स्टार्टअप कर्जा आजबाट कार्यान्वयनमा, ३ प्रतिशत ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकबाट पाइने – Nepal Press

स्टार्टअप कर्जा आजबाट कार्यान्वयनमा, ३ प्रतिशत ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकबाट पाइने

काठमाडौं । स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैंकले दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको उपस्थितिमा स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता भएको छ ।

यो समझदारीसँगै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैंकले दिने भएको हो । उद्योग मन्त्री रमेश रिजालले वाणिज्य बैंकलाई ऋण डुब्ने परियोजनामा लगानी नगर्न सचेत गराएका छन् ।

अब राष्ट्रिय वाणिज्य बैंकले परियोजनाको प्रकृतिको आधारमा अधिकतम २५ लाख रुपैयाँ सम्म स्टार्टअप उद्यम कर्जा प्रदान गर्नेछ । बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना नै धितोको रूपमा राख्नेछ । त्यस्तो व्यवसाय वा परियोजनाको बीमा उद्यमी आफैले गर्नु पर्नेछ ।

कृषि तथा पशुपन्छीसँग सम्बन्धित, बन पैदावारसँग सम्बन्धित, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित, विज्ञान, प्रविधि, सूचना तथा सञ्चारसँग सम्बन्धित, मानव स्वास्थ्य सेवासँग सम्बन्धित, शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित, अटो मोबाइल सम्बन्धित, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाहको प्रक्रिया सुधारसँग सम्बन्धित, घरायसी वा दैनिक जीवनयापनसँग सम्बन्धित, खाद्य उत्पादन तथा प्रशोधनसँग सम्बन्धित, सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित क्षेत्रले स्टार्टअप कर्जा पाउनेछन् ।

यस समझदारी पत्रको अवधि २०८० माघ महिना २४ गतेबाट लागू भएको छ ।


प्रतिक्रिया

2 thoughts on “स्टार्टअप कर्जा आजबाट कार्यान्वयनमा, ३ प्रतिशत ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकबाट पाइने

  1. यो कर्जा लिन के के चाहिन्छ ?मलाइ कृषिफोर्म्को लागि लोन चाहिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *