महानगरलाई सरकारको पत्र: धरहराको पार्किङमा काम सकिएको छैन, मान्छे निसास्सिन सक्छन्
धरहराको पार्किङमा के-के काम बाँकी ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्माण सम्पन्न भई नसकेको धरहरामा सवारीसाधन पार्किङ खुलाएपछि विवाद बढेको छ । शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका टकराबमा उत्रिएका छन् ।
काठमाडौंका मेयर बालेन शाहले गत १४ माघबाट धरहरा निर्माण भएको भवनको पहिलो तल्ला पार्किङका लागि खुल्ला गरेका थिए । लगत्तै सोही दिन शहरी विकास मन्त्रालय अन्तरगत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) महानगरलाई पत्र लेखेर आपत्ति जनाएको थियो ।
पार्किङ स्थलको निर्माण पूरा भई नसकेको तथा कसले सञ्चालन गर्ने भन्ने निर्णय हुन बाँकी छँदै महानगरले आफूखुसी पार्किङ खुलाएको आरोप लगाइएको छ ।
त्यसअघि धरहरा निर्माणको ठेक्का लिएको निर्माण कम्पनी जिआइइटीसी/रमन जेभीले काठमाडौं महानगरका कर्मचारीहरू आएर जबरजस्ती ट्रिपल बेसमेन्टमा पार्किङ खुलाइएको भन्दै सो कार्य रोक्न इकाईलाई पत्र लेखेको थियो । इकाईले निःशुल्क पार्किङ खुल्ला गराएको ब्यहोरा सञ्चारमाध्यमबाट थाहा पाएको जनाएको छ ।
पत्रमा भनिएको छ, ‘यस इकाईसँग कुनै सम्पर्क र समन्वय नै नगरी निःशुल्क पार्किङ खुल्ला गरिएको ब्यहोरा विभिन्न सञ्चारमाध्यमबाट जानकारी प्राप्त भएको छ ।’
ट्रिपल बेसमेन्ट पार्किङमा हिटिङ, भेन्टिलेसन, एयर कन्डिसन सिस्टम, अग्नि नियन्त्रण प्रणाली, विद्युतीय कामहरू, सीसीटीभी जडान, पब्लिक एड्रेसिङ सिस्टम, इलेक्ट्रिकल मेन प्यानल, रंगरोगन लगायत मुख्य प्रवेश अगाडिको स्थानमा पीसीसी प्ल्याडस्टोनको कार्य तथा पार्किङ प्रवेशद्वारको र्याम्पमा फ्लोर फिनिसिङको कार्यहरू बाँकी रहेको पत्रमा जनाइएको छ ।
उल्लेखित कार्यहरू सम्पन्न नै नगरी भूमिगत पार्किङ सञ्चालन गर्दा निसास्सिएर मानवीय क्षतिसमेत हुने सम्भावना देखिएको एवं गर्न बाँकी रहेका माथिका कार्यहरू सम्पन्न गर्न बाधा व्यवधान समेत उत्पन्न हुने तर्क गरिएको छ ।
‘निर्माण व्यवसायीलाई यस इकाईलाई आयोजना सम्पन्न भई हस्तान्तरण नभएको सन्दर्भमा निर्माण स्थलमा अनगिन्ती र अनधिकृत व्यक्तिहरू र सवारी साधनहरूको प्रवेशले निर्माण स्थलको सुरक्षामा थप चुनौती बढ्न गई निर्माण सामग्रीहरूको टुटफुट एवं बनिसकेका संरचनाहरूमा क्षति हुन सक्ने र त्यसको जिम्मेवारी कसले लिने रु भन्ने अन्योल रहेको छ,’ पत्रमा भनिएको छ ।
इकाईबाट निर्माण व्यवसायीलाई समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिइएको पत्रमा उल्लेख छ । हाल निर्देशनअनुसार काम भइरहेको अवस्थामा आयोजना सम्पन्न हुनासाथ उक्त पार्किङको पूर्ण क्षमता अनुसार पार्किङ सञ्चालन गर्न सकिने अवगत गराइएको छ ।
हाललाई निर्माण कार्य नसकुन्जेल उक्त पार्किङ स्थलको उपयोग गर्ने कार्य तत्काल नगर्न पत्रमा अनुसार गरिएको छ ।
तर, काठमाडौंका मेयर बालेन शाहले भने इकाईको आग्रहलाई अस्वीकार गरेका छन् । २ वर्ष ९ महिना अघि नै धरहराको उद्घाटन भइसकेकाले पार्किङ प्रयोग गर्न पाउनुपर्ने उनको तर्क छ । उनले इकाईलाई लिखित जवाफ दिनुको साटो सामाजिक सञ्जालमा स्टाटस लेखेका हुन् । उनले पार्किङलाई निरन्तरता दिने बताएका छन् ।