भेषबहादुर थापाको दृष्टिमा १३ व्यक्तित्व: राजा महेन्द्र ‘माथिल्लो तहका राजनीतिक खेलाडी’, अरू कस्ता ?
काठमाडौं । विसं १९९२ पुस १२ गते तनहुँको मेजेथुम गाउँमा वंशज सैन्य परिवारमा जन्मेका हुन् भेषबहादुर थापा । उनले उच्च शिक्षा अर्थशास्त्रको गरे । पहिचान भने कूटनीतिक क्षेत्रमा बनाए । पञ्चायतमा अमेरिकी राजदूत भएका उनी बहुदल आएपछि भारतको राजदूत भए । परराष्ट्रमन्त्रीसम्म भएका उनी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको युगमा नेपाल भारत प्रबुद्ध समूहको नेपाली अगुवा पनि बने ।
थापा त्यो युगका अनुहार हुन्, जुन युगमा उनको गृहजिल्ला तनहुँबाट काठमाडौंमा केही घण्टामै आइपुग्न सडक थिएन । उनी काठमाडांै पैदल आउँदा सातदेखि नौ दिन लाग्थ्यो । उनी त्यो युगका अनुहार हुन्, जुन युगमा अहिलेको जस्तो एकै दिनमा हवाई यात्राबाट अमेरिका पुग्न असम्भव थियो । उनी कोलकाताबाट जहाज चढेर १७औं दिनमा अमेरिकाको क्यालिफोर्नियास्थित सनफ्रान्सिस्को बन्दरगाह पुगेका थिए ।
भेषबहादुर थापाले २०८० कात्तिकमा आफ्नो आत्मकथा ‘राष्ट्र-परराष्ट्रः एकतन्त्रदेखि गणतन्त्रसम्म’ सार्वजनिक गरे । उनको किताबको एक कोणमा हेर्दा उनको निजी सम्बन्धहरुको योगफल हो । जुन योगफलले कतिपय उनको त कतिपय देशको प्रोफाइल बनाउन सहयोग गर्यो । उदाहरणको लागि डाक्टर केआई सिंह प्रधानमन्त्रीबाट हटेर केही समय महेन्द्रको सीधा सत्ता भएको समयमा उनी अमेरिकाको कोर्नेल विश्वविद्यालयमा विद्यार्थी भएर पुगे । त्यो पुग्ने तारतम्य मिलाउन अमेरिकाको बर्कले विश्वविद्यालयबाट नेपालमा अनुसन्धान गर्न आएका फ्याङ्क मोर र लियो रोजसँगको रिसर्च असिसटेन्टको सम्बन्धले काम गर्यो ।
कोर्नेल विश्वविद्यालयका कुलपति डाक्टर मेरियल गुडालसँगको सम्बन्धले उनको राजा महेन्द्रसँग गुडविल विकास भएको थियो । अमेरिका भ्रमणमा महेन्द्र हुँदा लसएन्जलसको कार्यक्रममा कुलपतिले थापाको शैक्षिक प्रगतिको तारिफ गरेपछि महेन्द्रसँग जोडिने माध्यम बन्यो । त्यही सम्बन्धको सेतुले थापालाई २४ वर्षकै उमेरमा नेपालको राष्ट्रिय योजना परिषद्को सदस्यसचिव बन्ने बाटो खुल्यो । पञ्चायतमा उनले पाएका पदहरुमा त्यही सम्बन्धले काम गर्यो ।
सम्बन्धकै आयामहरुमा थापाका अरु उदाहरण पनि रोचक छन् । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनकी स्वकीय सचिव हेलिन भन्डामसँगको सम्बन्धले वीरेन्द्रको अमेरिकी राजकीय भ्रमण सम्भव भएको थियो । राजा वीरेन्द्र भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथि हुन पनि उनी अमेरिकामा हुँदा भारतका राजदूत रहेका केआर नारायणनसँगको व्यक्तिगत सम्बन्धले काम गर्यो । थापा भारतमा राजदूत भएर पुग्दा नारायणन राष्ट्रपति भएकाले त्यो सहज भएको थियो ।
नेपालको मन्त्री हुँदा स्वागत गर्ने लाइनमा बसेर सम्बन्धमा जोडिएका श्रीलंकाकी राष्ट्रपति जेआर जयबर्दनेसँग श्रीलंकाको संयुक्त राष्ट्रसंघीय प्रतिनिधि भएर पुग्दा थापालाई सहज भएको थियो । क्यालिफोर्नियामा पढ्दाको सहपाठी अब्दुल लतिफ कुवेतको वित्तीय निकायको निर्देशक हुँदा नेपालमा आएको ५० लाख दिनार सहायता होस् वा निजी चिनजानकै कारणले नेपालमा आएको क्यानेडाली सहयोगमा होस्, थापाको व्यक्तिगत सम्बन्धले धेरै काम गरेको कुरा किताबमा छ ।
थापाले किताबमा विभिन्न व्यक्तिमाथि टिप्पणी गरेका छन् । थापाको आँखामा विभिन्न व्यक्तिको वृत्तान्त रोचक छ ।
महेन्द्र : प्रशासनमा दरबारिया परिवार नछिराउने राजा
राजा महेन्द्रले दरबार र प्रशासन फरक फरक राखेको थापाले लेखेका छन् । नारायणहिटी र सिंहदरबारलाई आआफ्ना जिम्मेवारी दिने थिति महेन्द्रले राखेको थापाले लेखेका छन् । राजा महेन्द्रलाई ‘राजनीतिक रुपमा माथिल्ला तहका खेलाडी’ भन्दै थापाले महेन्द्रलाई कसलाई कसरी कुन जिम्मेवारी दिने भन्नेबारेमा राम्रो जानकारी भएको व्याख्या गरेका छन् ।
सेना, प्रहरी र गुप्तचरमा प्रत्यक्ष अधिनमा राखेका महेन्द्रबारेमा थापा लेख्छन्, ‘राजा महेन्द्र राष्ट्रकै निम्ति सोच्थे । उनी राष्ट्रिय हित हुन्छ भन्ने लाग्यो भने आफूले भनेको काम नहुँदा पनि स्वीकार्थे ।’ प्रोटोकलका मामिला र राजसी आडम्बरमा भने महेन्द्र निकै सचेत भएको थापाले लेखेका छन् । २०२४ सालमा महेन्द्रलाई हृदयाघात भएपछि उनले प्रजातान्त्रको चाहना राखेको थापाले लेखेका छन् ।
वीरेन्द्र : दरबारमुखी शासन संयन्त्रका सूत्रधार
राजा महेन्द्र विपरीत वीरेन्द्र भने सिंहदरबार र नारायणहिटीलाई आआफ्नो काम गर्न भन्दा हस्तक्षेप गर्ने पक्षमा भएको थापाले लेखेका छन् । वीरेन्द्र अमेरिकामा पढेर आएकाले प्रत्यक्ष राष्ट्रपतीय प्रणालीको झल्को दिने शासन सुरु गरेको र दरबारका मान्छेलाई शासनमा जबरजस्त जोडेको थापाले लेखेका छन् । उनले भनेका छन्, ‘शासन संयन्त्र पूरै दरबारमुखी बनाउने प्रक्रियाको सुरुवात राजा वीरेन्द्रको पालामा भएको हो ।’
उनले थपेका छन्, ‘रानी ऐश्वर्य सामाजिक क्षेत्र हेर्थिन् । राजाका कान्छा भाइ धीरेन्द्र शान्ति सुरक्षा हेर्थे, माइला भाइ ज्ञानेन्द्र पर्यटन, वन तथा वातावरण ।’ वीरेन्द्रकै पालामा दरबारको छुट्टै रोयल इन्टेलिजेन्स एजेन्सी बनेको थापाले लेखेका छन् । खर्चको मामिलामा भने वीरेन्द्र मितव्ययी भएको तर रानी ऐश्वर्यले भने जथाभावी किनमेल गर्ने थापाले लेखेका छन् । अमेरिका भ्रमणमा राजा वीरेन्द्र १८ डलरको सामान हेर्दा आत्तिएर नकिनेको तर ऐश्वर्यले डेढ लाखको किनमेल गरेको थापाले लेखेका छन् ।
ज्ञानेन्द्र : कूटनीतिमा अबुझ, महत्वाकाङ्क्षी
ज्ञानेन्द्र अधिराजकुमार हुँदा पानीजहाज किन्ने प्रस्ताव आउँदा आफूलगायतले असहयोग गर्दा गलैंचा काण्डमा फसाउन खोजिएको संकेत थापाले गरेका छन् । यस्तै उनी राजदूत भएको समयमा भारत भ्रमणमा राजा भएर ज्ञानेन्द्र पुग्दा उनले भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीसँग कूटनीतिक मर्यादाविपरीत एक्लै संवाद गरेको लेखेका छन् । ज्ञानेन्द्रको ताल देखेर तत्कालीन भारतीय सुरक्षा सल्लाहकार ब्रजेश मिश्रले राजाले चाहेको के भनेर सोध्दा आफूले ‘राजाको नीति नबुझ्ने तपाईं एक्लो हुनुहुन्न’ भनेर उत्तर दिएको थापाले लेखेका छन् ।
टंकप्रसाद आचार्य : राणाको सिको गर्ने प्रधानमन्त्री
२०१३ सालमा आफूले देखेको पहिलो प्रधानमन्त्री टंकप्रसाद आचार्य भएको भन्दै थापाले आचार्यलाई उनको निवास पुग्दा राणाहरु जस्तै छाता ओडाएर हिँडेको देखेको लेखेका छन् ।
डाक्टर केआई सिंह : विदेश पढ्न निषेध गर्ने प्रधानमन्त्री
थापाले अमेरिका पढ्ने छात्रवृत्ति पाएका थिए । तर, राहदानी पाएनन् । तत्कालीन परराष्ट्र सचिव नरप्रताप थापामार्फत् त्यो रोक्ने प्रधानमन्त्री सिंह भएको जानेर थापा सिंह भेट्न गए । सिंहले किन अमेरिका पढ्न जान लागेको भनेर सोधे । थापाले देशको सेवा गर्न भने । त्यसो भन्दा सिंहले पहिले मेचीबाट महाकाली पुग्न र पछि जागिर खान आउन भनेको थापाले लेखेका छन् ।
कीर्तिनिधि विष्ट : नैतिकवान, महेन्द्र र वीरेन्द्र दुवैका प्यारा
सिंहदरबारमा आगलागी भएको समयमा नैतिकताको आधारमा राजीनामा दिएका प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई थापाले नैतिकवान र महेन्द्र अनि वीरेन्द्र दुवैको प्रिय भनेका छन् । नेपालको उत्तरी सीमाबाट भारतीय सैनिक पोष्टहरु हटाउने छलफलमा राजा वीरेन्द्रसँग विष्टले विवाद र दबाब आए आफूलाई हटाउन भनेको आफूले सुनेको थापाले लेखेका छन् । विष्टबारेमा उनले भनेका छन्, ‘राष्ट्रपति पूर्ण समर्पित राजनीतिक व्यक्तिहरुमा उनी माथिल्लो तहमा आउँछन् ।’
नगेन्द्रप्रसाद रिजाल : रवीन्द्र शर्मा हुँदाहुँदै दरबारले रुचाएर प्रधानमन्त्री भएका अनुहार
पञ्चायतका प्रधानमन्त्री भएका नगेन्द्रप्रसाद रिजाल दरबारले रुचाएका अनुहार भएको थापाले लेखेका छन् । २०१५ सालमा चुनाव हार्नु तर २०१९ सालमा सहायकमन्त्री हुनु, २०३० सालको साउनमा प्रधानमन्त्री बन्नु र २०४२ चैतमा फेरि प्रधानमन्त्री बन्नुमा उनी दरबारकै प्रिय हुनु प्रमुख कारण भएको थापाले लेखेका छन् । थापाले रिजालले सचिवहरुमार्फत सोधेरमात्रै सबै निर्णय गर्ने गरेको उल्लेख गरेका छन् । रिजालको समयमा समकक्षी रवीन्द शर्मा उनीभन्दा कैयौं गुणा योग्य भए पनि रिजालले नै अवसर पाएको थापाले लेखेका छन् ।
डाक्टर तुलसी गिरी : अध्ययनशील, तार्किक र स्पष्ट
पञ्चायतका प्रधानमन्त्री डाक्टर तुलसी गिरीलाई थापाले अध्ययनशील, तार्किक र खुलावादी भनेका छन् । राजासँग पनि तर्क गर्ने, संकेतमै कुरा बुझ्ने, तीक्ष्ण सोचाइका भनेर थापाले व्याख्या गरेका छन् । राजासँग कुरा नमिल्दा उनी धेरै समय किनारमा रहेको भन्दै उनले भनेका छन्, ‘राजा सूर्यबहादुर थापा र कीर्तिनिधि विष्टले भनेका कुरा स्वतः मान्थे । तर, गिरीले भनेको कुरा छानबिन र परीक्षणमा पर्थ्यो ।’ पञ्चायतभित्र संवैधानिक राजतन्त्र कल्पना गर्न नसकिने भन्दै गिरीले कि निर्दलीय प्रजातन्त्र कि त पूर्ण प्रजातन्त्र हुनुपर्नेबीचको लाइनको काम नभएको भन्ने गरेको थापाले लेखेका छन् ।
सूर्यबहादुर थापा : सिर्जनशील सोच कम, मेहनत बढी
सूर्यबहादुर थापामा नयाँ सोच र विचार नभए पनि मेहनत गर्ने र सबै फाइल अध्ययन गर्ने राम्रो बानी भएको थापाले लेखेका छन् । राज्य प्रशासन सञ्चालन गर्न सक्षम भए पनि पञ्चायत टिकाउन उनको भूमिका तुलसी गिरी र विश्वबन्धु थापाको जस्तो गहन नभएको थापाले लेखेका छन् । सूर्यबहादुर थापा अवसरवादी भएको संकेत गर्दै थापाले लेखेका छन्, ‘उनी आफ्नो विचार कसैलाई बताउँदैनथे । तर, जुन पद्धति आए पनि आपूmलाई त्यसअनुरुप सान्दर्भिक तुल्याउन कुनै कसर बाँकी राख्दैनथे ।’
विश्वबन्धु थापा : आफैंले न्वारान गरेको व्यवस्थामा प्रधानमन्त्री हुन नपाएको अनुहार
भारतीय समाजवादी नेता जयप्रकाश नारायणले प्रयोग गरेको ‘पञ्चायत राज’बाट पञ्चायत ल्याएर राखेका थिए विश्ववन्धु थापाले । उनै थापा थिए पञ्चायतको खाका कोर्ने, जग हाल्ने र राजा महेन्द्रका ठूला सहयोगी । तर, उनै थापा प्रधानमन्त्री भएनन् । प्रधानमन्त्री बन्ने योग्यता भए पनि थापा नभएको भन्दै उनले लेखेका छन्, ‘पञ्चायत राजनीतिक व्यवस्थाको कोही एक रचनाकार हुन् भने उनी नै हुन् ।’ विश्ववन्धु थापाले प्रधानमन्त्री बन्न नपाए पनि राष्ट्रिय पञ्चायतको अध्यक्ष, गाउँ फर्क राष्ट्रिय अभियानको अध्यक्ष हुँदै प्रौढ संगठनका सभापति पनि भएका थिए ।
बीपी कोइराला : परिचारिका राखेर पङ्खा हम्कने राणाशैलीका नेता
प्रधानमन्त्री बन्नु अगाडि २०१४ मा आफूले बीपीलाई देखेको बताएका थापाले बीपीको प्रथम प्रभाव नकारात्मक भएको संकेत गरेका छन् । काठमाडौंको विशालनगरमा रहेको वसन्तशमशेरको दरबारमा बसेका बीपी भेट्दाको रोचक अनुभव भन्दै थापाले लेखेका छन्, ‘हामी पुग्दा बीपी कौंसीमा बसेर खाना खाइरहेका थिए र उनलाई दुइटी परिचारिकाले पङ्खा हम्किरहेका थिए ।’
बीपीमा इगो भने नभएको थापाले भनेका छन् । आफ्ना पिता नुरबहादुर थापालाई स्याङ्जा कब्जा गर्दा चाबी नबुझाए पनि बीपीले गृहमन्त्री हुँदा त्यसमा इगो नलिएर कास्कीका लागि विश्वबन्धु थापा बडाहाकिम हुँदा उनको सहायक हुन दिएको थापाले लेखेका छन् । बुबालाई बीपीले भनेको कुरा उद्धृत गर्दै थापाले लेखेका छन्, ‘तपाईंअघिको शासनमा अनुभव प्राप्त व्यक्ति हुनुहुन्छ । कसरी शासन सञ्चालन गर्ने भन्ने अनुभव छ । तपाईंले सहयोग गर्नुपर्यो ।’
गिरिजाप्रसाद कोइराला : भारतीय प्रधानमन्त्रीलाई हक्की प्रश्न गर्ने नेता
भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीको निमन्त्रणामा गिरिजाप्रसाद कोइराला भारत पुग्दा राजदूत थिए थापा । उनले गिरिजाको मिजास कडा र हक्की भएको बताएका छन् । कोइरालाले माओवादी समस्याको बारेमा भारतीय प्रधानमन्त्री बाजपेयीसँग सीधा कुरा गरेका थिए । उनले भनेका थिए, ‘माओवादी भनेको कि तपाईंहरुको उपज हो कि त राजाको । तपाईंहरुले गरेको हो भने राजालाई सिध्याउन, राजाले गरेका हुन् भने दलहरुलाई सिध्याउन । यो स्वःस्फूर्त आएको शक्ति होइन ।’
गणेशमान सिंह : खुलस्त नेता
बहुदल आएपछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपाली कांग्रेसमा आउन आग्रह गरे । त्यो आग्रहको समयमा गणेशमान सिंह साक्षी थिए । पछि गणेशमान सिंहले नै थापालाई कांग्रेसमा नआउन भने । गणेशमान सिंहले कांग्रेस नआउन दिएको सल्लाह सम्झँदै थापाले उद्धृत गरेका छन्, ‘ए डाक्टर, यी बाहुनहरुका कुरा नसुन्नू है ! मेरो सल्लाह छ, तपाईं कांग्रेसमा नआउनुस् । …यिनीहरुले आज तपाईंलाई फूलमाला, टीका लगाउँदै माथि राख्छन्, भोलिपल्टबाट तँ भर्खर प्रवेश गरेको होस् भनी तल झार्छन् ।… तपाईं त तटस्थ रुपमा काम गरेको व्यक्ति । तपाईंको व्यक्तित्वले त्यो सहन गर्न सक्दैन ।’
कांग्रेस नआउन सल्लाह दिँदै गणेशमानले आफू कांग्रेस नेता भएर पाएको दुःख पनि थापालाई सुनाएका थिए । उनले भनेका थिए, ‘हेर्नुस्, म जन्मजात कांग्रेस, त्योबाहेक अरु मेरो रगतमा छैन । मेरो घर भीडले घेरिएको छ । कार्यकर्ता आउँछन्, कि पैसा माग्छन् कि जागिर । त्यो दिन सकिनँ भने तथानाम गाली गरेर जान्छन् । हामी त राजनीतिमा लागेको यताबाट सुन्छौं, उताबाट निकाल्छौं । हाम्रो कान नै गैंडाको छाला जस्तो भइसकेको छ । हामीलाई त जे पनि सहने बानी परिसक्यो, त्यो तपाईंहरु सहन सक्नुहुन्न ।’