फेसबुकको दुई दशक पूरा, जुकरबर्गमाथि लागेको थियो बौद्धिक चोरीको आरोप – Nepal Press

फेसबुकको दुई दशक पूरा, जुकरबर्गमाथि लागेको थियो बौद्धिक चोरीको आरोप

नेपालमा करिब एक करोड २० लाख फेसबुक प्रयोगकर्ता, तर छैन कार्यालय

काठमाडौं । विश्वमा सबैभन्दा बढी प्रयोग हुने शीर्ष चार सामाजिक सञ्जालमध्ये फेसबुक, ह्वाट्सएप र इस्टाग्राम एउटै व्यक्तिले मार्क जुकरबर्गले सञ्चालन गर्छन् । त्यसमध्येको सबैभन्दा प्रभावशाली सामाजिक सञ्जाल मानिने फेसबुक २० वर्षको तन्नेरी भएको छ ।

सन् २००४ फेब्रुअरी ४ मा मार्क जुकरबर्गले एप्लिकेशन ‘फेसबुक’ सञ्चालनमा ल्याएका थिए । ‘फेसबुक इंक’ नामक कम्पनीबाट फेसबुक सञ्चालनमा ल्याएका जुकरबर्गले हाल फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, ह्वाट्सएप, मेटा क्वेस्ट, होराइजन बर्ल्डस, रे-ब्यान स्टोरिज, म्यापिलरी, वर्कप्लेस, प्रोटल र डिम नामक डिजिटल करेन्सी सञ्चालन गरिरहेका छन् ।

इन्स्टाग्रामदेखि ह्वाट्सएपसम्मलाई आफूसँग गाभ्दै ‘फेसबुक इंक’ कम्पनीलाई जुकरबर्गले सन् २०२१ मा मात्रै ‘मेटा प्लेटफर्म इंक’ मा रुपान्तरण गरेका छन् । सन् २०२४ सम्म आइपुग्दा विश्वभर फेसबुक ३.०५ बिलियन अर्थात ३ अर्ब ५ करोडले चलाउँछन् ।

नेपालमा पनि फेसबुक सर्वाधिक लोकप्रिय सामाजिक सञ्जालमा पर्छ । फेसबुक सार्वजनिक भएको तीन वर्षपछि सन् २००८ मा फेसबुकले आफ्नो ट्रेडमार्क नेपालको उद्योग विभागमा दर्ता गराएको थियो । आफ्नो ट्रेडमार्क अरु कसैले प्रयोग नगरून् भन्ने हेतुले नेपालमा फेसबुकले आफ्नो लोगो सुरक्षित गरेको थियो ।

नेपालको कुल इन्टरनेट प्रयोगकर्तामध्ये ९४ प्रतिशतले फेसबुक चलाउँछ । विश्वमा सबैभन्दा बढी फेसबुक प्रयोगकर्ता भएका राष्ट्रहरुमध्ये नेपाल ३७औं नम्बरमा पर्छ । नेपालमा १ करोड १८ लाख ५० हजार फेसबुक प्रयोगकर्ता रहेको ‘डाटारिपोटल्स’ को तथ्याङ्कले देखाउँछ ।

विश्वभरि मानिसहरुले फेसबुकबाट राम्रो आम्दानी पनि गरिरहेका छन् । जुन समयअनुरुप डिजिटल प्रविधिको प्रयोगबाट प्राप्त आम्दानी हो । तर, नेपालीहरु यस्तो डिजिटल प्लेटफमार्फत पाउने सुविधाबाट वञ्चित छन् । एप्लिकेशनमार्फत फेसबुक जस्ता ठूला कम्पनीहरुले नेपालीहरुको करोडौं रुपैयाँ बाहिर लगिरहेका छन् ।

फेसबुकबाट पैसा कमाउन ‘मनिटाइजेशन’ गर्नुपर्ने हुन्छ । तर, मनिटाइजेसन सुविधा नेपाललाई उपलब्ध छैन । यद्यपि, कतिपयले विदेशमा नेटवर्क बनाएर फेसबुकलाई आम्दानीको स्रोत बनाइरहेका छन् । यस्तो मनिटाइजेसन संयुक्त राज्य अमेरिका, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, नेदरयान्ड्स, नर्वे, पोचुर्गल, स्पेन, स्वीडेन, अर्जेन्टिना, बोलिभिया, चिली, कोलम्बिया, डोेमिनिकन रिपब्लिक, इक्वेडर, एल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस, मेक्सिको, पेरु र थाइल्याण्ड जस्ता राष्ट्रहरुबाट गर्नुपर्ने हुन्छ ।

फेसबुकमा आफ्ना कन्टेन्टहरु बनाएर मानिसहरु करोडौं रुपैयाँ आर्जन गरिरहेका हुन्छन् । जसका लागि भारत, दुबई, मलेसिया, इजरायललगायत राष्ट्रहरुले फेसबुकको शाखा कार्यालय स्थापना गराएका छन् ।

फेसबुक कार्यालय जुन जुन राष्ट्रमा छ, त्यहाँका मानिसहरुले फेसबुकबाट पाइने सुविधाहरु जस्तैः मनिटाइजेसन भेरिफाइ, एकाउन्ट समस्या तत्काल समाधान, इमेलको रिप्लाइ गर्ने, समस्या सम्बोधन हुने, फेसबुक पेजमा आउने समस्या समाधान जस्ता हरेक समस्या समाधानका सुविधा उपभोग गरिरहेका हुन्छन् । तर, नेपाली प्रयोगकर्ताहरु भने यस्ता विभिन्न सुविधाबाट वञ्चित नै छन् ।

विश्वभर फेसबुकको माउ कम्पनी ‘मेटा’ ले ६२ वटा शाखा कार्यालय विभिन्न राष्ट्रमा राखेको छ । नेपालकै छिमेकी भारतमा मात्रै हैदरावाद, मुम्बई र बैंगलोर गरी तीन ठाउँमा मेटा कार्यालय रहेको छ । कुल इन्टरनेट प्रयोगकर्तामध्येको ५५.३ प्रतिशत अर्थात ४५ लाख ५० हजारमात्रै फेसबुक प्रयोगकर्ता भएको इजरायलमा समेत फेसबुकले कार्यालय खोलेको छ ।

त्यस्तै ६० लाख ५० हजार फेसबुक प्रयोगकर्ता भएको दुबई र ३६ लाख फेसबुक प्रयोगकर्ता भएको डेनमार्क जस्ता राष्ट्रमा फेसबुकको कार्यालय छ । तर, यी राष्ट्रभन्दा करिब दुई गुणा बढी प्रयोगकर्ता भएको नेपालमा भने फेसबुकको शाखा कार्यालय छैन ।

फेसबुकको दुई दशक

मार्क जुकरबर्गलाई विश्वकै सर्वाधिक चलाइने एप्लिकेसन फेसबुकका आविस्कारक भनिन्छ र उनी त्यसको संस्थापकका रुपमा छन् । तर, सन् २००५ मा फेसबुक सञ्चालनमा आउनुअघि उनले बनाएको एप्लिकेसन कपी गरेको भनिन्छ । फेसबुक सञ्चालनमा आउँदा हार्वर्ड विश्वविद्यालयका तीन जना सिनियरको आइडिया चोरेको आरोप जुकरबर्गलाई लागेको थियो ।

‘एट लास्ट- द फुल स्टोरी अफ हाउ फेसबुक वाज फाउन्डेड’ नामक लेखमा ‘निकलोस कार्लसन’ ले मार्क जुकरबर्गले हार्वर्डका विद्यार्थीको आइडिया कपी गरेको उल्लेख गरेका छन् ।

निकलोसका अनुसार हार्वर्ड विश्वविद्यालयका केही विद्यार्थीहरुले सन् २००२ मा सामाजिक सञ्जालका रुपमा ‘हावर्ड कनेक्सन्स डटकम’ बनाएका थिए । जसलाई एउटा प्लेटफर्मका रुपमा सञ्चालनमा ल्याउन उनीहरुले जुकरबर्गलाई आफ्नो प्रोजेक्ट अर्थात आइडियामा काम गर्न आह्वान गरेका थिए । पछि त्यस प्रोजेक्टलाई अधुरै छोडेर जुकरबर्गले आफ्नै फेसबुक बनाए । यो उनले अधुरै छोडेको प्रोजेक्टमै आधारित र हुबहु थियो ।

हार्वडका क्यामरन विन्क्लेभोस, टायलर विन्क्लेभोस र दिव्य नरेन्द्र तीन जना सिनियरको आइडिया जुकरबर्गले चोरेको आरोप लगाइएको थियो । सन् २००७ सम्म जुकरबर्गमाथि यस सम्बन्धमा मुद्दा नै चलेको थियो । त्यसलगत्तै विभिन्न कारण देखाउँदै मुद्दालाई सेटल गरिएको थियो ।

‘ह्वाट्सएप’ अक्वायर

हाल विश्वभर फेसबुकपछि २.७ बिलियन प्रयोगकर्तासहित ‘ह्वाट्सएप’ दोस्रो स्थानमा रहेको छ । ‘ग्लोबल वेब इन्डेक्स’ का अनुसार चीनबाहेक विश्वभर कुल इन्टरनेट प्रयोगकर्तामध्ये ६९ प्रतिशतले ‘ह्वाट्सएप’ प्रयोग गर्छन् । सन् २००९ मा जान कोउम र ब्रायन एक्टनले ह्वाट्सएपको आविस्कार गरेका थिए । जसलाई सन् २०१४ मा फेसबुकले १९ बिलियन डलरमा खरिद गरेको थियो ।

इन्स्टाग्राम अक्वायर

इन्स्टाग्रामलाई सन् २०१० मा केभिन सिस्ट्रोम र माइकक्रिगरले फोटो शेयरिङ प्लेटफर्मका रुपमा स्थापना गरेका थिए । सन् २०१२ सम्ममा इन्स्टाग्राम लोकप्रिय बन्दै गएपछि फेसबुकले १ बिलियन डलरमा आफूसँग गाभिन प्रस्ताव गर्‍यो । इन्स्टाग्रामलाई आफूसँग गाभ्न फेसबुकले स्वतन्त्र रहन दिने सर्त मान्नुपर्‍यो ।

र, थ्रेड्स पनि

फेसबुकले साविकको ट्वीटर अर्थात एक्सको कपी गरेर सन् २०२३ मा थ्रेड्स नामक एप्लिकेशनसमेत लञ्च गर्‍यो । थ्रेड्स लञ्च भएपछि साविकको ट्वीटरका सञ्चालकले फेसकुमाथि मुद्दा नै दायर गरेका थिए । पछि फेसबुकले आफूलाई एक फोटोबाट टेक्स्टमा रुपान्तरणका लागि खोलिएको एप भन्दै मुद्दा खेपेको थियो ।

‘भिजुअल क्यापिटलिस्ट डटकम’ को एक लेखअनुसार सन् २०१४ मा फेसबुकका सीईओ मार्क जुकरबर्गले करिब ४ मिलियन अमेरिकी डलर नेट वर्थ भएको ‘स्न्याप च्याट’ लाई ६० मिलियन अमेरिकी डलरमा बेच्न अफर गरेका थिए । तर, स्न्याप च्याटले उक्त अफर अस्वीकार गरेको थियो । अहिले स्न्याप च्याटको नेट वर्थ २७.२४ बिलियन अमेरिकी डलर पुगेको छ ।

एजेन्सीहरुको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर