ट्राफिक कारबाहीमा १० लाख सवारी, करिब ८० करोड राजश्व संकलन – Nepal Press

ट्राफिक कारबाहीमा १० लाख सवारी, करिब ८० करोड राजश्व संकलन

काठमाडौं उपत्यकामा मात्रै ३२ करोड ३३ लाख ७० हजार संकलन

काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै साढे १० लाख सवारीमाथी भएको ट्राफिक कारवाहीबाट पौने ८० करोड राजश्व संकलन भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनमाथीको ट्राफिक कारवाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रूपैयाँ राजश्व संकलन भएको हो ।

उक्त राजश्वमध्ये काठमाडौं उपत्यकाबाट मात्रै सबैभन्दा बढी ३२ करोड ३३ लाख ७० हजार संकलन भएको प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) भिमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार दोस्रोमा मधेश प्रदेशबाट १० करोड ५ लाख ५८ हजार ९०१, लुम्बिनी प्रदेशबाट नौ करोड ३८ लाख ६४ हजार दुई राजश्व संकलन भएको छ ।

यस्तै गण्डकी प्रदेशबाट आठ करोड १८ लाख ७६ हजार ६, बागमती प्रदेशबाट सात करोड ८८ लाख ४० हजार, कोशी प्रदेशबाट सात करोड ८७ लाख दुई हजार ९४३, सुदूरपश्चिम प्रदेशबाट दुई करोड ४२ लाख ८८ हजार र कर्णाली प्रदेशबाट एक करोड ५६ लाख ४५ हजार रूपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार ५४६, ट्रक, ट्याङकरबाट १५ करोड १९ लाख ९५ हजार ४००, बस, कार, जिप, भ्यानबाट १८ करोड ९० लाख ७६ हजार ८०६, मिनिबसबाट नौ करोड २० लाख ५००, ट्याक्टरबाट दुई करोड ८८ लाख १६ हजार र टेम्पो तथा अन्य सवारीबाट दुई करोड ५३ लाख २१ हजार ६०० रूपैयाँ राजश्व संकलन भएको हो । राजश्व रकममध्ये सबै भन्दा बढी काठमाडौं उपत्यकामा र सबै भन्दा कम कर्णाली प्रदेशमा रहेको छ ।

जसमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमता भन्दा बढी राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएका लगायतका कारवाही गरेबापत उक्त रकम राजश्व संकलन भएको प्रहरी प्रवक्ता डीआईजीपी ढकालले बताए ।

उनले भने, ‘प्रहरीले जरिवाना मात्र गर्दैन । सकभर कारवाही नहोस् भन्ने चाहन्छ । यसका लागि सचेतना अभियान, सवारी नियम उल्लंघन गर्नेलाई नियमित अनिवार्य कक्षा संचालन लगायतका जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गर्दै आएका छौं । सुरक्षित र मर्यादित सडकको प्रयोग गर्दै सवारी आवागमनलाई व्यवस्थित गर्न विभिन्न प्रविधिहरूको समेत प्रयोग गर्ने गरिएको छ ।’

यसै अवधिमा कारवाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये मोटरसाइकल चार लाख ३२ हजार ९८ वटा, कार, जिप तथा भ्यान दुई लाख ६१ हजार ६३६ वटा, ट्रक, ट्याङकर एक लाख ७० हजार ८४२ वटा, बस तथा मिनिबस एक लाख नौ हजार ३७७ वटा, ट्याक्टर ४१ हजार ६४१ वटा, र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा रहेका छन् । कारबाहीमा परेका सवारी साधनमध्ये सबै भन्दा बढी मोटरसाइकल रहेका छन् ।

ट्राफिक व्यवस्थापनलाई चुस्त पार्दै दुर्घटना कम गराउन ट्राफिक प्रहरीले दक्ष जनशक्ति र साधनस्रोतको उचित प्रयोग गर्दै काम गरिरहेको प्रहरीले जनाएको छ । प्रचलित कानून तथा संगठनिक नीति अनुरूप प्रहरीले सरोकारवाला निकायसँग समन्वय गर्दै सुरक्षित यात्राका लागि प्रभावकारी अभियान संचालन गर्दै आइरहेको प्रहरी प्रवक्ता डीआईजीपी ढकालले बताए ।

तथापि दैनिक रूपमा सवारी नियम उल्लंघनमा सवारी चालक फेला पर्ने गरेका छन् । ट्राफिक प्रहरीले सवारी चेकजाँचको क्रममा सवारी नियम उल्लंघन गर्नेलाई कारवाही तथा जरिवानाबाट राजश्व संकलन गर्दै आएको छ ।

प्रहरी प्रवक्ता ढकालले भने, ‘कानून कार्यान्वयनमा कठोरतापूर्वक लागेका छौं । सडक सुरक्षालाई प्राथमिकता राखेका छौं । प्रहरीको आचरण र व्यवहारमा शिष्टता कायम गर्न तल्लीन छौं । नेपाल प्रहरीले ट्राफिकबाट मात्र नभई राज्यको कानून कार्यान्वयनको क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छलि लगायतका कार्यबाटसमेत राजश्व संकलन गरी वार्षिक रूपमा ठूलो परिमाणमा राजश्व संकलन गर्दै आएको छ ।’

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ बमोजिम कसूर अनुसार ५०० रूपैयाँदेखि ट्राफिक प्रहरीले कारबाही गर्न सक्ने व्यवस्था रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *