सहकारीपीडितले रविलाई समेत मुछेको उजुरी जिप्रकामा छाडे, प्रहरीले दर्ताबिनै अनुसन्धान गर्ने – Nepal Press

सहकारीपीडितले रविलाई समेत मुछेको उजुरी जिप्रकामा छाडे, प्रहरीले दर्ताबिनै अनुसन्धान गर्ने

उजुरीमा पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशको पनि नाम

पोखरा । पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत मुछिएको जाहेरी जिल्ला प्रहरी कार्यालय कास्कीमा छाडेर हिँडेका छन् । कास्की प्रहरीले जाहेरी दर्ता गरेको छैन ।

पुर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई पनि जाहेरीमा प्रतिवादी बनाइएको छ ।

सुर्यदर्शनका वचतकर्ताबाट १८ व्यक्ति र संस्थाविरूद्धको जाहेरी जिल्ला प्रहरी कार्यालयमा आएको डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

’१८ व्यक्ति, कम्पनी, सहकारीविरुद्ध उजुरी परेको छ । पहिलेदेखि नै सहकारीको मुद्दा चलिरहेकाले दर्ता गर्नु परेन । पुरक उजुरीका रुपमा अनुसन्धान गर्छौ,’ डीएसपी विकले भने ।

छानबिन समितिले तयार गरेको प्रतिवेदनका अनुसार जाहेरी बुझाएको सूर्य दर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए ।

’छानबिन समितिले तयार गरेको प्रतिवेदनका अनुसार जाहेरी बुझाएका हौं । अहिले सानो छानबिन गरेर ३÷४ दिनमा औपचारिकरुपमा छानबिन अगाडि बढाउने सल्लाह भएको छ,’ उनले भने,ञप्रतिवेदनमा भएका पैसा लगेर फिर्ता नगरेहरुलाई हामीले उजुरी दिएका हौँ ।’

प्रतिवेदनमा नाम उल्लेख भएअनुसार सबैलाई छानबिन गर्नुपर्ने संघर्ष समितिको माग छ ।

‘प्रतिवेदनका आधारमा पैसा बाहिर गएको देखिएको छ । पैसा कम्पनी बाहिर लगेको, बाहिर सहकारी गएको देखियो । ४ सय जनाले पैसा लगेको देखिन्छ । सबैलाई कानुनी दायरामा ल्याउनुप¥यो,’ संघर्ष समितिका संयोजक श्रेष्ठले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *