अघि बढ्ने भयो गौतमबुद्ध क्रिकेट रंगशालाकाे काम, बागमती प्रदेशले ७५ कराेड दिने – Nepal Press

अघि बढ्ने भयो गौतमबुद्ध क्रिकेट रंगशालाकाे काम, बागमती प्रदेशले ७५ कराेड दिने

चितवन । बागमती प्रदेश सरकारले भरतपुरमा रहेको गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको लागि लागतको ७० प्रतिशत रकम दिन स्रोत सुनिश्चितताको निर्णय गरेको छ ।

बागमती प्रदेशको मन्त्रिपरिषद्को आज बसेको बैठकले भरतपुर महानगरपालिकाले चितवनमा बनाउन लागेको क्रिकेट रंगशालाको लागि लागत अनुमान गरेअनुसार कुल खर्चको ७० प्रतिशत रकम अनुदान दिने निर्णय गरेको हो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीका अनुसार प्रदेश मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्षमा पुग्ने बजेट यही वर्ष र अपुग बजेट आगामी आर्थिक वर्षबाट पुर्‍याउने गरी बजेट विनियोजन गर्ने निर्णय गरेको हो ।

उनले भरतपुर महानगरले लागत अनुमानसहित पेश गरेको बजेट मागबमोजिम कुल खर्चको ७० प्रतिशत अर्थात् ७५ करोड रकम अनुदान दिने निर्णय गरिएको जानकारी दिए ।

भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच दशैँ अगाडि भएको बैठकमा रंगशालामा ५ हजार दर्शक अट्नेगरि निर्माण गर्न लाग्ने लागतको ७० प्रतिशत रकम बागमती प्रदेश सरकार र बाँकी महानगरले व्यहोर्ने सहमति भएको थियो । यद्यपि स्रोत सुनिश्चितता हुन नसक्दा निर्माणको अन्य काम भने अघि बढ्न सकेको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *