कृषि र कृषकको समस्या समाधान गर्न रुपान्तरणकारी परियोजना ल्याउँदै नार्क – Nepal Press

कृषि र कृषकको समस्या समाधान गर्न रुपान्तरणकारी परियोजना ल्याउँदै नार्क

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि नयाँ परियोजनाहरु ल्याउने तयारीमा जुटेको छ ।

नार्कले मुलुकको कृषि क्षेत्रका विभिन्न समस्याहरुलाई सम्बोधन गरी समाधान गर्ने प्रविधि विकास गर्न परियोजना निर्माण गर्दै अगामी आर्थिक वर्षदेखि लागू गर्ने आन्तरिक तयारीमा जुटेको हो ।

सरकारले निर्दिष्ट गरेको चैते धान बालीहरुको क्षेत्र विस्तार गर्ने उद्देश्यमा सघाउ पुर्याउन गुणस्तरीय प्रजनन र मूल बीउ उत्पादनको वृहत् परियोजना लागू गरी बीउको माग पूरा गर्ने नार्कको तयारी रहेको छ । मकै र गहुँका उन्नत प्रविधि विकास र विस्तारको योजना पनि लागू गरी आत्मनिर्भर अभियान सघाउ पुर्याउने योजना नार्कको छ ।

सरकारको कृषि नीति तथा उत्पादन वृद्धिका कार्यक्रमलाई सफल बनाउँने उदेश्यले नार्कले बृहत बीउ उत्पादन कार्यक्रम ल्याउँन लागेको नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले बताए ।

निर्देशक डा. भट्टराईका अनुसार अगामी बर्षहरुमा नार्कको बृहत् बीउ उत्पादन कार्यक्रमबाट खाद्यान्न र तरकारीको आयात न्यूनीकरणमा यसबाट सघाउ पुग्नेछ ।

सरकारको योजना, नीति तथा कार्यक्रम एवं कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसालको निर्देशनअनुसार नार्कले बाँझो एवं उपयोग नभएको जग्गालाई सदुपयोग गर्ने उद्देश्यअनुसार बाँझो जमिन सदुपयोग परियोजना लागु गर्ने तयारी गरेको छ ।

नार्कले ल्यााउने रुपान्तरणकारी परियोजनाले मुलुकका कृषि क्षेत्रमा देखा परेका मुख्य समस्याहरुको निराकरण गर्न उल्लेख्य मद्दत गर्ने राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले बताए ।

डा. उपाध्यायका अनुसार नार्कले अगामी आर्थिक बर्षमा सरकारको सहयोगमा किसानसँग वैज्ञानिकको अवधारणा अनुरुप किसानलाई प्रविधि सिकाउन डिजिटल सूचना प्रविधियुक्त र सुविधा सम्पन्न तालीमहलको व्यवस्थासहितको कृषि प्रविधि सूचना भवन निर्माण गर्ने योजना समेत ल्याउँदैछ ।

डा. उपाध्यायले भने, ‘किसानलाई प्रविधि सिकाउन आवासीय तालिमको लागि किसान गेष्ट हाउस, दिनरात समय दिनुपर्ने वैज्ञानिक र अनुसन्धानकर्ताहरुको लागि कर्मचारी आवास गृह, डिजिटल सूचना प्रविधिले युक्त र सुविधा सम्पन्न तालीमहलको समेत व्यवस्था भएको कृषि प्रविधि सूचना पूर्वाधार विकासका योजना ल्याउँदैछ । खुमलटारमा खुमल कम्प्लेक्सको वृहत् सुधार तथा सौन्दर्यकरण परियोजना, प्रस्तावित नार्क सेवा आयोग (हालको पदपूर्ति समिति) को भवन, ठूलो अडिटोरियम र क्याफेटेरियाको निर्माण पनि गरिने छ ।’

निर्देशक डा.ध्रुवराज भट्टराईले भने, ‘बाँझो जमिन सदुपयोग परियोजनाका लागि पहिले नार्कका फार्म केन्द्रहरुका बाँझो जमिनको उपयोग र विस्तारै गाउँगाउँका बाँझा जग्गाको उपयोगको लागि उपयुक्त प्रविधिको विकास र विस्तारलाई सघन रुपमा लैजाने योजना छ ।’

‘त्यसैगरी कागतीमा नेपाललाई आत्मनिर्भर बनाउँनका लागि नार्कले कागतीमा आत्मनिर्भर परियोजना अन्तर्गत नर्सरी व्यवस्थापन, जातीय विकास, गुणस्तरीय बेर्ना उत्पादन र नर्सरी सम्बन्धी तालीमका कार्यक्रम लागू गरिनेछ । तरकारी बालीमध्ये खेती गर्न सजिला तर ठूलो परिमाणमा आयात भइरहेका खुर्सानी, लसुन र प्याजमा प्रविधिको उत्पादन र विस्तारका लागि समेत नार्कले योजना निर्माण गर्दै कार्यान्वयन गर्ने तयारी नार्कले गरेको छ’, उनले भने ।

हाल कृषिमा फस्टाउँदै गरेका स्याउ, सुन्तला र ओखरको संघन खेती प्रविधि विकास र विस्तारमा पनि नार्कले योजनावद्ध ढंगले काम गर्ने बताइएको छ । धेरै उत्पादन र बिक्री हुने तरकारीहरु गोलभेंडा, काक्रोका बर्णशंकर वीउ उत्पादन प्रविधि मार्फत् गुणस्तरीय प्रजनन र मूल बीउको परिमाण बढाउने परियोजना लागू गर्ने तयारी गरीसकेको छ ।

त्यस्तै, पहाडी भेगमा यान्त्रीकरणको वृहत् अनुसन्धान परियोजना मार्फत् नार्कले पहाडका ससाना गराहरुमा उपयुक्त यान्त्रिक प्रविधिको विकास र विस्तारका कार्यक्रम लागू गर्ने जनाएको छ । बंगुर, स्याउ र अलैंचीको क्षेत्रमा कृषि मन्त्रालय र मातहतका निकायसँगको सहकार्यमा अनुसन्धान गर्नेछ । र विकासका परियोजना सञ्चालन गर्ने यस्तो सहकार्य बोयर बाख्रा र पंगास माछाको क्षेत्रमा पनि गरिने नार्कको भनाई छ ।

नार्कले जंगली जनावरबाट हुने वालीवस्तुको क्षति न्यूनीकरण गर्न उपयुक्त प्रविधिको विकास र विस्तारको लागि पनि रुपान्तरकारी योजना ल्याउने जनाएको छ । विशेषगरि स्थान विशेषमा रहेका बाँदर, बँदेल, निलगाई, सुगा, काग, जुरेली जस्ता जनावरबाट हुने क्षति रोक्न उपयुक्त यन्त्र र प्रविधि विकास गरिने समेत जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *