको थियो । सोही हप्ता माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा हत्या गरिएको थियो । त्यही स्मरणमा २०१२ सालबाट हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिएको छ ।
शहीद सप्ताहमा सम्झनुपर्ने नाम हुनसक्थे गणेशमान सिंह । उनको लौहपनको कारण राणाले उनलाई मृत्युबाहेक विकल्प दिँदैनथे भन्ने कवि तथा गणेशमान सिंहका जेलमेट सिद्धिचरण श्रेष्ठलाई पनि लागेको थियो । श्रेष्ठले गणेशमानको सम्भावित मृत्युको कल्पना र अन्तिम बिदाइ सम्झेर एक कविता पनि लेखेका थिए । गणेशमान सिंहको जीवनी ‘मेरो कथाका पानाहरु : खण्ड १’ मा उक्त कविता समेटिएको छ ।
माथवरसिंह बस्नेतले प्रस्तुत गरेको आत्मकथामा सिद्धिचरण श्रेष्ठले लेखेको गणेशमान सिंहको स्मृतिको ‘पर्खाल काण्ड’ शीर्षक कविता यस्तो छः
जिउनु होइन मर्न रोज्छु
जिउनु होइन मर्न रोज्छु
धर्म, गंगा, शुक्र, दशरथ
भेट्न जाने मार्ग रोज्छु
जिउनु होइन….
चिर सनातन सत्यलाई
म अंगालो हाल्न जान्छु
प्रेम शीतल स्रोतमाथि
स्नान गर्ने योग ढुँड्छु
जिउनु होइन…
जन्म–जराव्याधिहरुको तीक्ष्ण दंसन साम्य पार्छु
सानो कणु एउटा गएर
विश्व नूतन सृष्टि गर्छु
जिउनु होइन…
मर्न होइन जिउन रोज्छु
अमरता त्यो ओढ्न खोज्छु
देशको कालो पखाल्न
रक्तधारा बगाइदिन्छु
जिउनु होइन …