जबजबारे घनश्यामको टिप्पणी- त्यसबेला संसदीय चुनावमा भाग लिन्छौं भन्ने घोषणामात्रै थियो (भिडिओ)
काठमाडौं । नेकपा एकीकृत समाजवादीमा जनताको बहुदलीय जनवाद (जबज)को विषयलाई लिएर बहस चलिरहेको छ । एमालेबाट अलग भइसकेपछि सम्मानित नेता झलनाथ खनाल अब जबज छाडेर अघि बढ्नुपर्ने पक्षमा छन् । तर, अध्यक्ष माधव नेपालले जबज छाड्ने कुरा स्वीकार्य नहुने बताउँदै आइरहेका छन् ।
अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच जबजको विषयलाई लिएर मतभेद चर्किरहेको बेलामा महासचिव भुसालले मुख खोलेका छन् ।
‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठीमा बोल्दै उनले जबज संसदीय चुनावमा भाग लिन्छौं भनेर गरिएको घोषणाबाहेक केही नभएको टिप्पणी गरे ।
उनले भने, ‘२०४८ सालमा नेपालको क्रान्तिकारी पार्टीले बनाएको भनिएको माओवादी अहिले पनि छ । अनि त्यसले आजको गणतन्त्रको नेतृत्व गर्न खोजेको छ । त्यसले गणतन्त्र ल्याउँछु आदि इत्यादि त्यो सबै आइसकेपछि पनि अब यो संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासलाई २०८४ सालको माओवादले मार्गनिर्देशित गर्छ कि गर्दैन ? ठ्याक्कै त्यस्तै छ । नेकपा एमालेले जनताको बहुदलीय जनवादको आधारमा समाजवाद बनाउने भनेको छ । जबजको के हो भन्दै त्यतिवेलाको परिस्थिति पनि त्यस्तै थियो सारमा भन्ने हो भने कम्युनिष्टहरुले संसदीय चुनावमा भाग लिन्छौं भन्ने घोषणा हो। जबज भनेको त्यति हो त्यतिखेर त्यो पार्टीका लागि आवश्यक थियो एमालेका लागि । संसदीय चुनावमा भाग लिन्छौं भनेर २०४९ सालमा भनिएको सिद्धान्त आज पनि त्यही सिद्धान्त छ ।’
उनले त्यही विचारलाई यथावत् राखेर नै लिडरसिपमा रहिरहने नीतिको कारणलेसंघीय लोकतान्त्रिक गणतन्त्रले राम्रोसँग अघि बढ्न नसकेको बताए। उनले हरेक राजनीतिक दल सफल भएको भए देश कसरी असफल भयो भन्दै प्रश्न गरे ।
उनले थपे, ‘कांग्रेस, एमाले, माओवादी, समाजवादी सबै सफल हुने अनि देश चाहिँ असफल हुने ? दल भनेको अब करिब करिब पार्टी नेताहरूको गुटमा परिणत भइसकेका छन् । अनि हरेक पार्टीको औपचारिक कुरा के हो भन्दा आफ्नो पार्टीको नेता सफल भएकै हुनाले नेता भयो । देश चाहिँ असफल भइराख्ने ? नेता चाहिँ सफल भइराख्ने, देश चाहिँ असफल भइराख्ने, पार्टी चाहिँ सफल हुने ? यो अन्तरविरोध कहाँ हो ? के हो ?’
गैरजिम्मेवार र विचारविहीन ।