सेवाग्राहीसँग पनि पार्किङ शुल्क लिँदै धनगढी उपमहानगर, विद्युतीय सवारी चार्ज गर्नेलाई दोहोरो मार – Nepal Press

सेवाग्राहीसँग पनि पार्किङ शुल्क लिँदै धनगढी उपमहानगर, विद्युतीय सवारी चार्ज गर्नेलाई दोहोरो मार

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले आफ्नो कार्यालयमा आउने सेवाग्राहीलाई पनि पार्किङ शुल्क पर्ने गरी ठेक्का आह्वान गरेको छ ।

उपमहानगरपालिकाको दक्षिण क्षेत्रतर्फको मूल गेट बाहिरको खाली क्षेत्रमा सवारी पार्किङ शुल्क लगाउँदा सेवाग्राही पनि मारमा पर्नेछन् । गेट बाहिरको दायाँतर्फ निःशुल्क राखेर बायाँपट्टि शुल्क निर्धारण गर्ने गरी उपमहानगरपालिकाले ठेक्का आह्वान गरेको हो । ठेक्काको न्यूनतम मूल्य दुई लाख तोकिएको छ ।

सूचनाअनुसार ठेक्का कबुल गरेको संस्थाले शौचालयमा पिसाब गरेको पाँच र शौच गरेको १० रुपैयाँ, मोटरसाइकल पार्किङ गरेको १०, तीनपाङ्ग्रे सवारीको २० र मिनी बस ३० रुपैयाँ प्रतिघन्टा शुल्क उठाउन पाउने सर्त राखिएको छ । पार्किङ क्षेत्रमा ठूला सवारीसाधन बस, ट्रक र टिपर भने राख्न नपाइने सूचनामा उल्लेख छ ।

सूचनाको चौथो नम्बर बुँदामा चार्जिङ गर्ने प्रयोजनका लागि आउने सवारीसाधनबाट पनि पार्किङ शुल्क उठाउन पाइने बताइएको छ । यसरी विद्युतीय सवारी चार्ज गर्नेहरूले चार्ज गरेबापत विद्युत प्राधिकरणलाई र राखेबापत नगरपालिकालाई गरी दोहोरो शुल्क तिर्नुपर्ने देखिएको छ ।

‘विद्युतीय सवारी चार्जको युनिट हेरेर विद्युत प्राधिकरणले नै लिन्छ । शुल्क निर्धारण गरिएको क्षेत्रमा सवारी राखे ठेक्का पाएको व्यक्तिले रकम लिन्छ’, राजस्व शाखाका प्रमुख लेखनाथ अधिकारीले भने ।

सवारी चार्ज गर्दा विद्युत प्राधिकरणलाई र चार्ज गर्न राखेबापत ठेकेदारलाई रकम दिने कुरा न्यायोचित नभएको गुनासो आइरहेको छ ।

‘चार्ज गर्न आउनेहरू पार्किङ गर्न आएका होइनन् । उनीहरू त चार्ज गर्न आएका हुन् । उनीहरूसँग पनि पार्किङ शुल्क लिने कुरा ठीक भएन’, विद्युतीय सवारी चार्ज गर्न आएका एक सवारी धनीले भने, ‘यो त सबैतिरबाट हामीलाई मार पारे जस्तो भयो ।’

उनले नजिकै रहेको हाटबजारमा आउनेहरू पनि सवारी लिएर आउने र उनीहरूलाई पनि त्यो स्थानमा राख्दा रकम लिने कुरा ठीक नभएको बताए ।

नगरपालिकाले पार्किङ शुल्क निर्धारण गरेको ठाउँमा यसअघि गौरा खेललगायतका कार्यक्रम हुँदै आएको थियो । अब त्यो ठाउँमा उपमहानगरपालिकाले सार्वजनिक शौचालयसहित पार्किङ र चमेना गृह निर्माण गर्ने भएपछि गौरालगायतका सांस्कृतिक कार्यक्रम गर्न समस्या हुने स्थानीयको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *