दि डिभाइन ह्याण्ड : अरनिकोको रोमाञ्चक आख्यानिक जीवन – Nepal Press
पुस्तक चर्चा

दि डिभाइन ह्याण्ड : अरनिकोको रोमाञ्चक आख्यानिक जीवन

काठमाडौं ।

  • अरनिकोको मलामीमा चीनमा ३३ भन्दा धेरै नेपाली सहभागी थिए । त्यसमा जेठी श्रीमती चैत्यलक्ष्मी, जेठा छोरा अशोक, चार नेपाली कालाकार बेख शाक्य, तीर्थ शिल्पकार, लोक पु र पवित्र गुरुवाचार्यलगायत थिए ।
  • रक्त चन्दनको चित्तामा राखेर अन्तिम दाहसंस्कार भएको चिनियाँ नदी काङ्ची युआनमा दाहसंस्कार सकेर अरनिकोको परिवारका सबै सदस्यले एकएक मुठ्ठी बालुवा टिपेर चैत्यको आकार बनाएर छोडे ।
  • अरनिकोको मृत्युको खबर चिनियाँ बादशाहले नेपालमा पठाए । नेपाली राजा अनन्त मल्लले आधा झण्डा झुकाइ शोक बिदा दिए । अरनिकोले आफ्नो मृत्युवरण गर्दा एक नायकको रुपमा गरेको राजा अनन्तले मन्तव्य दिए ।

माथिका यी पंक्ति अरनिकोको बारेमा आएका गैरआख्यानमा पाइन्न । दुई वर्ष अगाडि प्रकाशन भएको अरनिकोको जीवनीमा आधारित अंग्रेजी भाषाको आख्यान ‘दि डिभाइन ह्याण्ड’ किताबमा चैँ यो कुरा लेखिएको छ । विद्यावारिधि गरेका विज्ञान क्षेत्रका अनुहार कृष्णकुमार पाण्डेले अरनिकोको आख्यान बजारमा ल्याएका छन् । पाण्डेले अरनिको बाँचेको समयको नेपाल उपत्यका, भोटदेखि चिनियाँ राजनीतिक तथा अन्य घटनाक्रमसम्मलाई अरनिकोको आख्यानमा जोडेर किताब निकालेका छन् ।

पहिलो पटक सन् १९७१ मा चीन सरकारले नेपाल सरकारलाई अरनिकोको बारेमा जानकारी दिएको थियो । त्यो जानकारीको एक वर्षलगत्तै नेपाल सरकारले सन् १९७२ अप्रिल १३ (२०२९ वैशाख १ गते) उनको नाममा हुलाक टिकट सार्वजनिक गरेको थियो । अरनिकोलाई नेपालको राष्ट्रिय विभूति बन्न यिनै घटनाक्रमले भूमिका खेलेको थियो । लेखक पहिलो पटक बेइजिङको श्वेत चैत्यमा सन् १९८५ मार्च ३० मा पुगेका थिए भने पछिल्लो समयमा सन् २०२१ मार्च २८ मा ।

सत्यमोहन जोशीले आफ्ना किस्ता किस्ताका चीन यात्रा सकेर २०४४ सालमा पुस्तक नै प्रकाशन गरेका थिए । ‘कलाकार अरनिको’ नामको किताब लेखेका सत्यमोहन जोशीका एक मित्र हुन पाण्डे । सत्यमोहन जोशीसँगकै एक कुराकानीको क्रममा आफूले अरनिको आख्यानिक जीवनी लेख्ने उद्देश्य राखेको र त्यसमा जोशीले साथ दिएको पाण्डेले लेखेका छन् । अंग्रेजीमा उपन्यास लेख्नुको कारण चैँ विदेशीहरुमाझ अरनिकोको एक खाले अध्ययन सामग्री उत्पादन गर्न भएको पाण्डेले तर्क गरेका छन् । यसमा अरनिकोको जन्मदेखि मृत्युसम्मका कथा बुनिएको छ ।

आमा सुमाखुसी र बाबु लक्ष्मणले सुहागरातको दिन अरनिकोको श्रीमती बनेकी चैत्यलक्ष्मीसँग सुहागरात गरेर सन्तान उत्पादनको चाह राख्छन् । अरनिको र चैत्यलक्ष्मी भने फेरि भेट हुने वा नहुने हो भन्दै कुराकानी गरेरमात्रै रात बिताउँछन् । अरनिकोले चैत्यलक्ष्मीलाई आफू फर्केर नआए अर्को विवाह गर्न सल्लाह दिन्छन् ।

‘यलबाबु’बाट ‘अर्हन’ अनि पछि ‘अर्हनिको’सम्म नाम दिएर अरनिकोलाई लेखकले रोचक चित्र उतारेका छन् । प्राचीन ललितपुरको नाम यल भएकोले त्यहाँ वंशज कलाकारिता गर्ने परिवारमा एकल सन्तानको रुपमा जन्मेका अरनिकोको सुरुको नाम यलबाबु राखिएको छ । मल्ल राजा जयभीम मल्लले पठाएका ८० कलाकारको नेतृत्व गर्ने १७ वर्षका तन्नेरीको रुपमा अरनिको तिब्बतमा स्वर्णिम गुम्बा बनाउन पुग्दा उनको नाम यलबाबु थियो ।

तिब्बतमा पवित्र गुम्बा बनाउने क्रममा गैरभिक्षुलाई प्रवेश दिन नमिल्ने क्षेत्रमा पनि काम गर्नुपर्ने भएकोले भोटका शासक चोग्याल फाग्स्पाले उनलाई भिक्षु बन्न प्रेरित गर्छन् । उनी भिक्षु बन्न तयार हुन्छन् । भिक्षु बन्दा उनको नाम संस्कृतमा सानो बुद्ध जनाउने अर्हन दिन्छन् । पछि कुब्ला खाँसँग इनर मंगोलियाको बाटो हुँदै बेइजिङ पुगेर कलाकारितामा मन जितेपछि पाएको पदक तथा प्रत्यक्षले अर्हनको नाम अर्हनिको भएको आख्यान लेखकले चित्रण गरेका छन् ।

उपन्यासलाई रोचक बनाउन आख्यानकार पाण्डेले अरनिको १७ वर्षको उमेरमा देश छोडेर भोट जाँदा फेरि फर्कियोस् भनेर परिवारले उनकै खेल्ने साथीसँग विवाह गरिदिएको कुरा ल्याएका छन् । आमा सुमाखुसी र बाबु लक्ष्मणले सुहागरातको दिन अरनिकोको श्रीमती बनेकी चैत्यलक्ष्मीसँग सुहागरात गरेर सन्तान उत्पादनको चाह राख्छन् । अरनिको र चैत्यलक्ष्मी भने फेरि भेट हुने वा नहुने हो भन्दै कुराकानी गरेरमात्रै रात बिताउँछन् । अरनिकोले चैत्यलक्ष्मीलाई आफू फर्केर नआए अर्को विवाह गर्न सल्लाह दिन्छन् । चीनमा पुगेर प्रताव बनाएका अरनिकोको सम्मानमा केही नेपाली कलाकारलाई पठाएर कुब्ला खाँकी महारानी छाबीले केही सुन उपहार पठाउँछिन् । परिवारले गायब बनाउँछन् । सुन आफ्नो बनाउन अरनिको मरेबाँचेको थाहा नभएको अभिनय गरेर सासू सुमाखुसीले चैत्यलक्ष्मीलाई अर्को विवाह गर्न सल्लाह दिन्छिन् । चैत्यलक्ष्मीले अस्वीकार गर्छिन् ।

कथालाई रोचक बनाउन आख्यानकारले १६ वर्षपछि फेरि केही कलाकारको साथ लागेर चैत्यलक्ष्मी चीनको ताइ तु अर्थात् बेइजिङ पुगेर अरनिको भेट्छिन् । उनी पुग्दा अरनिको ख्याउटे देखिन्छन् । उनी पनि ख्याउटे नै हुन्छिन् । अरनिको भिक्षु भएका हुन्छन् । पछि महारानी छाबीको सल्लाहले उनले भिक्षु जीवन त्याग्छन् । चैत्यलक्ष्मीको सल्लाहमा घरमा सुसारेको रुपमा रहेकी बेनामे युवतीलाई श्रीमतीको रुपमा स्वीकार गर्छन् । अरनिको बिरामी हुँदा धेरै हेरचाह गरेको भन्दै चैत्यलक्ष्मीले उनको नाम सौभाग्यवती र अरनिकोको श्रीमतीको हैसियत दुवै दिन तयार हुन्छिन् ।

अरनिकोकहाँ कुब्ला खाँले जितेको कुनै राज्यबाट खोसेर ल्याइएकी दासी हुन्छिन् । अरनिकोसँग बस्दाबस्दा उनी नेवारी पोख्त हुन्छिन् । उनी चैत्यलक्ष्मीकी अनुवादक हुन्छिन् । अरनिकोका चैत्यलक्ष्मीबाहेक दुई मंगोलियाली र सात चिनियाँ श्रीमती राज्य जितेर बादशाहले उपहार दिएको भन्दै आख्यानकारले रोचक बनाउन खोजेका छन् । अरु त अरु लेखकले दक्षिण चीनको सोङ वंश जितेर त्यहाँकी राजकुमारी चाओ सा लीलाई समेत अरनिकोलाई श्रीमतीको रुपमा बादशाहले उपहार दिएको लेखेका छन् ।

आख्यान अरनिकोको आख्यानिक जीवन भए पनि त्यसमा सार्थकता दिन लेखकले मल्लकालमा काठमाडौंमा आएको भूकम्पहरु, त्यसबाट मरेका राजा अभय मल्लदेखि खान र सोङ वंशको भिडन्त तथा भोट र मंगोलको गठबन्धनका कुरा पनि ल्याएका छन् । किताबले फाहियान र बुद्ध भद्र, भृकुटी र स्रङ चन गम्पो आदिका रोचक प्रसंग जोडेका छन् ।

बेइजिङबाट उ थाइ सान बसाइ सरेर त्यतै अवकाश लिन खोज्दा त्यहाँ पनि चैत्य निर्माणकै काममा खटाइएको कुरा जोडेका छन् लेखकले । चार पहाडको काठमाडौं उपत्यकाका रैथाने अरनिकोले पाँच पहाडको उ चाइ सानलाई आफ्नै घर सम्झेर बसाइ सरेको लेखेका लेखकले आख्यानलाई दुःखान्त अन्त्य गर्न नयाँ बादशाह चाङ चोङकी पत्नी बुलुहानले जबरजस्ती अरनिकोले बनाएको महांकाल मूर्ति फुटाएपछि र फुटाउन लगाएपछि अरनिकोले सुर्ताले प्राण त्यागेको चित्रित गरेका छन् ।

आख्यान अरनिकोको आख्यानिक जीवन भए पनि त्यसमा सार्थकता दिन लेखकले मल्लकालमा काठमाडौंमा आएको भूकम्पहरु, त्यसबाट मरेका राजा अभय मल्लदेखि खान र सोङ वंशको भिडन्त तथा भोट र मंगोलको गठबन्धनका कुरा पनि ल्याएका छन् । किताबले फाहियान र बुद्ध भद्र, भृकुटी र स्रङ चन गम्पो आदिका रोचक प्रसंग जोडेका छन् । इतिहासमा प्रमाणित कुरा र मितिलाई उनले यथार्थ नै दिएका छन् । अप्रमाणित कुरालाई कल्पनाको सहारा लिएर चित्ताकर्षक बनाएका छन् ।

नेपाल जेसिसले प्रकाशन गरेको ‘दि डिभाइन ह्याण्ड’ ४०० पृष्ठको छ । मूल्य एक हजार रुपैयाँ तोकिएको छ । नेपाल चीन सांस्कृतिक साइनो बुझ्नलाई पुस्तक पठनीय छ । पुस्तक कमजोररहित भने छैन । पुस्तकमा भएका दुई दर्जन शाब्दिक कमजोरीलाई सच्याएर लेखकले गातासँगै लेखेका छन् । कतिपय प्रसंगहरु प्रश्न लायक छन् । जस्तैः मल्ल युगका अरनिकोको विवाह उमेर १७ वर्षमा भएको हो । त्यसलाई लेखकले कम उमेरमै भएको तर्क गरेका छन् । जुन अपत्यारिलो छ । मंगोलहरुले आसपासका राज्यहरु जित्न अरनिको चीन भएकैले नेपालमा कुनै हमला नगरेको पाण्डेले लेखेका छन् । यो पनि बलियो तर्क होइन । अरनिकोको बाल्यकालको कुरा हुँदाहुँदै बेप्रसंग लेखकले पेज ९ मा सीधै चीनका ताइ दु र उ थाइ सानको कुरा गरेका छन् । जुन लेखको रुपमा मिल्दो भए पनि आख्यानमा अमिल्दो देखिन्छ ।

यति हुँदाहुँदै पनि यो पुस्तक पठनीय छ । पुस्तक अरनिको बुझ्ने एक आख्यानमात्रै नभएर नेपाल र चीन जोड्ने साहित्यिक सेतु हो । किताबको कभरमा अंग्रेजी, नेपाली, भोटेली र चिनियाँ लिपि प्रयोग गरेर लेखकले यो आख्यानबाट एक लेखकमात्रै होइन, सांस्कृतिक तथा साहित्यिक राजदूतको रुपमा आफ्नो पहिचान बनाउन सफल भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *