६ महिनामा साढे ३ हजार लागूऔषध कारोबारी पक्राउ – Nepal Press

६ महिनामा साढे ३ हजार लागूऔषध कारोबारी पक्राउ

काठमाडौं । अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने काठमाडौं सोह्रखुट्टेका मोहमद फाजिल र काठमाडौं दक्षिणकालीका शालोम सादा लेप्चा जैसी गाँजा, केक र कुकिजसहित पक्राउ परे ।

भारतीय नागरिक किम्रो साङ्गी अवैध लागूऔषध कोकिन एक किलो ९७३ ग्रामसहित पक्राउ परिन् । धादिङ कोइली खर्कका कान्छा तामाङ र भीम बहादुर तामाङ लागूऔषध चरेस २५ केजीसहित पक्राउ परे ।

मोहमद, शालोम, किम्रो, कान्छा र भीमबहादुर प्रतिनिधि पात्र मात्रै हुन् । लागूऔषध दुर्व्यसन र अवैध कारोबारमा संलग्न भई पक्राउ पर्ने उनीहरू जस्तै अभियुक्तको सूची प्रहरीसँग लामै छ ।

गाँजा, चरेस, अफिम, खैरो हेरोइन, नियन्त्रित पदार्थसमेतको अवैध कारोबारमा संलग्न अभियुक्त पक्राउ संख्या बढ्नुको प्रमुख कारण प्रहरी सक्रियता, प्रभावकारी अभियान र नागरिकसँगको सहकार्य नै रहेको प्रहरी प्रधान कार्यालयको दाबी छ ।

विश्वव्यापी समस्याको रूपमा रहेको लागूऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार यसको प्रयोग बढ्नाले सामाजिक, सांस्कृतिक, आर्थिक लगायत शान्ति सुरक्षामासमेत नकारात्मक प्रभाव परेको छ ।

यसैले विद्यमान कानुनको कार्यान्वयन गर्दै प्रहरी लागूऔषध कारोबार र दुर्व्यसन नियन्त्रण गर्न सक्रिय रहेको प्रहरी प्रवक्ता ढकालले बताए । उनका अनुसार प्रहरीले अनुसन्धान, संलग्नलाई पक्राउ तथा कानुनी कारबाही गरिरहेको छ ।

उनले भने, ‘लागूऔषधको प्रकोपबाट धेरै युवा कुलतमा फसेर आफ्नो ऊर्जाशील व्यक्तित्व ह्रास भइरहेको वर्तमान परिप्रेक्ष्यमा यसको विरुद्ध सबै एकजुट हुन आवश्यक छ । यसको नियन्त्रणका लागि विद्यमान कानुनमा समयसापेक्ष परिमार्जनको साथै सरकारको एकल पहल मात्र नभई सबै क्षेत्रबाट पहल कदमी लिनुपर्ने देखिन्छ ।’

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार देशभर चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा लागूऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न ३ हजार ४५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये २ हजार ७५८ जना नेपाली पुरुष, एक सय ४४ जना नेपाली महिला, एक सय ३३ जना विदेशी पुरूष र १० जना विदेशी महिला रहेका छन् । यीमध्ये १ हजार ९६० मुद्दा दर्ता भएका छन् ।

पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, पोल्याण्ड र अन्य नियन्त्रित औषधि जस्ता लागूऔषध सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका छन् । उनीहरूबाट गाँजा आठ हजार ३२० केजी, चरेस ३०८ केजी, हेरोइन १० केजी, अफिम २७ केजी, कोकिन तीन केजी र पोल्याण्ड ३२६ ग्राम प्रहरीले बरामद गरेको छ ।

यसैगरी डाईजेपाम २३ हजार ५ एम्पुल, फेनारगन २७ हजार १३४ एम्पुल, ब्रुफिनुर्फिन १९ हजार ६७४ एम्पुल, लुपिजेसिक १ हजार ४१५ एम्पुल, नाईट्राभेट ६३ हजार ५४७ ट्याब्लेट, स्पास्मो ११ हजार ७२, कोरेक्स ६ हजार ५७१, एभिल ७ सय ३३, ट्रामा ४६ हजार ५९, प्रोमिथाईजिन ४ हजार ७६२, अन्य एम्पुल ६ हजार ४८२, अन्य ट्याब्लेट १ हजार ५५८ र आइस २ ग्रामसमेत बरामद भएको छ ।

यस आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा मधेश प्रदेशबाट सबैभन्दा धेरै लागूऔषध गाँजा ३ हजार ८९१ केजी बरामद भएको छ । सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा धेरै ६६ केजी चरेस बरामद भएको छ । साथै कोशी प्रदेशबाट पाँच केजी हेरोइन, लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै २० केजी अफिम तथा लागूऔषध नियन्त्रण ब्यूरोबाट एक केजी कोकिन बरामद भएको छ ।

लागूऔषध सेवनले सेवनकर्तालाई मात्र नभएर परिवार, समाज र देशलाई नै प्रत्यक्ष प्रभाव पारिरहेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार कालान्तरमा यसले परिवार, समाज र देशलाई नै नकारात्मक असर पार्छ ।

राष्ट्रिय रूपमा राज्यको सम्पत्ति अनुत्पादक क्षेत्रमा खर्च भई राष्ट्रलाई ठूलो नोक्सान हुने तथा ऊर्जाशील जनशक्ति गलत बाटोमा लाग्दा राष्ट्रलाई दूरगामी प्रभाव पारिरहेको प्रहरी प्रवक्ता डीआईजी ढकालले बताए ।

उनले भने, ‘लागूऔषध कारोबार अन्तर्राष्ट्रिय समस्या हो । गलत मनसायका व्यक्तिले अर्थोपार्जनको उद्देश्यले लागूऔषध ओसारपसार गरिरहेको देखिन्छ । आजकल नयाँ विधि र शैली अपनाई कारोबार हुने गरेको छ । सामाजिक समस्याको रूपमा रहेको लागूऔषध नियन्त्रणमा पछिल्लो समय प्रहरी सक्रियताका कारण धेरै ठूलो संख्यामा अपराधी पक्राउ परेका हुन् । प्रहरी जाँच, कानुनी कारबाहीमा कडाइ, नयाँ प्रविधिको प्रयोगका कारण कारोबारी निरुत्साहित भएका छन् ।’

परिवारका सदस्य पनि आफ्ना बालबालिकाको क्रियाकलापबारे सचेत हुन आवश्यक रहेकोमा प्रहरीले जोड दिएको छ । युवा वर्ग भविष्यप्रति सचेत भई यसको सेवनबाट टाढा रहनुपर्ने पनि प्रहरीको भनाई छ । नेपाल प्रहरीले लागूऔषध प्रयोग र कारोबार हुने ठाउको पहिचान गरी त्यस्ता ठाउँमा कारबाही तीव्र पार्नुका साथै जनचेतनामूलक कार्यक्रम गरिरहेको प्रहरी प्रवक्ता डीआईजीपी ढकालले बताए ।

उनका अनुसार प्रहरीका साथै अन्य सरकारी तथा गैरसरकारी संघ संस्था, सरोकारवाला निकाय र आम नागरिक मिलेर सक्रिय हुँदै कामप्रति समर्पित हुन सके यस्ता अपराध नियन्त्रणमा थप सफलता मिल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर