महिलालाई प्रशिक्षक बनाउन अनेमसंघले दियो प्रशिक्षण तालिम – Nepal Press

महिलालाई प्रशिक्षक बनाउन अनेमसंघले दियो प्रशिक्षण तालिम

काठमाडौं । पार्टीका कार्यक्रमहरूमा महिला प्रशिक्षकको संख्या बढाउन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले पहल थालेको छ । त्यसका लागि महिला नेताहरूलाई प्रशिक्षकका रूपमा तयार पारिँदै छ ।

नेकपा एमाले पार्टी र त्यससँग सम्बन्धित विभिन्न विभाग र तहमा प्रशिक्षकका रूपमा पुरुषको बाहुल्यता छ ।

प्रशिक्षणमा महिला संख्या बढाउन पहल थालिएको हो । त्यसका लागि अनेमसंघ केन्द्रीय प्रशिक्षण विभागले प्रदेशहरूमा प्रशिक्षक प्रशिक्षण तालिम दिन थालेको छ ।

अनेमसंघ केन्द्र र लुम्बिनी प्रदेश कमिटीको संयुक्त आयोजनामा बुटवलको रुपन्देहीमा ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको छ ।

परीक्षाको शैलीमा गरिएको प्रशिक्षणमा उत्तीर्ण भएकाहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । माघ १७ देखि १९ गतेसम्म पुष्पलाल स्मृति भवन बुटवल रुपन्देहीमा गरिएको प्रशिक्षणमा अनेमसंघका स्थानीय तथा केन्द्रीय नेता सहभागी भएका थिए ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा अनेमसंघ इन्चार्ज सिता पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेमसंघ अध्यक्ष टुका भद्रा हमाल, अनेमसंघ केन्द्रीय उपाध्यक्ष एवं प्रशिक्षण विभाग संयोजक शर्मिला कार्की लगायतको सहभागिता थियो ।

प्रदेश कमिटी अध्यक्ष पम्फवाती खनालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले उपमहासचिव तथा पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, पार्टी लुम्बिनी प्रदेश स्कुल विभाग सचिव युवराज न्यौपाने, नेकपा एमाले केन्द्रीय सदस्य एवं अनेमसंघका महासचिव पेम्वा लामा, अनेमसंघका केन्द्रीय पदाधिकारी र प्रशिक्षण विभागका सदस्यहरूले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा मार्क्सवादी दर्शन, जनताको बहुदलीय जनवाद, जबजका चौध विशेषता, दशौँ महाधिवेशनका कार्यदिशा, नेपाली महिला आन्दोलन, अनेमसंघ, अनेमसंघको उपलब्धि र भावी कार्यदिशा, संगठन निर्माण, परिचालन र व्यवस्थापन, जनप्रतिनिधि र अनेमसंघको अन्तर सम्बन्ध, पार्टी र जनसंगठनको अन्तर सम्बन्ध, महिला हिंसा अन्त्य सम्बन्धी महासन्धिहरू, आर्थिक व्यवस्थापन, सांस्कृतिक रूपान्तरण, उद्यमशीलता र आर्थिक सशक्तीकरण, नेतृत्व विकास, सञ्चार, प्रविधि र महिला, सहजीकरण लगायत समसामयिक विषयहरुमा प्रशिक्षित गरिएको थियो।

अखिल नेपाल महिला संघका नेताहरूलाई प्रशिक्षकको रूपमा तयार गर्न र पार्टीका प्रशिक्षणहरूमा पनि महिलाहरूलाई प्रशिक्षकको रूपमा स्थापित गर्ने उद्देश्यका साथ यो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *