निलम्बनका लागि सिफारिस गरिएका असईलाई पुरस्कृत गर्नुपर्ने पक्षमा थिए एयरपोर्टका हाकिम – Nepal Press

निलम्बनका लागि सिफारिस गरिएका असईलाई पुरस्कृत गर्नुपर्ने पक्षमा थिए एयरपोर्टका हाकिम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागका कर्मचारीमाथी भएको हातपातमा त्यहाँ कार्यरत असई संजय तामाङलाई निलम्बन गर्न सिफारिस भएपछि राजीनामा बुझाएका डीआईजी अर्जुन चन्द पछाडि हटेका छन् ।

उनले प्रहरी प्रधान कार्यालसम्म पुगेको राजीनामा पत्र फिर्ता लिएर काममा फर्कन तयार भएको बुझिएको छ । आईजीपी बसन्त कुँवर र प्रशासन विभाग प्रमुख टेकप्रसाद राईसँगको भेटपछि चन्दले राजीनामा पत्र फिर्ता लिएका हुन् । यद्यपी उनलाई केही दिन बिदा बस्न प्रहरी प्रधान कार्यालय नेतृत्वले सुझाएको छ । चन्द आईजीपी कुँवरका भर्ना ब्याची हुन् ।

विमानस्थल स्रोतका अनुसार आफ्नो मातहतको कर्मचारीलाई निलम्बन गर्न सिफारिस भएपछि चन्द आक्रोसित थिए। कर्तव्य पालनका क्रममा असई तामाङ नेतृत्वको प्रहरी टोलीले अध्यागमन अधिकृत छायाँलाल मोक्तानमाथी गरेको व्यवहार उचित भएको चन्दको बुझाई रहेको विमानस्थल प्रहरी स्रोत बताउँछ ।

‘असई तामाङसहितका प्रहरीलाई पुरस्कृत गर्नुपर्छ भन्ने पक्षमा उहाँ हुनुहुन्थ्यो । उल्टै निलम्बन सिफारिस भएपछि आफ्नो कर्मचारीको प्रोटेक्सन गर्न सकिन भन्ने उहाँलाई लाग्यो होला’, विमानस्थल प्रहरी स्रोत भन्छ ।

सुरक्षा जाँचका क्रममा भएको विवादमा हात हालहालको अवस्था देखिएपछि गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएको थियो । समितिमा प्रहरीकै डीआईजी पनि सदस्य थिए । अध्यागमन अधिकृत मोक्तानलाई भने विमानस्थल अध्यागमनबाट सरुवा गर्नेसम्मको सिफारिस भएको बुझिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *