फलोअप : गोदावरी नदीमा अवैध उत्खनन गर्ने सवारीलाई ६ लाख बढी जरिवाना – Nepal Press

फलोअप : गोदावरी नदीमा अवैध उत्खनन गर्ने सवारीलाई ६ लाख बढी जरिवाना

कैलाली । कैलाली गोदावरी नगरपालिकाका तीन वटा नदीमा वातावरणलाई नै प्रभाव पार्ने गरी प्राकृतिक स्रोतको दोहन गर्ने सवारीलाई ६ लाख बढी जरिमाना गराइएको छ ।

जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खगराज भुसालले नियन्त्रणमा लिइएका १९ सवारी साधन बाट ६ लाख ९ हजार जरिमाना गराइएको जानकारी दिए ।

केही दिन अघि १० टिपर, ३÷३ वटा ट्याक्टर, जेसीबी र एक्स्काभेटर नियन्त्रणमा लिएको हो । नदीबाटै नियन्त्रणमा लिएका ती साधन स्थानीय प्रशासनको जिम्मा लगाइएको थियो ।

आज नदीजन्य पदार्थको जिल्ला अनुगमन समितिले जेसीबी र स्काभेटरलाई ५०÷५० हजार, टिपरलाई ३० हजार र ट्याक्टरका दरले जरिमाना लगाएको कार्यवाहक प्रमुख भुसालले जानकारी दिए ।
आइतबार गोदावरी नगरपालिकाको खुटिया, खैराना र गोदावरी नदीको ढुङ्गा गिट्टी बालुवाको नियम विपरीत उत्खनन भएपछि जिल्लास्थित नदीजन्य पदार्थ अनुगमन समितिले ती सवारी नियन्त्रणमा लिएको थियो ।

नदीजन्य पदार्थको प्रायजसो सङ्कलनको ठेक्का गरिन्छ तर सूचना प्रकाशित गर्दा पनि टेन्डर नपरेको भन्दै गोदावरी नगरपालिकाले गत वर्षदेखि नै आफै अमानतमा तीन वटै नदीबाट नदीजन्य स्रोत सङ्कलन गरी बिक्री गरिरहेको थियो । खैराना खोलामा नदीको बिचमा ठुला ठुला खाल्टा हुने गरी उत्खनन गरिएको छ भने बस्तीतिर रहेको नर्सरीभित्र पनि उत्खनन गरिएपछि त्यहाँका जनता नदी गाउँ पस्ने चिन्तामा छन् ।

आज ठूला ठूला खाल्टा पुर्न पनि निर्देशन दिइएको कार्यवाहक प्रमुख भुसालले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, बन र आन्तरिक राजश्वका प्रमुख सहित गोदावरी नगरपालिकाका मेयर,उपमेयर कार्यकारी प्रमुख र इन्जिनियरको उपस्थितिमा सवारीलाई जरिमाना तोक्ने र खाल्डाहरू पुर्ने सहमति भएको हो ।

गोदावरीका मेयर वीरेन्द्र भट्टले आफूहरूले अनुगमनमा चासो नदिँदा समस्या भएको स्वीकार गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *