राजेन्द्र लिङदेनले खेपेका चोटपटक: धूलो टक्टक्याएर उठे हरेक पटक – Nepal Press
अन्तरंग संवाद

राजेन्द्र लिङदेनले खेपेका चोटपटक: धूलो टक्टक्याएर उठे हरेक पटक

रवीन्द्र मिश्र र मबीच फाटो ल्याउन खोज्दैछन्, रेखा थापाको इस्यू सेलाउन दिउँ

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई धेरैले एक असल राजनीतिकर्मीका रुपमा चिन्छन् । जतिसुकै प्रतिकूल अवस्थामा पनि आफूले बोकेको विचार-सिद्धान्तबाट टसमस नहुने र जात-सम्प्रदायबाट माथि उठेर राष्ट्रियतालाई केन्द्रविन्दूमा राख्ने प्रवृत्तिले उनलाई एक लोकप्रिय नेताका रुपमा स्थापित गरेको छ ।

आजको दिनसम्म आइपुग्दा लिङदेनले कति हण्डर र ठक्कर खाए, त्यसको कुनै लेखाजोखा छैन । सर्वहारा वर्गका वास्तविक प्रतिनिधि उनी पञ्चायतकालमा पनि प्रताडित भए, प्रजातन्त्र आएपछि पनि प्रताडित नै भइरहे । तर पनि कहिल्यै आफ्नो निष्ठामा सम्झौता गरेनन् । जति पटक लडे पनि उनी धूलो टक्टकाएर उठिरहे र अघि बढिरहे ।

लिङदेनले जीवनमा केमात्रै गरेनन् ? बंगुरपालन गरेनन् कि, घर रंगरोगनको काम गरेनन् कि, जग्गा कारोबार गरेनन् कि, गाडी हाँकेनन् कि रेस्टुरेन्ट चलाएनन् कि ? जिविस सभापतिबाट अवकाशपश्चात समेत उनले आफैं ड्राइभर बनेर माइक्रोबस चलाएका थिए । कुनै पनि काम ठूलो–सानो हुँदैन भन्ने कसैले उनीबाट सिकोस् ।

उनै लिङदेन अहिले देशको सबैभन्दा ठूलो राजावादी शक्ति राप्रपाको बागडोर सम्हालिरहेका छन् । भेट्रान कमल थापाको अनवरत वर्चश्व ढालेर उनी राप्रपाको कमाण्ड सम्हाल्न पुगेका हुन् । जुन कमल थापाको छत्रछायाँमा रहेर वा जसलाई निरन्तर सघाएर राजनीति गरिरहेका थिए, उनैलाई महाधिवेशनमा परास्त गरिदिए लिङदेनले ।

राप्रपाको नेतृत्व लिएपश्चात भने लिङदेनले सबैको चित्त बुझाएर अघि बढ्न नसकेको आरोप छ । पार्टीकै जिम्मेवार नेताहरु लिङदेनविरुद्ध गतिविधि गरिरहेका छन् भने लिङदेन पनि सार्वजनिक रुपमै उनीहरुमाथि धावा बोलिरहेका छन् । पछिल्ला केही अन्तर्वार्तामा लिङदेन आफ्नो स्वभाव विपरीत पार्टीका केही नेताहरुमाथि आक्रामक रुपमा खनिए ।

केही दिनअघि राप्रपाको कार्यसम्पादन समिति सदस्य समेत रहेकी अभिनेत्री रेखा थापाको बारेमा लिङदेनले गरेको घुमाउरो ‘कटाक्ष’ ले बजार तताएको थियो । ती अभिनेत्रीले लिङदेनकी छोरीलाई समेत तानेर सामाजिक सञ्जालबाट जवाफ फर्काइन् । सामान्य अवस्था थियो भने सम्भवतः कारबाहीको विषय बन्न सक्थ्यो । तर, रेखा आमा बन्न लागेको अवस्थालाई विचार गरेर लिङदेनले मौनता साँधेका छन् । यद्यपि, उनी पार्टी अनुशासनमा सम्झौता गरेर बस्नसक्ने नेता होइनन् ।

०००

अन्तर्वार्ताका लागि लिङदेनले राप्रपा संसदीय दलको कार्यालयमा बोलाएका थिए । हिजो बिहान ११ बजेतिर पुग्दा उनी एक्लै कम्प्युटरमा घोरिँदै रहेछन् । पार्टीको आगामी आन्दोलनको सैद्धान्तिक प्रस्तावना लेखिरहेका थिए ।

आफ्नो कामलाई थाँति राख्दै उनी अन्तर्वार्ताका लागि तयार भए । लिङदेनको निजी जीवनबाट कुराकानीको सुरुवात भयो । बाल्यकालदेखि भोगेका तीता-मीठा अनुभूतिहरु सुनाउँदा उनको अनुहारको भावमा कुनै परिवर्तन थिएन ।

०००

लिङदेनका जीवन भोगाइ उनकै शब्दमाः

मेरो पुर्ख्यौली घर पाँचथरको अमरापुरमा भए पनि जन्म भने ताप्लेजुङको ढुंगेसाँघु भन्ने ठाउँमा भएको हो । बुवा प्रहरीको जागिरे भएकाले ताप्लेजुङ सेवारत रहँदा म जन्मिए । तर, केही समयमै उहाँ रिटायर्ड भएर परिवारसहित पैतृक थलो फर्कियौं ।

म ६-७ वर्षको हुँदा आमा बित्नुभयो । मलाई आमाको अनुहार खासै याद पनि छैन । आमाको अन्तिम क्षणका केही धुमिल स्मृतिहरु छन् । तर, कुन बिमारीले आमालाई लग्यो भन्ने पनि एकिन छैन । अरुले एउटा फोटो देखाइदिएको आधारमा आमाको चित्र मनभित्र कोरेको छु ।

हाम्रो जग्गाजमिन खासै थिएन । प्रहरीबाट अवकाशपश्चात बुवालाई परिवार पाल्न धौधौ भयो । दुई छाक टार्न पनि समस्या भएपछि हामी सबैलाई लिएर बुवा मधेश (झापा) झर्नुभयो । अर्को बिहे पनि गर्नुभयो । विभिन्न ठाउँमा सर्दै अहिले हामी झापाको हल्दिवारी गाउँपालिका–१ का बासिन्दा हौं ।

मधेसको जीवन पनि सुखद रहेन । दर्जाले त म जिम्मावालको नाति थिएँ । तर, पहाडमा कोदो खान पनि नपुगेर मधेश झरेका थियौं । मधेशमा पनि धेरै दुःख खेप्नुपर्‍यो । बुवाले अलिकति बन फँडानी गरेर बसोबासको प्रवन्ध मिलाउनुभएको थियो । निगुरो र च्याउले दुई छाक टार्ने गरिन्थ्यो । बाल्यकालमा मलाई चामल बास्ना आउँछ भन्ने पनि थाहा थिएन । मसिना चामल मुखमै कहाँ पर्थ्यो र !

मेरो पढाइ झापा झरेपछि सुरु भयो । अहिलेको झापा शिवसतासी नगरपालिका गैंडेस्थित प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना भएँ । २ सकेर ३ कक्षा पढ्ने बेलामा श्री ५ को सरकारले त्यहाँको बसोबास सारेर दक्षिणतर्फ लैजाने भयो । त्यसक्रममा मेरो पढाइ पनि उतै सर्‍यो ।

पढाइका दिनहरु पनि सुखद रहेनन् । मैले पढ्ने स्कुल निमावि थियो । ६ कक्षासम्म पढ्दा विद्यालयको उत्कृष्ट विद्यार्थी थिएँ । छिमेक गाउँको विद्यालयमा माविसम्मको पढाइ सुरु भयो । सो विद्यालयलाई विद्यार्थी पुगेको थिएन । त्यसैले हामीलाई सात नपढिकन एकैचोटि ८ कक्षा पढ्ने अफर गरे ।

म र एकजना साथी प्रि-परीक्षा दिएर सीधै ८ कक्षामा भर्ना भयौं । तर, अर्धवार्षिक परीक्षा नसकिँदै अघिल्लो विद्यालयले ७ कक्षा पास नगरी कसरी ८ मा भर्ना लिइयो भनेर विवाद सुरु गर्‍यो । हामीलाई फिर्ता गर्न पुरानो विद्यालयले दबाब दियो । अन्ततः हामी निकालियौं । तर, अघिल्लो विद्यालयले पनि भर्ना लिएन । अलपत्र पर्‍यौं । शैक्षिक भविष्यमाथि नै प्रश्न उब्जियो ।

मैले फेरि छिमेकको विद्यालयमा गएर सोधें, ‘मैले ७ कक्षा पास गरेको प्रमाणपत्र ल्याएँ भने त ८ मा भर्ना हुन पाउँछु नि !’ विद्यालयले हुन्छ भन्यो । त्यसपछि मैले धरान गएर एउटा शैक्षिक सत्र (सात कक्षा) पास गरें । प्रमाणपत्र बोकेर त्यो विद्यालयमा पुगें । तर, फेरि पनि ८ कक्षामा भर्ना लिन मानेन । सो विद्यालयमाथि बाह्य दबाब परेको थियो ।

म प्रमाणपत्र च्यापेर विभिन्न विद्यालय चहार्न थालें । सबैले भर्ना लिन अस्वीकार गरे । अन्तत्वगत्वा बिर्तामोडस्थित अनारमणी माविले सहारा दियो । विद्यालयका प्रधानाध्यापक दाताराम शर्माले एउटा विद्यार्थीलाई पढ्नबाट वञ्चित गर्दैनौं भनेर म जिम्मा लिन्छु भन्नुभयो । त्यही विद्यालयबाट एसएलसी पास गरें ।

मलाई यसरी पढ्नै नदिने षड्यन्त्र रचिनुको कारण चाहिँ राजनीतिक थियो । हामी बसेको ठाउँमा सीमित सामन्त र ठालूहरुले गरिबहरुमाथि रजगज गर्दै आएका थिए । हामी गएपछि उनीहरुका लागि शत्रु गए जस्तो भयो । पुरानो बसोबासी अथवा नम्बरीवाला र हामी पछाडि जाने झोडे सुकुमबासी बीचमा द्वन्द्व सुरु भयो । मेरो बुवाले सामन्तहरुविरुद्ध नेतृत्वदायी भूमिका खेल्न थाल्नुभयो ।

सुकुमबासीले वर्षभरि दुःख गरेर साहुलाई बुझाउन मात्रै पुग्ने अवस्था थियो । साहुहरुले पर्ति जग्गालाई पनि नम्बरी भनेर ठेक्का दिने गरेका थिए । हाम्रो बुवाले यो जग्गा उसको होइन, तिमीले अधिया, कुत दिनुपर्दैन आड दिनुभयो । पुर्जा भएको जग्गाको खनजोत गर्नेलाई पनि मोहीयानी हक पाउँछौ भनेर सिकाउनुभयो । बुवा वडाध्यक्षदेखि प्रधानपञ्चसमेत बन्नुभयो । निरन्तर सामन्तहरुविरुद्ध संघर्ष गर्नुभयो ।

त्यही कारण ठालूहरुले हामीलाई दुःख दिन थाले । अनेक झूटा मुद्दा लगाए । बारम्बार प्रहरी कार्यालय धाउनुपर्थ्यो । त्यसको कोपभाजनमा म पनि परें । मलाई ८ कक्षामा भर्ना हुन नदिने प्रपञ्च रचिनुको कारण यही थियो ।

एसएलसी नदिँदैखेरि म पनि दर्जनौं पटक प्रहरी हिरासतमा पुगिसकेको थिएँ । दुई महिना जेल नै बसें । यसले गर्दा विस्तारै ममा राजनीतिक चेत पनि जागृत हुन थाल्यो । जसले दुःख पाएको छ, उसको पक्षमा उभिने अठोट पलायो ।

२०३६ सालको जनमत संग्रहमा बहुदल र निर्दलको पक्षमा छुट्टिनुपर्ने अवस्था आयो । त्यसबेला सर्वहारा र गरिबहरुको आकर्षण कम्युनिष्टतिर थियो । मेरो बुवाहरुको विचार कम्युनिष्टको जस्तो लाग्थ्यो । बुवाहरु सुरुमा बहुदलकै पक्षमा हुनुहुन्थ्यो । तर, जनमतसंग्रह नजिकिँदै गर्दा अचानक ट्विस्ट आयो ।

पहिलो पटक बहुदल पक्षधरको आमसभा हाम्रो गाउँमा हुने भयो । उनीहरुले हामीलाई फकाइरहेका थिए । मलाई नेविसंघमा आउनुपर्छ भन्थे । मलाई पनि ठीकै हो भन्ने जस्तो भएको थियो । तर, आमसभाको दिन दिउँसो एकैचोटि आँधिबेरी जस्तो गाउँलेहरु बहुदल पक्षधरहरुको विरुद्ध उर्लिए । नाराजुलुस लगाउँदै उनीहरुलाई लखेटे । बुवाहरु पनि त्यो जुलुसमा हुनुहुन्थ्यो । हामी पनि कुरा नबुझी पछि लाग्यौं ।

कसरी यस्तो ट्वीस्ट आयो भनेर बुझ्दाखेरि हाम्रो गाउँका ठालू-सामन्त जति सबै बहुदलको पक्षमा लागेछन् । आमसभा आयोजकमा पनि उनीहरु नै थिए । यसले गर्दा बहुदल त सामन्तहरुको लागि रहेछ भन्ने गाउँलेहरुलाई पर्न गयो । जनमतसंग्रहमा निर्दलको पक्षमा नै धेरै मत खस्यो ।

मैले विस्तारै कुरा बुझ्दै गएँ । पञ्चायतको पक्षमा उभिने निर्णय नै ठीक रहेछ भन्नेमा प्रस्ट भएँ । त्यसपछि निरन्तर म यही विचार र दृष्टिकोण राखेर अघि बढें । कुनै पनि रोकटोक, दबाब वा प्रलोभनले मेरो निष्ठामा तलवितल भएन ।

पञ्चायत पक्षीय विद्यार्थी राजनीतिमा म क्रियाशील भएँ । मेची क्याम्पसमा युनियनको चुनाव लडेर थोरै मतले हारें । २१ वर्ष पुग्दा नपुग्दै प्रधानपञ्चको चुनावमा प्रतिस्पर्धा गरें । त्यो सायद पञ्चायतको अन्तिम चुनाव थियो । १४ भोटले पराजित भएँ । ४६ सालको परिवर्तनपछि राप्रपामा लागें ।

बहुदलपछि हामीलाई राजनीति गर्न सजिलो भएन । वैचारिक कारणले नै धेरै दुःख दिइयो । पटक-पटक भौतिक हमलाहरु भएँ । अनगिन्ती मुद्दा खेप्नुपर्‍यो ।

प्रजातन्त्र आएलगत्तै म ५ महिना ३ दिन जेल बसें । ममाथि राजनीतिक आस्थाकै कारणले मुद्दा लगाइएको थियो । आन्दोलनका क्रममा हाम्रो क्याम्पसमा एक विद्यार्थीको हत्या भएको थियो । त्यसबेला म घटनास्थलमै थिइनँ र मेरो अप्रत्यक्ष संलग्नता पनि थिएन । प्रारम्भमा आरोपी भनेर अरुकै नाम चर्चामा थियो । तर, व्यवस्था परिवर्तन भएपछि मुद्दा परिवर्तन गरेर मलाई मुछियो । धेरै निर्दोषलाई प्रतिवादी बनाइयो र जेल हालियो । मेरो श्रीमती सीता पनि जेल परिन् ।

यो मुद्दामा बार एसोसियसनले हाम्रो पक्षमा वकालत नगर्ने भनेर औपचारिक निर्णय गरेको थियो । त्यसैले हामीले वकिल राख्नसमेत पाएनौं । मैले आफ्नो मुद्दामा आफैं बहस गरें । र अदालतले सफाइ दिएर जेलबाट छुटें ।

मेची क्याम्पसबाट स्नातक सकेपछि काठमाडौं पढ्न आएँ । कीर्तिपुर क्याम्पसमा भर्ना भएँ । घरको आर्थिक अवस्था जर्जर नै थियो । काठमाडौंमा पढाइ सँगसँगै घर रंगरोगनको काम गर्न थालें । त्यसबाट अलिकति आम्दानी हुन थाल्यो । अरुलाई पनि काम लगाउँथें र आफू पनि गर्थें । कति पटक आफू बसेको घर पनि आफैंले रंगरोगन गरेर एक-डेढ वर्षको भाडा मिनाहा गराएको छु । यसरी दुःख गरेर अलिकति पैसा खेलाउने भएँ ।

सुकुमबासीले पाउने अधिकतम तीन विघा जग्गा हामीले पाएका थियौं । त्यो सगोलमा थियो । हाम्रो मूल जायजेथा भनेको त्यही नै हो । त्यसपछि बुवाले पहाडमा भएको जग्गा बेचेर मधेशमा अलिकति जग्गा जोड्नुभएको थियो । बिर्तामोडमा थोरै घडेरी किन्नुभएको थियो । २०४९ सालतिर मेरो अर्को आमापट्टिबाट गरी पाँच भाइ सबैलाई अंश छुट्याउने सल्लाह भयो ।

सगोलको तीन विघाबाट डेढ विघा मेरो भागमा पर्‍यो । माइलो भाइ ब्रुनाईमा थियो । उसको कमाइ नमाग्ने र उसलाई अंश पनि नदिने सल्लाह गर्‍यौं । अरु भाइहरुबीच अंशबन्डा भयो । घर मेरो भागमा परेन ।

मैले काठमाडौंमा घर रंगरोगन गरेर कमाएको पैसाले ६५ हजारमा हल्दिवारीमा १ विघा जग्गा थपें । सानो घर पनि बनाएँ । त्यसपछि यसो सोचें, काठमाडौंमा बसेर दिनदिनै नेताहरुको घर धाउनुभन्दा आफ्नै घरमा बसेर राजनीति गर्दा फलिफाप होला । एउटा निर्वाचन क्षेत्रमा १५-१६ हजार मान्छे खुशी पारियो भने सांसद बन्न सकिन्छ भन्ने लाग्यो ।

काठमाडौंमा बस्दा २०५२ सालमा मैले विवाह पनि गरिसकेको थिएँ । विवाह एकदमै सामान्य तरिकाले गरेको हुँ । पहिले मसितै झूटा मुद्दामा सँगै जेल परेकी थिइन् सीता । उनको दोष केही थिएन । हामीलाई समर्थन गर्दा उनी पनि जेल बस्नु परेको थियो । कति मान्छेले फलानासँग जेलमा बसेको भनेर कुरा काट्थे । त्यसैले बिहे गर्ने सोच बनाएपछि उनलाई नै दुलही बनाउनु उचित हुन्छ भन्ने लाग्यो । उनी पनि पढ्नलाई काठमाडौं आएकी थिइन् । पद्मकन्या क्याम्पसमा पढ्थिन् ।

मैले उनलाई भेटेर सीधै बिहेको प्रस्ताव राखें । उनले परिवारलाई सोध्नुपर्छ भनिन् । अन्त्यमा परिवारको पनि सहमतिमा हामीले बिहे गर्‍याैं । बिहेमा ४० हजार रुपैयाँ जति खर्च गरेको थिएँ । साथीहरुले एउटा कोट किन्नुपर्छ भने । औंठी र मंगलसूत्र दिनुपर्छ भने । खर्च गर्दिनँ भन्दाभन्दै अलिकति खर्च भयो । सीतालाई डेरामै भित्र्याएँ ।

बिहेपछि सीताले पूर्ण रुपमा गृहणीको भूमिका निभाएर मेरो राजनीतिमा टेवा दिइन् । आफूलाई सेक्रिफाइस गरिन् । अहिलेसम्म घर व्यवहार सबै उनैले धानेकी छन् । पारिवारिक दायित्व श्रीमतीले सबै सम्हालेकाले म नेता भएर हिँड्न पाएको छु ।

बिहे गरेको एक-दुई वर्षपछि हामी गाउँ फर्कियौं । आफ्नै घरमा बस्न थाल्यौं । त्यसपछि बैंकबाट लोन लिएर एकै पटक थुप्रै व्यवसायमा हामीले हात हाल्यौं । बंगुरपालन गर्‍यौं । मिल खोल्यौं । स्कुल चलायौं । रेस्टरेन्ट चलायौं । बुवाबाट पाएको जग्गामा चियाबारी लगायौं । सबैबाट राम्रै आम्दानी भइरहेको थियो । नियमित बैंकको किस्ता तिररहेको थिएँ । राजनीतिमा पनि सक्रिय नै थिएँ ।

माओवादी द्वन्द्व उत्कर्षमा पुगिरहेको थियो । म दुई पटक जिविस सभापति भएँ । पहिलो पटक सूर्यबहादुर थापाको सरकारले नियुक्त गरेको थियो । त्यसपछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा फेरि दोहोरिएँ । तर, दुवै कार्यकाल लामो भएन । २०६२/६३ को आन्दोलनलगत्तै म बर्खास्त भइहालें ।

झापाको जिविस सभापतिमा दोस्रो कार्यकाल बिताइरँदा २०६१ सालमा मेरो जीवनमा ठूलो भूइचालो आयो । माओवादीले सबै तहसनहस बनाइदिए ।

म सरकारी क्वार्टरमा एक्लै बस्ने गर्थें । श्रीमती र दुई छोराछोरी घरमै बस्थे । म दुई-तीन दिन बिराएर घर जाने गर्थें । छोरा सानो थियो । उसको न्यास्रो लागिरहन्थ्यो ।

त्यतिबेला मोबाइल थिएन । मसित कर्डलेस थियो । एक दिन बिहान ४ बजेतिर फोनको घन्टी बज्यो । मेरो गाउँको छिमेकीले गर्नुभएको रहेछ । ‘घर त सिध्याए है हजुर’ भन्नुभयो । म आत्तिएँ । अनि मेरो परिवार भनेर सोध्दा सबैजना सुरक्षित छन् भन्नुभयो ।

अघिल्लो दिन म घर जाने तयारीमा थिएँ । तर, काम विशेषले रोकिएँ । माओवादीको समूह म घरमै हुन्छु भन्ने सूचना पाएर राति हातहतियारसहित आएका रहेछन् । मेरी श्रीमती, छोरी र छोरा सुतिसकेका बेलामा उठाएर घरबाट बाहिर निकालेछन् । दराज खोल्न लगाएर लुटपाट गरेछन् । पैसा त एक हजार पनि थिएन । बिहेका केही गहनाहरु थिए । त्यो कब्जामा लिएछन् । अनि मेरी श्रीमतीसितै मट्टीतेल मागेर घरमा आगो लगाइदिएछन् । त्यतिले नपुगेर बम पनि पड्काएछन् ।

माओवादी फर्केपछि गाउँलेहरु जम्मा भएछन् । सबै मिलेर आगो निभाएछन् । तर, के नै बाँकी थियो र ! मेरी श्रीमती र छोराछोरी छिमेकीकहाँ आश्रय लिइरहेका रहेछन् ।

म हतार-हतार घर गएँ । श्रीमतीलाई छिमेकी दिदीबहिनीले साडी फेराइदिनुभएको रहेछ । छोराछोरीको आङमा लुगासमेत थिएन । सुतेकै लुगामा बाहिर निकालिएको रहेछ । उनीहरुको अवस्था देखेर मेरो गहभरि आँसु भरियो ।

मैले उनीहरुलाई गाडीमा राखेर क्वार्टरमा ल्याएँ । त्यतिबेला जिविसबाट मेरो मासिक ७ हजार तलब आउँथ्यो । ५ हजार रुपैयाँ पेस्की मागेर बजार गएँ, अनि बच्चाहरुलाई दुई जोर कपडा किनेर ल्याएँ । उनीहरु मसँगै क्वार्टरमै बस्न थाले । तर, क्वार्टरको बसाइ सधैंलाई थिएन ।

म केही समय साथीभाइकहाँ बसें, श्रीमती र छोराछोरी आफन्तकहाँ । त्यसपछि डेराको खोजीमा लागें । डेरा पाउन साह्रै गाह्रो भयो । झापामा हामीलाई माओवादीले खेदिरहेका छन् भन्ने थाहा पाएर कसैले पनि डेरा दिन चाहेनन् । अघिल्लो दिन बुक गरेर गयो, भोलिपल्ट ‘नमिल्ने भयो’ भन्थे । ‘तिमीहरुको घरमा पनि आक्रमण गर्लान् है’ भनेर अरुले तर्साउँदा रहेछन् ।

बल्लबल्ल एउटा फ्ल्याट पाइयो । त्यो पनि कसरी भने जुन दिन कुरा भयो, त्यही दिन सामान ओसारिहालें । एक दिनमात्रै पर्खेको भए पनि नदिन सक्थे ।

माओवादीको आक्रमणमा परेपछि मेरो सबै व्यवसाय पनि चौपट भए । मेरो होटलमा पनि माओवादीले बम राखिदिए । विस्फोट त भएन । तर, ग्राहक आउन छोडे । बन्द गर्नुपर्‍यो । म आर्थिक रुपमा दिवालिया जस्तै भएँ । बैंकले कालोसूचीमा राख्ने अवस्थामा पुगिसकेको थिएँ । अर्कोतर्फ परिवार कसरी पाल्ने भन्ने चुनौती थपिएको थियो । छोराछोरीलाई एउटा बिस्कुट पनि किनेर खुवाउन नसक्ने अवस्था आएको थियो ।

मेरा दुई माइक्रोबस भने सुरक्षित थिए । माओवादीले धम्की दिए पनि त्यसलाई जलाइहालेका थिएनन् । म जिविस सभापतिबाट पदमुक्त भएपछि आफैंले माइक्रो चलाउन थालें । बिहान ४ बजेबाट धनकुटा-हिले यात्रु ओसार्थें । ‘आउनुस् धनकुटा हिले’ भन्दै यात्रु बोलाउँथें । यसरी आफैंले गाडी चलाउन थालेपछि बैंकको इन्स्टलमेन्ट तिर्न अलि सजिलो भयो ।

त्यसपछि गाडी बनाउने वर्कशप पनि चलाएँ । बिर्तामोडमा गाडीको वर्कशप खोलें । केही कामदार राखें । साथीहरुलाई भनें, म काम गरिखान्छु । जहाँ गाडी दुर्घटना हुन्छ, त्यही गएर तिम्रो गाडी म बनाइदिन्छु । ४०-५० हजार इन्स्टलमेन्ट थियो । पछि मैले धितो राखेको जग्गाको भाउ पनि बढ्यो र त्यो बेचेर लोन चुक्ता गरें । आफैं पनि साथीहरुसँग मिलेर जग्गा कारोबारमा पनि संलग्न हुन थालें । जीवनयापन अलि सहज हुँदै थियो । तर, त्यहीबेला फेरि भौतिक आक्रमणमा परें ।

राप्रपा नेपाल भर्खर गठन भएको थियो । राप्रपाका नेताहरु रवीन्द्रनाथ शर्मा र पद्मसुन्दर लावती पाँचथर आउने कार्यक्रम तय भयो । लावतीले मलाई फोन गरेर हामी एक दिन झापामा बस्छौं, एउटा होटल हेर्नू भन्नुभयो । मैले एउटा होटल बन्दोबस्त गरें ।

म एयरपोर्टबाट उहाँहरुलाई लिएर होटलमा पुगें । तर, हामी पुग्नासाथ सात पार्टी र माओवादीको ठूलो जत्थाले होटल घेर्‍यो । उनीहरुले हामीलाई होटलबाट बाहिर निकाले । त्यसपछि नाराबाजी गर्दै अन्धाधुन्द आक्रमण गर्न थाले । आक्रमणको मुख्य तारो मै भएँ । मलाई मरणासन्न बनाएपछि भीड त्यहाँबाट तितरबितर भएर हिँड्यो । मेरो शरीरबाट यति रगत बगेको थियो कि उनीहरुले अब उठेर हिँड्न सक्दैन भन्ने सोचे होलान् । रवीन्द्रनाथ शर्मालाई बाटोमा घिसारियो । तर, धेरै शारीरिक चोटपटक लागेन ।

भीडले होटललाई घेराउ गरेपछि तुरुन्तै मैले प्रहरीलाई फोन गरेको थिएँ । तर, घटना माथिदेखि नै योजनाबद्ध र नियोजित रहेछ । गृहमन्त्री कृष्ण सिटौला हुनुहुन्थ्यो । मैले डीएसपी र इन्स्पेक्टरलाई सुरक्षा दिन आग्रह गर्दा ‘यो राजनीतिक विषय हो’ भन्दै तर्किए ।

हामीमाथि आक्रमण हुन थाल्दा पनि केही प्रहरी त्यही थिए । तर, उनीहरुलाई केही नगर्न आदेश रहेछ । रमिता हेरेर बसे । जब आन्दोलनकारीले मलाई रक्तमुच्छेल पारेर हिँड्यो, बल्ल प्रहरीले उद्धार गरिटोपले ।

रगत बगे पनि मलाई भित्र गम्भीर चोट रहेनछ । म अस्पताल नबसिकन बिर्तामोड फर्किएँ । त्यही उपचार गराएँ ।

जतिसुकै आक्रमण र प्रताडना खेप्नु परे पनि म आफ्नो बाटोबाट विचलित भइनँ । २०६२/६३ को आन्दोलनपछि मलाई गणतन्त्रवादी दलहरुले प्रलोभन नदेखाएका होइनन् । तर, मैले चासो नै दिइनँ । कुनै पदको आकांक्षा राखेर राजनीति गरिनँ । त्यसैले निष्ठामा सम्झौता गर्ने सम्भावना नै थिएन । मेरो निष्ठाले नै मलाई आज यहाँसम्म ल्याइपुर्‍याएको हो जस्तो लाग्छ ।

०००

लिङदेन अहिले राजनीतिको मूलधारमा छन् । राप्रपालाई पहिले जस्तो गणतन्त्रवादी दलहरुले छिछि र दूरदूर गर्ने अवस्था छैन । राप्रपाको छवि पनि उनी नेतृत्वमा आएपछि बदलिएको छ ।

यद्यपि लिङदेनमाथि केही प्रश्न पनि छन् । खासगरी राप्रपालाई प्रमुख वर्ग शत्रु मान्ने माओवादी नेतृत्वको सरकारमा सहभागी हुँदा उनले पार्टीभित्रका हार्डकोर राजावादीबाट आलोचना सहनु परेको छ । पछिल्लो समय उनका केही अभिव्यक्तिहरुले विवाद पनि उब्जिएको छ ।

यिनै विषयमाथि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग गरिएको सवालजवाफः

 – तपाईं सिद्धान्तमा सम्झौता नगर्ने नेताको रुपमा चिनिनुहुन्छ । तर, राजसंस्था पुनःस्थापनाको घोषित एजेन्डा लिएर हिँडेको दललाई माओवादी जस्तो अतिवाद कम्युनिष्ट पार्टीले नेतृत्व गरेको सरकारमा सहभागी गराउनुभयो । यो विरोधाभास होइन ?

समग्र राजनीति नबुझ्नेले यस्तो सतही टिप्पणी गर्छन् । हामीले विगतदेखि नै संसद र सडक दुवैलाई उपयोग गर्ने नीति अंगीकार गर्दै आएका छौं । सरकारमा जानै नहुने भन्ने गलत हो । गलत शर्त स्वीकार गरेर पो जानु भएन ।

सिद्धान्तको कुरा गर्ने हो भने गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताका लागि प्रचण्ड जति दोषी छन्, एमाले र कांग्रेस पनि उत्तिकै जिम्मेवार छन् । प्रचण्डले मात्रै चाहेर राजतन्त्र अन्त्य हुने थिएन, यदि कांग्रेस-एमालेले साथ नदिएको भए । आज देशको यो अवस्था व्यहोर्नुपर्थेन । त्यसैले कांग्रेस र एमालेसँगको सहकार्य ठीक, माओवादीसँगको बेठीक भन्नु उचित होइन । तीनवटा एउटै क्याटगोरीका हुन् ।

हामी अरु जस्तो सरकारमा गएर जुका जस्तो टाँसिएर बसेका पनि छैनौं । गलत कुरामा सम्झौता गरेका पनि छैनौं । मैले मन्त्रीका रुपमा ४० दिन काम गर्दा ऐतिहासिक उपलब्धि भएका छन् । नेपालको सबैभन्दा ठूलो र धेरै बजेट भएको मन्त्रालय, जहाँ पहिले म काम विशेषले पनि गएको थिइनँ, त्यहाँ कहीँ पनि नचुकिकन महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएँ ।

अहिले भारतसँग १० हजार मेगावाट विद्युत बेच्ने सम्झौता भयो, यसको सुरुवात मेरै कार्यकालमा भएको थियो । मैले नै भारतीय सचिवसँग प्रस्ताव गरेको थिएँ । चार वर्षदेखि रोकिएको पीपीए मेरो कार्यकालमा प्रारम्भ भयो । १५ सय मेघावाटको विद्युत खरिद सम्झौता हुनु भनेको ४ खर्ब लगानीको बाटो खुल्नु हो । त्यो गर्दा एक कप चियाको पनि लेनादेना भएन । ग्रीन हाइड्रोजन नीति अहिले पास भएको छ । हामीले सात दिनभित्र यसको मस्यौदा गरेका थियौं । क्याबिनेटमा लैजानमात्र बाँकी थियो । सुशासनको सवालमा राजेन्द्र बोल्नेमात्र होइन रहेछ भन्ने व्यवहारबाट देखाउन पाइयो । मैले छोटो समयमा आफूलाई प्रमाणित गर्न सकें भन्ने लाग्छ ।

पृथ्वीनारायण शाहको सालिक ढालेर हिँड्ने माओवादी र प्रचण्डलाई पृथ्वी जयन्ती मनाउन हामीले मञ्जुर गरायौं । यो सामान्य कुरा हो र ?

– तर, सँगसँगै जनयुद्ध दिवस मनाउने निर्णय पनि तपाईंहरु संलग्न सरकारले नै गरेको थियो नि !

त्यो हामी भए पनि नभए पनि रोकिने कुरा थिएन । हामीले त्यो मन्त्रिपरिषद वैठक बहिष्कार गरेका थियौं । निर्णयमा सहभागी भएनौं । तर, अहिलेको सिस्टममा प्रधानमन्त्रीले ल्याउने प्रस्ताव अरुले रोक्न सक्दैन । एकता दिवसको सन्दर्भमा चाहिँ हामीले आफ्नो कुरा मान्न मञ्जुर गरायौं । यो सफलता हो ।

– अहिले तपाईंले नेतृत्व गरेको राप्रपामा स्पष्ट दुई धार देखिन्छ । एउटा धार सरकारमा जानेबारे सोच्नै हुँदैन भन्छ । अर्को धार सरकारमा जाने मौका कुरेर बसेको छ भनिन्छ । आधिकारिक लाइन चाहिँ के हो ?

सरकारमा जानुपर्छ वा हुँदैन भन्नेमा राप्रपामा विवाद छैन । अबको हाम्रो प्राथमिकता सडक हो । तत्काल राप्रपा सरकारको प्राथमिकतामै छैन । मैले व्यक्तिगत रुपमा यो कार्यकालमा फेरि मन्त्री बन्दिनँ भनेर घोषणा पनि गरिसकेको छु । हामीले सडक आन्दोलनको कार्यक्रम अघि बढाइसकेका छौं ।

– पार्टीका जिम्मेवार नेतामाथि तपाईंले बारम्बार प्रहार गरेको सुनिन्छ । यस्तो अवस्था किन आयो ?

कतिपय साथीहरुले पार्टी अध्यक्ष नै राप्रपा फुटाउन लागिरहेका छन् भन्ने जस्ता अभिव्यक्ति दिएको सन्दर्भमा मैले बोल्नुपरेको हो । कुनै विषयमा सार्वजनिक रुपमा आएपछि सार्वजनिक रुपमै जवाफ दिनुपर्ने हुन्छ । म बोलिनँ भने मैले नै ठूलो अपराध गरेको छु र डराएर बसेको छु जस्तो म्यासेज जानसक्छ । पार्टीको वैधानिक अवस्थाबारे पनि धेरैलाई जानकारी नहुनसक्छ । त्यसैले म बोल्नैपर्ने थियो । अब बाँकी सबै कुरा छलफलबाटै टुंग्याउने छौं ।

– रवीन्द्र मिश्रको नामै लिएर राप्रपा नबुझेको भन्नुभयो । वरिष्ठ उपाध्यक्षमाथि अध्यक्षले यस्तो टिप्पणी गर्नु शोभनीय हुन्छ ?

रवीन्द्र मिश्रका सन्दर्भमा जे बाहिर आएका छन्, यो सब चिज मैले भनेकै छैन । कतिपय मान्छेहरु रवीन्द्र मिश्र र मबीच सम्बन्धमा दरार होस् र त्यसमा खेल्न पाइन्छ भन्नेमा छन् । कसैले आफ्नो अभिष्ट सिद्ध गर्न रवीन्द्र मिश्रलाई प्रयोग गर्न सक्छु कि भन्ने पनि लागेको हुनसक्छ । त्यसमा म धेरै जान चाहन्न ।

राप्रपाभित्र के के प्रवृत्ति छन् भन्ने कुरा र के के भइरहेको छ भन्ने सभन्दर्भमा हाम्रो विधानको अन्तर्य उहाँले बुझिसक्नुभएको छैन भनेर मैले सोझो हिसाबले भनेको हो । हेपेर वा होच्याएर बोलेको होइन । उहाँले राप्रपाका मान्छेकै बारेमा बुझ्न बाँकी छ । मलाई नै बुझिसक्नुभएको छैन । त्यो अझै पनि भन्छु । मेरो आशय उहाँले राम्ररी बुझ्नुभएको छ ।

‘ड्राइभिङ सीट’ बाला कुरामा चाहिँ मिश्रजीलाई जोड्न पर्दैन । उहाँले मलाई त्यसरी सिकाउनुभएको पनि छैन । जो सिकाउन खोजिरहेका छन्, उसले बुझेकै छन् । मैले सैद्धान्तिक कुरा गरेको हो । रवीन्द्रजी राप्रपाको ड्राइभिङ सीटमा बस्नुभएकै छैन नि त ! उहाँप्रति कुनै हालतमा लक्षित होइन । उहाँ र म त सधैं संवादमै छौं । उहाँले मेरो अभिव्यक्तिलाई अन्यथा लिनुभएको छैन । अरुले यसमा केही झोस्न पाइन्छ भनेर बल गरिरहेका छन् । तर, आगो लाग्नेवाला छैन ।

– भनेपछि डा. लोहनीलाई लक्षित गर्नुभएको हो ?

अरु जसलाई होस् । जसले ड्राइभिङ सीटमा बस्छु र चलाउँछु भनेर कहिलेकाहीँ आफैं गाडी ल्याएर ‘यही हो राप्रपा’ भनेर नाम पनि लेखाए । तर, अघि एक स्टेसन पनि अगाडि बढाउन नसकेर दुर्घटना गराए । यस्तै प्रवृत्तिलाई भनेको हो ।

– भर्खरै आफ्नै पार्टीकी नेतृलाई तपाईंले अमेरिकामा बच्चा पाउन गएको भनेर कटाक्ष गर्नुभयो । यसरी सार्वजनिक रुपमा एक महिला नेतृको मानमर्दन गर्नु उचित हो ?

मैले रेखा थापालाई तोकेर भनेको थिइनँ । यस्ता कलाकार धेरै जना छन् । नामै लिएर भनेको भए पनि अपराध हुन्थेन । रेखा थापा स्वयम्ले पोस्ट गरेको कुरा हो । महिनौं दिन बहस चलेको विषय हो । विभिन्न मानिसले अन्तर्वार्ता र प्रतिक्रिया दिएका छन् । कसैले महिलाको अधिकार हो भनेर प्रतिवाद गरेका छन् । कसैले बेठीक हो भनेका छन् । मैले कुनै फ्ल्यास न्यूज भनेको थिइनँ ।

मेरो भनाइको तात्पर्य देश यस्तो अवस्थामा पुग्यो कि एउटा स्थापित कलाकारले समेत आफ्नो सन्तानलाई अमेरिकामा जन्माउन चाहन्छन् भन्ने हो । देशको दुरवस्था चित्रण गर्न खोजेको थिएँ । उहाँहरुलाई दोषी देखाएको छैन । यस्तो परिस्थिति कसले निर्माण गर्‍यो उनीहरु दोषी हुन् । यसमा कसैले चित्त नदुखाए हुन्छ ।

– रेखा थापाले राप्रपा छोड्नुभएको छैन । जिम्मेवार पदमा हुनुहुन्छ । राष्ट्रवादको वकालत गर्ने पार्टीकी नेतृ नै अमेरिकामा बच्चा पाउन जाँदा त्यसले कस्तो सन्देश जाला त ?

त्यो कोणबाट हेर्दा अवश्य प्रश्न उठ्छ । तर, अहिले यसमा बहस गर्ने उचित समय होइन ।

– उहाँलाई सोध्नुभएको छैन ?

अहिले यो तातिराखेकोलाई सेलाउन दिनुपर्‍यो । गलत बुझाइलाई प्रष्ट्याउनुपर्‍यो । त्यसपछि विस्तारै अरु कुरा आउँछन् ।

– उहाँले त तपाईंलाई नै सामाजिक सञ्जालबाट जवाफ फर्काउनुभयो नि ! यो पार्टी अनुशासन विपरीत हो कि होइन ?

अहिले तातिराखेको बेला यसमा धेरै चर्चा नगरौं । जवाफ ठीक हो कि होइन भन्ने अवश्य पनि पार्टीमा छलफलको विषय बन्छ । अहिले आमा बन्ने क्रममा रहेको महिलालाई तनाव सिर्जना गर्ने काम मेरो तर्फबाट गर्नुहुन्न । प्रतिवादतिर लाग्नुहुँदैन मैले । म उहाँको गार्जियन पनि हो । अहिले यसलाई चर्काउनुभन्दा होसियारी अपनाउनु नै राम्रो हुन्छ भन्ने लाग्छ ।

– उहाँ पार्टीलाई वा तपाईंलाई जानकारी दिएर जानुभएको हो कि होइन ?

मलाई जानकारी थिएन । सामाजिक सञ्जालबाट थाहा पाइयो ।

– तपाईं जस्तो राष्ट्रवादीले आफ्ना छोराछोरीलाई किन विदेशी स्कुलमा पढाउनुभयो ? छोरीलाई किन अमेरिका पठाउनुभयो भन्ने प्रश्न सामाजिक सञ्जालमा उठेका छन् नि ?

यसको बेग्लै पृष्ठभूमि छ । जब माओवादीले मेरो घर जलाएर ध्वस्त बनायो, त्यसबेला म ठूलो आर्थिक संकटमा परेको थिएँ । म आफ्नो गाउँबाट विस्थापित भएँ । मेरा सबै व्यवसाय एकै पटक तहसनहस भए । छोराछोरीको स्कुल फी तिर्नसक्ने अवस्था भएन ।

मैले साथीहरुसँग कुरा गरें । सस्तो स्कुल कहाँ छ भनेर सोधखोज गर्दा सेन्ट जेभियर्समा लैजान सुझाव दिए । त्यहाँ सस्तो र गुणस्तरीय पढाइ हुँदोरहेछ ।

मेरो छोरी पढाइमा जेहेनदार थिइन् । भाग्यवस नाम निकाल्न सफल भइन् । उनले तीन कक्षा पास गरेर एकै पटक ५ कक्षाको इन्ट्रान्स दिइन् र पास गरिन् । छोरीको कारणले छोरालाई पनि त्यही स्कुलमा पढाउन सहज भयो । र, दुवैले त्यही पढेर एसएलसी पास गरे । छोरीले ११÷१२ पनि सेन्ट जेभियर्स गल्र्स स्कुल सिलगुडीबाट पास गरिन् । त्यसले गर्दा १२ पढ्दासम्म छोराछोरीको पढाइमा धेरै खर्चको समस्या भएन ।

– छोरीलाई अमेरिका पठाउनुपर्ने पनि कुनै बाध्यता थियो र ?

छोरीले १२ कक्षा पास गरेपछि मेची क्याम्पसमै बीबीए अध्ययन सुरु गरेकी थिइन् । अमेरिका पठाउने सोच नै थिएन । एक दिन राप्रपा अध्यक्ष कमल थापाले मेरो छोराछोरीको पढाइको विषयमा चासो राख्नुभयो । छोरीको राम्रो पढाइ रहेछ, एक पटक बाहिर पढाउनुपर्छ भनेर सुझाव दिनुभयो । एक पटक विदेशमा पढेर आए भने संसार देख्छन् र क्षितिज फराकिलो हुन्छ भन्ने उहाँको दृष्टिकोण थियो ।

मैले आफूसँग पैसा पनि छैन र त्यस्तो योजनासमेत छैन भनें । उहाँले भन्नुभयो कि ठूल्ठूला मान्छेका छोराछोरी पनि आफैले काम गरेर पढ्ने हुन् । एक पटक पठाइसकेपछि यताबाट थेगिरहनु पर्दैन । आफ्नो खर्च आफैं निकाल्छन् । उहाँको कुराले मेरो पनि मानसिकता परिवर्तन भयो । छोरीसँग प्रस्ताव राखें । मेरो एउटै शर्त थियो कि पढाइ सिध्याएर आफ्नै देशमा फर्किने । कुनै हालतमा उताको नागरिक नबन्ने । मेरो सोचमा छोरीको पनि समर्थन रह्यो । त्यसपछि ६ वर्षअघि करिब १३-१४ लाख खर्च गरेर उनलाई अमेरिका पठाएँ ।

छोरी अहिले एमबीए पढ्दैछिन् । एउटा स्टोरमा काम पनि गरिरहेकी छन् । पढाइ सकेर फर्किने उनको प्रतिबद्धता कायम छ । उनी आफैं चाहन्नन् अमेरिकामा सेटल हुन । रोजगारदाताहरु पनि छक्क पर्छन् । तिमी यति राम्रो काम गर्छौं, कागजपत्र मिलाइदिन्छौं भन्दा उनले अस्वीकार गरेकी छन् ।

– छोराछोरीले आफ्नो पदचिन्ह पछ्याएर राजनीतिमै संलग्न होऊन् भन्ने लाग्छ कि लाग्दैन ?

राजनीतिमा छोराछोरीको चासो छ । उनीहरु अपडेट पनि छन् । तर, उनीहरु सक्रिय राजनीतिमा नै आउनुपर्छ भन्ने मेरो चाहना छैन । उनीहरुको च्वाइसको कुरा हो ।

मेरो जीवनमा दुई प्रतिबद्धता छन् । एउटा- राजनीतिक निष्ठामा तलमाथि हुँदैन । दोस्रो- भ्रष्टाचारको विषय । मैले डे वानदेखि आजसम्म एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन । भविष्यमा पनि गर्दिनँ । यो दुई कुरा मेरो परिवारले पनि क्यारी गरोस् । मेरा छोराछोरीले पनि गलत बाटोबाट पैसा कमाउन नखोजून् र देशप्रति गद्दारी नगरून् । यत्ति चाहन्छु ।

– अहिलेसम्म काठमाडौंमा डेरामै बस्दै हुनुहुन्छ । जबकि माओवादी जनयुद्धबाट आएका नेताहरुले पनि घर ठड्याइसके । तपाईंले कहिले बनाउने ?

म घर बनाउँदैछु । काठमाडौंमा घर बनाउने योजना र सपना थिएन । विगतमा झापामै साथीहरुसँग सानोतिनो जग्गा कारोबारमा जोडिने गरेको थिएँ । एउटा काम गरिसकेपछि बीच-बीचमा पैसा लिने खर्च गर्ने भइरहेको थियो । ७-८ वर्ष अगाडि त्यो काम बन्द भयो । प्रोजेक्ट बन्द भएपछ कम्पनी उठ्ने बेलामा साथीहरुले बोलाएर अन्तिम रकमको रुपमा ५० लाख रुपैयाँ रहेको जानकारी गराए । उनीहरुले यौ पैसा नमासिकन काठमाडौंमा घडेरी किन्न सुझाव दिए । मैले हाँसेर भनें, ‘५० लाखले कहाँ जग्गा आउँछ काठमाडौंमा ?’ उनीहरुले रिङरोडबाट ८-१० किलोमिटर पर पाउन सकिने बताए । मेरो पनि अलिकति मुड चेञ्ज भयो ।

एक जना साथीले दाइसित म पनि ५० लाख थप्छु र एक करोडको जग्गा संयुक्तमा किनौं भनेर प्रस्ताव गरे । साथीहरुले लामाटारमा लैजानुभयो । अलिकति जग्गा दुई जनाको संयुक्त लगानीमा किनियो । केही वर्षपछि साथीले आफ्नो हिस्सा बेच्न चाहनुभयो । मैले मलाई पछाडिपट्टि राखिदिनुस् भनें ।

घर बनाउन समय र पैसा दुवै थिएन । ग्यारेज चलाउँदा कमाएको पैसाले बिर्तामोडमा सस्तैमा जग्गा जोडेको थिएँ । घर पनि बनाएको थिएँ । म यहाँ पार्टीको होलटाइमर हुन थालेपछि गाडी व्यवसाय, ग्यारेज सबै बन्द भयो । व्यवसाय नभएपछि व्याज कसरी तिर्ने, परिवारमा घर बेचौं भन्ने सल्लाह भयो । बिर्तामोडको घर हामीले टिकाउने अवस्था रहेन । त्यसलाई बेचेर माओवादीले जलाएको घर पुनर्निर्माण गर्ने, बैंकको व्याज तिर्ने र उब्रेको पैसाले यता घर बनाउने योजना भयो ।

त्यो पैसा जम्मा भएर बसिराखेको थियो दुई तीन वर्षदेखि । फिक्स्ड डिपोजिटमा राखेको थिएँ । अहिले रड, सिमेन्टको भाउ पनि अलि तल झर्‍यो । त्यसैले घर सुरु गरेको हुँ । यो विषयमा पार्टी बैठकमा पनि मैले ब्रिफिङ गरिसकेको छु ।

– पार्टी बैठकमा नै ब्रिफिङ गर्नुपर्ने अवस्था चाहिँ किन आयो ?

म सधैं सुशासनको कुरा गर्छु । भोलि एक्कासि घर ठडिँदा साथीहरुलाई यसको स्रोत के हो भन्ने पर्ला । मुखमै नभने पनि आशंका रहला । बाहिर त झन् भए नभएका कथा बनाउँछन् । चुनावको बेला अमेरिकामा मेरो छोरीलाई कसैले घर किनिदिएको भनेर समेत काल्पनिक समाचार लेखाएका थिए । कतिलाई जवाफ दिएर हिँड्ने ? पार्टीलाई चाहिँ सुरुमै प्रष्ट्याउँदा ठीक होला भन्ने लाग्यो । फलाना बैंकमा मेरो फिक्स्ड डिपोजिटमा यति पैसा छ, त्यसैले घर बनाउने हो । नपुगे होम लोन लिने हो भनेर सबैलाई सुनाइदिएको छु ।

– राप्रपामा विगतदेखि सधैं कमल थापाको छत्रछायाँमा रहेर काम गर्नुभएको थियो । तर, गत महाधिवेशनमा अचानक उहाँविरुद्ध नै उम्मेदवारी दिनुभयो । अहिले दुई किनारा हुनुभएको छ । यो स्थिति आउला भन्ने कहिल्यै सोच्नुभएको थियो ?

थिएन । एकदमै थिएन । म असाध्यै इमानदारीका साथ राजनीतिमा छु । मलाई पछिल्लो दिनमा अध्यक्षको सम्भावित व्यक्तिका रुपमा हेर्न थालेका थिए र कुरा गर्थे । तर, मैले कहिले पनि कमल थापासँग प्रतिस्पर्धा गरेर अध्यक्ष बन्ने सपना देखिनँ । उहाँसित मिलेर काम गर्दा चित्त नबुझेको कुरा एक्लै भनेको छु । तर, बाहिर आइसकेपछि उहाँलाई सफल बनाउन मात्रै मेहनत गरेको छु । बाहिर कहिल्यै पनि फरक मत राखिनँ ।

मैले यथार्थमा पार्टीकै हितको लागि आफूलाई अध्यक्षको उम्मेदवार बनाएको हुँ । त्यो निर्णय लिएपश्चात अरुलाई भन्दा अगाडि कमल थापालाई नै भेटेर भनें । जे परिस्थिति छ, यो सन्दर्भमा नेतृत्व परिवर्तन गर्न आवश्यक छ भन्ने मैले ठानें । त्यसका लागि अरुभन्दा म हुनु तपाईंका लागि, सबैका लागि उपयुक्त देखेर आफूलाई दावेदारका रुपमा प्रस्तुत गर्ने निर्णय गरेको छु भनें । सकेसम्म तपाईंकै उम्मेदवारका रुपमा अगाडि सार्नुस्, सकिन्न भने पनि मित्रवत प्रस्पिर्धाको अनुमति दिनुस् भनेर अनुमति लिएको हुँ ।

– उहाँ कत्तिको स्तब्ध हुनुभयो ?

स्वाभाविक रुपमा स्तब्ध हुनुभयो । उहाँका लागि अप्रत्याशित नै थियो । तर, त्यसपछि पनि मैले उहाँलाई खुइल्याउने र बदनाम गर्ने कुनै काम-कुरा गरिनँ । त्यसपछि पनि मेरो सम्मान उहाँप्रति त्यत्तिकै रह्यो । अहिले पनि छ ।


प्रतिक्रिया

2 thoughts on “राजेन्द्र लिङदेनले खेपेका चोटपटक: धूलो टक्टक्याएर उठे हरेक पटक

  1. राप्रपा अध्यक्ष माननीय राजेन्द्र लिङ्देन यो देशका तमाम नेपालीहरुको आशा यबं भरोसाको केन्द्र हुनुहुन्छ उहाँलाई मेरो पुर्ण साथ र समर्थन छ।

  2. यीनी र यीनका संतानले पंचायतीकालमा मण्डलेका रुपमा गरेका हत्या,हत्कण्डा, गुण्डागर्दी र अराजकता भोगेका झापा विर्तामोड दीक्षणका घैलाडुवा, चकचकी, गोल्धाप लगायतका थुप्रै गाउँका गरिब गुरुवाले आजपनि विर्सेका छैनन् । मेरा बा आमाले आज भोली कहिलेकाँई यीनका बा र दाजु भाईका कर्तुत सुनाउँदा जिउ सिरिंग हुन्छ ।
    लोकतन्त्र आज उनैलाई फेरी ठुलो मान्छे देख्छ । कठै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर