फलोअपः मसानघाटको बेचिएको डेढ बिगाहा जग्गा सार्वजनिक गर्ने प्रशासनको निर्णय, संलग्न सबैलाई कारबाही गरिने
रुपन्देही । रुपन्देहीको भैरहवामा मसानघाट क्षेत्र बेचेर कमाउने विचौलिया कानूनी दायरामा आउने भएका छन् । सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाएको समाचार प्रकाशन भएपछि अनुसन्धान थालेको प्रशासनले त्यो गलत ‘कदमविरुद्ध एक्सन’ लिएको हो ।
सिद्धार्थनगर नगरपालिका वडा नं १० स्थित डेढ बिगाहाभन्दा धेरै क्षेत्रफलको जग्गा सार्वजनिक नै कायम गर्ने निर्णय भएपछि विचौलियाको योजना अब असफल भएको छ । नेपाल प्रेसले यो समाचार असोज ९ गते समाचार प्रकाशन गरेको थियो । जिल्ला प्रशासन कार्यालयले आवश्यक छानबिन र अनुसन्धानपछि व्यक्तिका नाममा नामसारी गरिएको सो जग्गा सार्वजनिक कायम गर्ने निर्णय गरेको हो ।
यो विषयमा निर्णय गरेर बिहीबार जिल्ला प्रशासन कार्यालयले आवश्यक छानबिन र अनुसन्धानपछि व्यक्तिका नाममा नामसारी गरिएको सो जग्गा सार्वजनिक कायम गर्ने निर्णय गरेको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यसबारे जिल्ला प्रशासन कार्यालयले बिस्तृत रुपमा छानविन गरेपछि उक्त जग्गा सार्वजनिक नै भएको ठहर गरिएको बताएका छन् ।
उनले भने, ‘सार्वजनिक जमिनलाई व्यक्तिको नाममा गराउने कार्यमा संलग्न व्यक्ति तथा पदाधिकारीहरुलाई कारबाही गर्न गराउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने निर्णय पनि बुधवार गरिएको छ, यो प्रकरणमा संलग्न सबैलाई तत्काल पक्राउ गर्न पनि निर्देशन दिइएको छ ।’
यसैगरी व्यक्तिको नाममा लगिएको जग्गा सार्वजनिक कायम गर्दै संलग्न सबैलाई पक्राउ गर्न निर्देशन भएसँगै यो विषयमा जोडिएका कर्मचारीसमेत भागाभागमा परेका छन् । सरकारी कर्मचारीसमेत संलग्न भएपनि अनुसन्धान प्रभावित हुने भएकाले प्रशासनले यो विषयलाई प्रशासनले अझै गोप्य राखेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै घाँघरा खोला छेउमा रहेको साविक भुजौली ७ (क) को कित्ता नम्बर ६१ को सार्वजनिक जग्गा अर्घाखाँचीको साविक मैदान गाविस–५ बस्ने फर्शुराम घिमिरेको नाममा दर्ता भएको थियो । घिमिरेको जग्गाधनी पुर्जा २०७० सालमा जारी गरिएको देखिए पनि मालपोतबाट भने २०७१ सालमा घिमिरेका नाममा दर्ता गरिएको थियो ।
प्रजिअ अर्यालका अनुसार उक्त जग्गा अब बाँकी दर्ता प्रक्रिया अगाडि नबढाउन र स्वामित्व (सार्वजनिक) यथास्थितमै राखी कुनै व्यक्ति तथा संघसंस्थाको नाममा स्वामित्व कायम हुने गरी थप श्रेस्ता कायम नगर्न, जग्गा धितो, रजिष्ट्रेशन, अंशबण्डा लगायतका कारोबार नगर्न मालपोत कार्यालयहरुलाई पत्राचार गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
याे पनि पढ्नुस्: कर्मचारीको सेटिङमा भू-माफियाले बेचे मसानघाटको डेढ बिगाहा जग्गा
सार्वजनिक जमिनलाई संरक्षणकालागि तारबार गरी छुट्याउने, सर्वसाधारणले देख्ने गरी ‘सार्वजनिक जग्गा’को सूचना पाटी राख्न लगाउनेलगायतका संरक्षणात्मक कार्य गर्न सिद्धार्थनगर नगरपालिकालाई लेखी पठाउनेसमेत निर्णय भएको प्रजिअ अर्यालले बताए ।
मालपोत कार्यालय बुटवलबाट ०७१ सालमा उक्त जग्गा घिमिरेका नाममा कम्प्युटरमा दर्ता भएको पाइएको थियो । घाटको जग्गा व्यक्तिका नाममा गएको जानकारी पाएपछि स्थानीयले विभिन्न ठाउँमा उजुरी परेको थियो । १ बिघा ११ कट्ठा ५ धुर क्षेत्रफल रहेको उक्त जमिनमा स्थानीय बासिन्दाले पितृ बिसर्जन स्थल (संसान घाट) को रुपमा प्रयोग गर्दै आएका थिए ।
त्यो जग्गा ४ नं वडामा रहेको आमा समूहले संरक्षण गरेको हो, संरक्षण पनि आमा समूहले गरेको छ, कागजपत्र पनि आमा समूहकै नाममा छ, यो जग्गा रोक्न सिडिओ कार्यालय, मालपोत कार्यालयमा धर्ना दिएका थिए । स्थानीयले कसरी भयो, ८ वर्षको तिरो ०७९÷८० को तिरो वडा नं १० मा एकमुष्ट तिरिएको छ, यो कसरी भयो ? भनेर पहिलेबाटै प्रश्न गरेका थिए ।
सार्वजनिक जग्गा हडपेर व्यक्तिको नाममा बनाइएको सूचना मिडियाले सार्वजनिक गरेपछि प्रशासनबाट नै रोकिएको सिद्धार्थनगर नगरपालिका वडा नं ४ का अध्यक्ष तथा प्रवक्ता भोला यादव बताउँछन् । उनले यसमा संलग्नलाई कडा कारबाही हुनुपर्ने बताए । ‘प्रशासनको निर्णयलाई धन्यवाद दिर्दै यसमा प्रशासन, मालपोत, नगरपालिका सबै समन्वय गरेर दर्ता प्रकृयामा संलग्नलाई कारबाहीको माग गर्दछु’ उनले भने ।