सूर्य थापाको ‘स्वतन्त्रता संग्राम’भित्र पस्न खोज्दा
म आफैं कति वामपन्थी छु, कति कम्युनिष्ट छु, कुन परिभाषाको कम्युनिष्ट छु ? मार्क्सवादी, लेनिनवादी र माओ विचारधाराको परिभाषाभित्र पर्छु कि पर्दिनँ ? त्यो आज मैले आफूले मात्र दाबी गरेर दुनियाँले पत्याउँदैन । तथापि म आफूलाई मार्क्सवादी, लेनिनवादी र माओ विचारधाराको अनुयायी भन्ने गर्छु । तर, मेरो दैनिकी, मेरो व्यवहार, आचरण र यावत् काम कारबाही तदनुरूपका छन् कि छैनन् ? वस्तुतः तिनले निर्धारण गर्छन् ।
वास्तवमा म को हुँ ? आजको युग पहिलेको जस्तो छैन । धेरैतिर नक्कलीको बिगबिगी छ । सक्कलीहरू नक्कलीहरूबाट विस्थापित भइरहेका छन् । केही वर्षदेखि मेरो जीवनगति कार्यकर्ता शैलीको छैन । भाषण गर्न र अलिअलि लेख्न, अनि अलिअलि पढ्न खोज्छु । काम भने ढलेको लोटा उठाउन पनि मुस्किल छ, जिउले दिँदैन । मनले काम गर्न आदेश दिन्छ, परन्तु शरीरले काम गर्न दिँदैन । पार्टीका नेताहरू कार्यकर्ताहरूलाई जनतामा जाने, जनताको काम गर्ने आदेश दिन्छन्, सल्लाह दिन्छन् । तर, कार्यकर्ता मान्दैनन्, जनतामा जाँदै जाँदैनन् । यसरी जनतामा नजाने कार्यकर्तालाई नेतृत्वले पनि केही कारबाही गर्न सक्दैन । किनभने नेता नहुँदासम्म ऊ पनि त्यस्तै थियो । यो गुह्य दुवैथरिलाई थाहा छ ।
आज नाम छ ठूल्ठूलो । तर, काम सानो पनि छैन । पार्टीको जिम्मेवारी पूरा नगरे पनि ठूल्ठूलो दायित्व पाउने गरेको सबैले देखेकै छन् । यो यथार्थ भोलिको केको सङ्केत हो ? किटान गर्न सकिँदैन । परन्तु शुभलाभको पूर्व सङ्केत भने अवश्य होइन । यो हो वर्तमानप्रतिको मेरो ठम्याइ । आजको यस्तो अनिश्चयको समयमा एक दिन एक जना औपचारिक कम्युनिष्टले प्याट्ट भने- ‘दाइ, मैले एउटा किताब लेखेको छु । यसो सरसर्ती हेरेर केही लेखिदिन सकिन्छ ?’ मैले पनि फ्याट्टै भनें- ‘हुन्छ, ल्याइदिनोस् न !’ मलाई भन्ने कामरेड हुन्- नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिटव्युरो सदस्य युवा सूर्य थापा । एकथरि लेख्छु भन्छन् । तर, लेख्दैनन् । पठाउँछु भन्छन्, पठाउँदैनन् । सूर्य थापा पनि त्यही दर्जाका होलान् भनी हुन्छ भनिहालें । तर, उनी रहेछन् अलिक फरक प्रकृतिका । एक दिन अकस्मात टुपुल्किए ३१६ पृष्ठको ‘स्वतन्त्रता सङ्ग्राम’ नामक पुस्तकको पाण्डुलिपि लिएर !
गाउँको ठिटो
को हुन् त सूर्य थापा ? जिज्ञासा भो अनि टेलिफोनमा बयान लिएँ उनीसँग । नभन्दै सूर्य थापा ४९ वर्षअघि वि.सं. २०३१ साउन ८ गते प्यूठान जिल्लाको रमणीय गाउँ सौतामारेस्थित काभ्रेखोलामा जन्मिएका रहेछन् । उनको घरनजिकै अवस्थित गुल्मी, अर्घाखाँची र प्यूठानको संगमस्थल ‘सानीपोखरी’मा २०४४ सालमा म प्यूठानको सदरमुकाम खलंगाबाट हिँडेरै पुगेको रहेछु ! त्यहाँ २ सेकेण्डमै बुर्लक्क उफ्रेर तीन जिल्ला टेक्न पाएकोमा म औधी पुलकित र हर्षित भएको सम्झिएँ । सूर्य उनका बुबाआमाका तेस्रो छोरा रहेछन् । त्यसैले सानो छँदा उनलाई ‘साइँला’ भनिँदो रहेछ । ‘साइँलो’ भनेपछि कम्तीमा चार भाइ त भए नै । दिदीबहिनी कति जना छन् खोजीनीति गरिनँ । अनुमान गरें- ४९ वर्षअघिसम्म सूर्यको गाउँतिर परिवार नियोजन पुगेको रहेनछ ! व्यक्तिगत जानकारीकै क्रममा शिक्षा या साक्षरता कहाँ भन्ने बुझ्न खोजें । सौतामारेमै अमरसिंह प्रावि (हाल मावि) रहेछ । प्राथमिक शिक्षा त्यही पढेछन् । हाइस्कुल भने छिमेकी जिल्ला अर्घाखाँचीको रतनमारे भन्ने ठाउँबाट २०४७ मा पूरा गरेछन् । सूर्य थापाले समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्म नै औपचारिक शिक्षोपार्जन गरेछन् ।
‘स्वतन्त्रता सङ्ग्राम’भित्र पस्न खोज्दा अनेक परिदृश्य देखापरे । पुराना घटना सम्झँदा यस्तै केके विगत सल्बलाउँछन् क्यार ! सूर्य थापालाई पनि सोध्न मिल्छ होला । सूर्यजी ? तपाईंको राजनीतिक विश्लेषणमा २०६३ को जनसङ्ग्राम नै अन्तिम हो त ? हो भन्नुहुन्छ भने म तपाईंसँग सहमत हुन सकिनँ, माफ गर्नुहोला । अब हुने जनसङ्ग्राम, युद्ध वा स्वतन्त्रता सङ्ग्राम पनि अन्तिम हुँदैन कि भन्ने प्रश्न मनमा अकस्मात् टुसाउन लाग्यो ।
राजनीतिक चेतना कहिलेबाट टुसायो सूर्य थापामा भन्ने जिज्ञासा भो र सोधें । २०४३ सालबाट भन्ने जवाफ पाएँ । १३-१४ वर्षको किशोरवयमै टुसाउँछ सूर्य थापामा राजनीति । अखिल पाँचौं नामक वाम विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका रहेछन् सूर्य । त्यही बेलादेखि पहिले नेकपा माले र पछि नेकपा एमालेसँग निकट भई पार्टीमा सक्रिय भएका रहेछन् । शुरूमा अर्घाखाँची जिल्लामा मूलतः विद्यार्थी फाँटको काममा खटेछन् । सूर्य थापालाई कम्युनिष्ट पार्टीको सदस्यभन्दा पहिले जनवर्गीय संगठनहरूमा सक्रिय हुने अभ्यास गराइएको रहेछ । अखिल पाँचौंमा काम गरेकाले कम्युनिष्ट पार्टीको सदस्य बन्न समर्थक समूहमा बस्नैपर्ने पुरानो नियम हटाइएको रहेछ । सूर्यलाई अखिल पाँचौंमा काम गरेकै कारण पार्टीले सदस्यता दिएछ । त्यतिबेला सामन्तवादी शिक्षा अध्ययन नगर्ने भन्ने अर्थात् बुर्जुवा शिक्षा बहिस्कारको अवस्था हटिसकेको रहेछ, जसले गर्दा सूर्य थापाले स्नातकोत्तर तह उत्तीर्ण गर्न पाए । जबकि यो नाराका कारण कैयौं युवाले विगतमा औपचारिक पढाइ चटक्कै छोडेका थिए ।
कांग्रेस जोगिन सकेन
सूर्य थापा कलिलो उमेरदेखि नै पार्टीको केन्द्रीय तहको काममा जुटे । २२-२३ वर्षदेखि अटुट केन्द्रीय तहको काममा आफूलाई समर्पित गरेका सूर्य २०७१ मा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनी अखिल पाँचौंबाट वाम राजनीतितर्फ आकर्षित हुँदै राजनीति सँगसँगै पत्रकारितातर्फ लागे । पुराना वाम राजनीतिका अगुवा मोहनविक्रम सिंहको जिल्ला प्यूठान र गाउँ बाङ्गेमरोड/झिमरुकका युवा तथा अझ विद्यार्थीहरूको वाम राजनीतितर्फको झुकाव सामान्य नै हो । यद्यपि प्यूठानको अस्तितिरको राजनीति कांग्रेसमुखी थियो । २०१५ सालको नेपालको प्रथम महानिर्वाचनमा प्यूठान तीन निर्वाचन क्षेत्रमा विभाजित थियो र तीनवटै क्षेत्रबाट नेपाली कांग्रेसका प्रत्यासीहरूले धेरै मतको अन्तरले जितेका थिए । तर, नेपाली कांग्रेसले प्यूठानमा लामो समयसम्म आफूलाई फैलाउन त के जोगाउनसम्म पनि सकेन । २०४४ सालसम्म पनि प्यूठानमा कांग्रेस जोगाउन सुशील कोइराला, वलदेव शर्मा मजगैयाँहरू धाउँदै थिए । तर, सकेनन् ।
प्यूठानकै प्रसंगमा अर्को एउटा जनमत उल्लेख गर्न मनलाग्यो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा २०७४ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका प्रत्यासी डा. गोविन्दराज पोखरेलका बुबा विष्णुप्रसाद पोखरेलसँग १५ वर्षअघि मैले लिएको ‘उहिले बाजेका पालामा कार्यक्रम’मा छोरो (गोविन्दराज) के भए हुन्थ्यो भन्ने लाग्थ्यो भन्ने प्रश्नमा ‘गाउँको स्कुल (प्राथमिक) को हेडमास्टर भए हुन्थ्यो भन्ने लाग्थ्यो’ भन्नुभएको थियो । त्यतिबेला उहाँको गाउँमा प्राथमिक विद्यालयमात्रै भएकाले त्यसमाथिको शिक्षाका लागि गोविन्दले मावली गाउँको हाइस्कुलमा अध्ययन गर्नुभएको रहेछ ! ५५-६० वर्ष अघिसम्मको प्यूठानको एउटा सामान्य पढाइ भएका अविभावकको आकांक्षा यति साँघुरो थियो ।
अरूलाई जिताउन ज्यानै फाल्ने स्वभाव
सूर्य थापाका अभिभावक आफ्नो सन्तानको भविष्य के कस्तो होस् भन्ने चाहन्थे ? थाहा पाउन सकिएन । किनभने उहाँहरूसँग भेटघाटको साइत जुरेकै छैन । सूर्य थापा माथिल्लो तह पढ्न काठमाडौं आए र यतै बस्ने भए । उनको घरको अर्थतन्त्र कस्तो थियो ? त्यो थाहा छैन । तर, अनुमान हो- निम्न मध्यम वर्गीय अर्थतन्त्रका थिए होलान् । महँगो काठमाडौं बस्न र पढ्न सूर्य थापाले केही आर्जन गर्नैपर्थ्यो । त्यसैले उनले २०५० सालदेखि नै केही कमाउनैपर्ने भयो र पत्रिकामा काम गर्न थाले । साप्ताहिक ‘दृष्टि’, ‘बुधबार’ आदिमा काम गरे, ‘नवयुग’मा पनि काम गरे । सूर्य थापा अब पत्रकार भए । रेडियो नेपालको रोचक र लोकप्रिय ‘घटना र विचार’ कार्यक्रममा उनले नरनाथ लुइँटेलसँगै बसेर काम गरेर नयाँ अनुभव बटुले । पछि ‘परिवेश’ कार्यक्रमको टीममा पनि रहे । उनले ‘बुधबार’ साप्ताहिकमा काम गर्दा सरकारी कटु दमनका कारबाही निकै भोगे । धेरै पल्ट बयान दिए । तारेख खेपे । जुलुसबाट पक्राउ परे । अल्पकालीन पक्राउ त धेरै पल्ट नै खेपे । तर, लामो समय थुनिनु परेको देखिँदैन ।
राजपरिवारका सदस्यहरू विदेश जाँदा वा आउँदा विमानस्थलमा ब्यागेजहरूको चेकजाँच गरिँदैनथ्यो । त्यस प्रकारको कानूनी उन्मुक्तिको चरम दुरूपयोग हुन थालेका समाचार ‘साप्ताहिक मञ्च’ले खोजीखोजी छाप्थ्यो । विदेश जाँदा मूर्ति र चरेश लैजाने अनि फर्कंदा सुन र हिरोइनले ब्यागेज भरेर ल्याउने गरेको चर्चा हुन्थ्यो ।
प्रसङ्गै त हो, सूर्य थापाको घरजम बिहेबारे पनि खोतल्न मन भो । खोजी गर्दा उनको ‘खोजी विवाह’ भएको रहेछ । सरकारी पैसो हात पर्यो परेन, परेको भए कहिले र केमा भन्ने मेरो जिज्ञासामा सूर्य थापाले चुहाए- २०६१ सालमा भरतमोहन अधिकारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री हुँदा प्रेस सल्लाहकार, झलनाथ खनाल २०६७/२०६८ मा प्रधानमन्त्री हुँदा ७ महिना र २०७६/७८ मा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा प्रेस सल्लाहकार भएर २० महिना र २०७९ मंसिर ४ पछि प्यूठानबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएर सरकारी पैसाको ‘स्वाद’ चाखेछन् र चाखिरहेछन् ! सूर्य थापाले २०७० को संविधानसभा सदस्य निर्वाचनमा प्यूठानमा लगेर वामदेव गौतमलाई त्यहाँबाट जिताउन मरेर लागेछन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ५ नं. निर्वाचन क्षेत्रबाट ईश्वर पोखरेललाई जिताउन ज्यानै फालेर लागेछन् । उनी २०७९ सालमा आफैं प्यूठानबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएर आएका छन् ।
अन्तिम हुन्छ भनेको तर भएन
अब पसौं, मूल विषयमा । सूर्य थापाले ‘स्वतन्त्रता सङ्ग्राम’ नामको एउटा मझौला आकारको किताब लेखेका छन् । उनले यो उमेरमै ५ वटा किताब लेखेको पाएर म प्रसन्न भएँ । मभन्दा बढी बाँच्दा कति वटा पुस्तक लेख्लान् ? निकै वटा लेख्लान् भन्ने लाग्छ । २०६३ सालको जनआन्दोलनपछि अर्को जनआन्दोलन चाहिँदैन होला, यो नै अन्तिम जनआन्दोलन हो भन्नेमा थिएँ म । तर, त्यसपछिका सरकार चलाउने राजनीतिक पार्टीहरूले ठीकसँग काम नगरेकाले अर्को जनसङ्ग्राम जरुरी देख्न लागेको छु । नेकपा एमाले भन्छ- अब क्रान्ति जरुरी छैन । क्रान्ति पूरा भइसक्यो, अब समृद्ध नेपाल र सुखी नेपाली हुने हो । मेरो विचारमा यो निष्कर्षको औचित्य छैन । यही आजको ढाँचाबाट राज्य सञ्चालन हुँदा न समृद्ध नेपाल बन्छ न त सुखी नेपाली नै हुन्छन् । सूर्य मेरो विचारसँग सहमत हुन सक्तैनन् होला ! किनभने प्रमुख विपक्षी पार्टीका पोलिटव्युरो सदस्य छन् उनी । यो विषयलाई नलम्ब्याउँ ।
‘स्वतन्त्रता सङ्ग्राम’भित्र पस्न खोज्दा अनेक परिदृश्य देखापरे । पुराना घटना सम्झँदा यस्तै केके विगत सल्बलाउँछन् क्यार ! सूर्य थापालाई पनि सोध्न मिल्छ होला । सूर्यजी ? तपाईंको राजनीतिक विश्लेषणमा २०६३ को जनसङ्ग्राम नै अन्तिम हो त ? हो भन्नुहुन्छ भने म तपाईंसँग सहमत हुन सकिनँ, माफ गर्नुहोला । अब हुने जनसङ्ग्राम, युद्ध वा स्वतन्त्रता सङ्ग्राम पनि अन्तिम हुँदैन कि भन्ने प्रश्न मनमा अकस्मात् टुसाउन लाग्यो । सूर्य थापाकै ‘स्वतन्त्रता सङ्ग्राम’ अन्तिम भइदिएको भए क्या ठूलो माछा नेकपा एमालेको हातमा पर्थ्यो होला ? तर, अब अन्तिम जनसङ्ग्राम कसको अगुवाइमा कहिले हुन्छ ? भविष्यवाणी गर्न सहज छैन । तर, अन्तिम जनसङ्ग्राम हुन्छ, हुन्छ !
साप्ताहिक मञ्चको शङ्खघोष
यस ‘स्वतन्त्रता सङ्ग्राम’को प्रारम्भ नै पञ्चायती शासनको उत्तरार्द्धबाट भएको छ । यद्यपि पञ्चायतको पूर्वार्द्ध कति जाज्वल्यमान कालखण्ड थियो ? त्यो बेला सूर्य थापा जन्मिएकै थिएनन् । मध्यकाल जनमत संग्रह घोषणाअघिकै कालखण्ड थियो, जुन कालखण्डमा संविधान संशोधन भई गाउँ फर्क राष्ट्रिय अभियान सञ्चालित थियो । त्यस युगमा पञ्चायत चरम निरङ्कुश र चरम प्रतिगमनतिर बेगवान् थियो । त्यतिबेला पत्रकारिता गर्ने भनेकै पञ्चायतको अनेक बखान गरेर त्यसलाई निर्विकल्प सिद्ध गर्नेतर्फ घनीभूत रूपमा लानुपर्थ्यो । जनमत संग्रहपछि पञ्चायती शासनको फक्रने, फुल्ने र फल्ने चरण शिथिल हुँदै थियो । यो स्वाभाविक हो- कुनै पनि वस्तुको भ्रूण अवस्थाबाट अंकुरित, पल्लवित र पुष्पित एवं फलित अवस्था हुन्छ । त्यसपछि गलित अवस्थातर्फ बढ्छ । हो त्यही अवस्था थियो- पञ्चायतको । त्यो माहोलमा एउटा साप्ताहिक पत्रिका प्रकाशनको विचार आएछ, केही युवामा र अलिक राम्रै पैसाको जोरजाम गरी पत्रिका प्रकाशन गर्ने कौशल गरिएछ । पदम ठकुराठीको सम्पादनमा ‘साप्ताहिक मञ्च’ प्रकाश गर्ने निर्णय भएछ । २०३९ पुस १ गतेबाट साप्ताहिक मञ्च प्रकाशन हुन लाग्यो । पहिलो अंक दुई हजार प्रति मुद्रण गरियो । यो नितान्त नौलो निर्णय थियो । पञ्चायती कालमा भएको यो निर्णय अभूतपूर्व र आँटिलो निर्णय थियो ।
जतिजति समय अघि सर्दै जान्छ, नयाँ पुस्ताले पुरानो पुस्ताले गरेका अद्वितीय योगदान त के बलिदानसम्म बिर्सन्छ वा याद गर्दैन । सूर्य थापाको यो परिश्रमले हिजोको वास्तविकता आजका मान्छेलाई मात्र होइन, भोलि आउने पुस्तालाई समेत दुर्लभ कोसेलीका रूपमा दिएको छ भन्नु बढी नहोला ।
नभन्दै साप्ताहिक मञ्चको त्यो पहिलो अंकको शंखघोषले पञ्चायतलाई ठगिखाने भाँडो बनाएको तत्व- भूमिगत गिरोह वा गैरसंवैधानिक शक्ति केन्द्र र लाचार छायाँका केन्द्रहरूमा ठूलै स्केलको भूकम्प नै जान शुरू भयो । राणा शासनविरुद्धको संघर्षका शुरूमा वि.सं. १९९७ साल असार ९ गते नेपाल प्रजा परिषद्ले पाटन शहरमा छरेका र टाँसेका लिथोमा छापिएका केही पर्चाले तत्कालीन सत्ताको आधाभन्दा बढी शक्ति क्षीण गरायो भन्नुहुन्थ्यो- जिउँदा शहीद रामहरि शर्मा । उहाँ ती पर्चा छर्ने र टाँस्नेमध्येका अगुवा हुनुहुन्थ्यो । ‘साप्ताहिक मञ्च’ भित्रको हुङ्कारले पञ्चायती त्यो शक्तिको निद्रा नै खोस्यो । उनीहरू अब साप्ताहिक मञ्चको कसरी मुख थुन्ने भन्नेतिर लागे भने कानूनी प्रक्रियाबाट पनि त्यो प्रकाशनलाई घायल पार्ने उपाय पनि खोज्न लागे ।
झिसमिसेमा ओछ्यानमै गोली
एक दिन बिहानै पदम ठकुराठीको टेलिफोनमा भक्तपुरका प्रहरी इन्स्पेक्टर रूपकराज शर्माले भनेछन्- हिजो बेलुका अँध्यारो भएपछि क्रेन लिएर भूपतीन्द्र मल्लले बनाएको मन्दिरको गजुर निकाल्न एकथरि मान्छे आएका थिए । उनीहरू गजुर चम्काउन लैजाने भनिरहेका थिए । मैले उज्यालो भएपछि आउनु भनें र रोकिदिएँ । ती मान्छेहरू आफूलाई अधिराजकुमार ज्ञानेन्द्रले पठाएको भन्दै थिए । इन्स्पेक्टर शर्मालाई उद्धृत गरेर ठकुराठीले साप्ताहिक मञ्चमा समाचार छापिदिए । त्यो समाचार छापिएपछि पदम ठकुराठी झन् आँखाको कसिङ्गर हुन लागे ।
राजपरिवारका सदस्यहरू विदेश जाँदा वा आउँदा विमानस्थलमा ब्यागेजहरूको चेकजाँच गरिँदैनथ्यो । त्यस प्रकारको कानूनी उन्मुक्तिको चरम दुरूपयोग हुन थालेका समाचार ‘साप्ताहिक मञ्च’ले खोजीखोजी छाप्थ्यो । विदेश जाँदा मूर्ति र चरेश लैजाने अनि फर्कंदा सुन र हिरोइनले ब्यागेज भरेर ल्याउने गरेको चर्चा हुन्थ्यो । पछि त धनगढीस्थित कत्था मिलबाट उत्पादित वस्तु सुनको बिस्कुट आकारको बनाएर त्यसमै विदेशबाट ल्याइएको सुन राखी भारततर्फ पैठारी पो गर्न थालिएछ ! त्यस पत्रिकामा ‘सुलसुले’ नामक स्तम्भ थियो, जसमा गम्भीर प्रकृतिका कुरा हल्काफुल्का ढंगले छापिन्थे । ती कुरा पनि गैरसंवैधानिक शक्ति केन्द्रका लागि आँखाको छारो हुने गर्थे ।
अधिराजकुमार धीरेन्द्र शाहका अंगरक्षक भरत गुरुङले अनेकौं प्रलोभन देखाएर ठकुराठीलाई पत्रकारिता छोड्न भनेको प्रसंग सूर्य थापाले आफ्नो पुस्तकमा विस्तारमा लेखेका छन् । धीरेन्द्र शाह राष्ट्रिय खेलकुद परिषद्का संरक्षक, शरच्चन्द्र शाह सदस्य सचिव, अंगरक्षक भरत गुरुङ र खेलाडी जगत गौचनसहितको टोली संयुक्त राज्य अमेरिकाको यात्रामा जाँदा लस एन्जल्समा फुटबलभित्र हिरोइन भएको तथ्य विमानस्थलमा कुकुरले चेकजाँच गर्दा पत्ता लगाएपछि शरच्चन्द्र र कृष्णमान जोशी पक्राउ परेका, अनेक प्रपञ्च गरेर शरच्चन्द्र शाह छुटेका, कृष्णमान भने जेल परेका जस्ता रोचक तर अपराधपूर्ण घटना ‘साप्ताहिक विमर्श’मा छापिएपछि सम्पादक पदम ठकुराठी भूमिगत गिरोहको गोलीको निशानामा परेका थिए । पदम ठकुराठीउपर बिहान झिसमिसेमै ओछ्यानमा गोली प्रहार भएको घटना सविस्तार समावेश गरेर नेपाली समाजलाई सूर्य थापाले ठूलो गुण लगाएका छन् ।
नरशमशेर सदरखोरमा
भूटान भ्रमण, त्यहाँका अरूअरू कुराका साथै पत्रकारिताको हालतबारे ‘स्वतन्त्रता सङ्ग्राम’मा एक अध्याय नै समेटेका छन् सूर्यले । पत्रकारिताको इतिहासमा अमर शहीदहरूको तहमा स्थापित कृष्णसेन इच्छुकको राज्यले गरेको बर्बरतापूर्ण यातनापछिको निर्मम हत्याको दारुण यथार्थ पनि छुटाएका छैनन् उनले । राज्य कति निर्दयी, क्रूर र आततायी थियो ? खासगरी नेकपा माओवादीले थालेको जनयुद्धपछि भनेर थाहा पाउन सूर्य थापाले कृष्ण सेनलाई सशक्त रूपमा उभ्याएका छन् । जतिजति समय अघि सर्दै जान्छ, नयाँ पुस्ताले पुरानो पुस्ताले गरेका अद्वितीय योगदान त के बलिदानसम्म बिर्सन्छ वा याद गर्दैन । सूर्य थापाको यो परिश्रमले हिजोको वास्तविकता आजका मान्छेलाई मात्र होइन, भोलि आउने पुस्तालाई समेत दुर्लभ कोसेलीका रूपमा दिएको छ भन्नु बढी नहोला ।
प्रतिगमनको विपक्षमा उभिने सञ्चारमाध्यमलाई विज्ञापन दिएर बचाउनु/हुर्काउनु भनेको सर्पलाई दूध खुवाएर विष बढाउनु जस्तै हो भन्ने सरकारी क्षेत्रमा व्याख्या गर्न थालियो । सरकारी सञ्चारमाध्यम बाहेकलाई सरकारी विज्ञापन नदिने भन्ने निर्णय स्वयं राजाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले गर्यो । पत्रकार महासंघलगायत सञ्चार सञ्जालबाट दबाबमूलक कार्यक्रमपश्चात बल्ल विज्ञापनको भुक्तानी दिन थालियो ।
संजोग पनि के के पर्ने ! २०४३ मा ‘राजधानी साप्ताहिक’मा- ‘एसियाली मापदण्ड मन्त्रिमण्डलको ठगी खाने भाँडो’ शीर्षकमा एउटा लेख छपाएबापत राजकाज मुद्दा लागेर म डिल्लीबजार सदरखोरमा थुनिएको थिएँ । राजधानीका सम्पादक/प्रकाशक आङ दोर्जे लामा भद्रगोल जेलमा थिए । एक दिन पदम ठकुराठी गोली काण्डको मुद्दामा पूर्वसहायकमन्त्री भीमप्रसाद गौचनलाई थुन्न मलाई राखिएकै खोरमा ल्याइयो र मलाई राखिएकै कोठामा राखियो । उनलाई भोलिपल्ट बिहान मैले एक कप चिया खुवाउन पाएको सम्झना छ । पदम ठकुराठीलाई गोली हानेको राइफल नरशमशेरका छोरा विनोद शमशेरको रहेछ । उनी पनि डिल्लीबजार खोरमै थुनिएका थिए । छोरालाई भेट्न एक दिन नरशमशेर पनि त्यो सदरखोरमा आएका थिए । शासन पञ्चायती नै थियो, राणा शासन थिएन । तर, उनी आउने भनेपछि उनका लागि छोरालाई भेट्ने ठाउँको विशेष व्यवस्था गर्यो जेल प्रशासनले । उनका आँखा पर्ने ठाउँसम्म सरसफाइ पनि गरिएको थियो । यसरी ठकुराठी गोली काण्डबारे म यतिसम्मको साक्षी भएको थिएँ ।
वंश हत्याको रहस्य रहस्यमै
वास्तवमा राजा र राजतन्त्रले माओवादीहरूको सशस्त्र जनयुद्धलाई निहुँ बनाएर गर्नु नगर्नु गरेको सर्वविदितै छ । त्यसकै रापमा तत्कालीन श्री ५ वीरेन्द्रको वंशहत्या भयो । त्यो हत्याको मुख्य पात्र युवराज दीपेन्द्रलाई भन्ने गरिएको छ सरकारी भाषामा । तर, त्यो २०५८ जेठ १९ को कालो सन्ध्यामा नारायणहिटी दरबारकै शुक्रबारको पारिवारिक मधुमिलनको माहोलमा स्वयं दीपेन्द्र पनि गोली प्रहार (आफैंले हानेको भनिएको !) बाट मूर्छित भए । होसमा नै नफर्किकन उनी मृत घोषणा गरिए । राजगद्दी उत्तराधिकार ऐनअनुसार माइला अधिराजकुमार ज्ञानेन्द्र वीर विक्रम शाह राजा घोषित भए । ज्ञानेन्द्र यो दोस्रो पल्ट राजा भएका हुन् । पहिलो पल्ट २००७ साल कात्तिक २२ गते राजा त्रिभुवन माहिला नाति ज्ञानेन्द्रबाहेक सबै परिवारसहित नेपालको राजगद्दीसमेत छाडी २१ कात्तिकमा भारतीय दूतावासमा गएपछि ४ वर्षको उमेरमै राजा भएका थिए । ज्ञानेन्द्रले ‘दाजु वीरेन्द्र जस्तो सुन्नेमात्र राजा नहुने, गर्ने राजा हुने आशय’ सार्वजनिक गरेर दाजुको होइन बाबुको बाटो समात्ने देखिए ।
ज्ञानेन्द्र राजा भएको दुई महिना नपुग्दै गिरिजाप्रसाद प्रधानमन्त्रीत्वको सरकार विघटन गरी शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा नयाँ सरकार बनाए । त्यसक्रमका साढे तीन वर्षको अन्तरालमा लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र फेरि शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाए । शेरबहादुर देउवा प्रधानमन्त्रीत्वको २०६१ जेठ २८ मा बनेको सरकारमा ‘प्रतिगमन आधा सच्चियो’ भनी नेकपा एमाले सामेल भयो । तर, आठ महिना नै नपुग्दै राजा ज्ञानेन्द्रले नेपाली कांग्रेस प्रजातान्त्रिक र नेकपा एमालेसमेतको सरकार भंग गरी २०६१ माघ १९ मा आफ्नो अध्यक्षतामा १० जनाको सरकार बनाई राज्य सञ्चालन गर्न थाले । त्यो सरकारका मन्त्रीहरूबाट मात्र शासन सुचारु हुने कुरा नपत्याई बाबुका पालाका पुराना दुई जना प्रधानमन्त्री डा. तुलसी गिरी र कीर्तिनिधि विष्टलाई उपाध्यक्ष बनाए केही दिनमा नै । २०५९ असोज १८ को सत्तापलटकै अर्को एउटा उत्कर्षका रूपमा आयो २०६१ माघ १९ गते । त्यो १९ माघले त नेपाली प्रेसको चीरहरण गरेर उदाङ्गो नै पारिदियो । प्रजातन्त्रवादी त्यो प्रेस सत्तामा अटाएन । फेरि प्रेस अपरिहार्य रहेको युग भएकाले राजावादी प्रेसको परिकल्पना गरियो । तर, बोकाले दाइँ नहुने !
‘पत्रिका निस्कँदैन रे, गुड न्यूज !’
२०६१ चैत २५ गते ‘वर्तमान स्थितिमा साप्ताहिक पत्रिकाहरू’ विषयमा मार्टिन चौतारीद्वारा आयोजित मिडिया छलफलमा तीन वटा बुधबार निस्कने साप्ताहिकहरू ‘बुधबार’, ‘जनआस्था’ र ‘घटना र विचार’का सम्पादकहरू क्रमशः सूर्य थापा, किशोर श्रेष्ठ र बबिता बस्नेत सहभागी थिए । त्यस छलफलमा साप्ताहिकहरूउपर दलित समुदायलाई जस्तो उपेक्षा गरिने गरेको निष्कर्षमा पुगेका थिए तीनै जना सहभागी । २०६१ माघ १९ को दिन पनि कालो भयो । माधवकुमार नेपालको ‘प्रतिगमन आधा सच्चिएको’ चार पार्टीको मन्त्रिपरिषद् बर्खास्त गरी राजा ज्ञानेन्द्रले जनअधिकारमाथि निरंकुश धावा नै बोले । प्रत्यक्ष हुकुमी शासन कार्यान्वयन गर्न लागेको अनुभव भयो । प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेताहरू नजरबन्द वा गिरफ्तार गरिए । सञ्चारमाध्यमहरूमा सशस्त्र सेना छ्यापछ्याप्ती भए र स्टेशन कब्जा गरे । कति सामान लुट्ने शैलीमा लियो सेनाले । पाठ्य, श्रव्य र दृश्य सबै सञ्चारमाध्यमको सम्पादक बर्दीधारी सेना भयो । अब कस्तो भयो होला सञ्चार ? के प्रसारण, मुद्रण र प्रचार गरियो होला ! अनुमान असहज छैन ।
२०६१ माघ १९ को दिन पनि कालो भयो । माधवकुमार नेपालको ‘प्रतिगमन आधा सच्चिएको’ चार पार्टीको मन्त्रिपरिषद् बर्खास्त गरी राजा ज्ञानेन्द्रले जनअधिकारमाथि निरंकुश धावा नै बोले । प्रत्यक्ष हुकुमी शासन कार्यान्वयन गर्न लागेको अनुभव भयो । प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेताहरू नजरबन्द वा गिरफ्तार गरिए । सञ्चारमाध्यमहरूमा सशस्त्र सेना छ्यापछ्याप्ती भए र स्टेशन कब्जा गरे । कति सामान लुट्ने शैलीमा लियो सेनाले ।
नेपाल वातावरण पत्रकार समूहको एउटा सार्वजनिक कार्यक्रम थियो होटल सोल्टीमा । त्यही साँझ तत्कालीन सशस्त्र जनविद्रोहका कमान्डर माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को वक्तव्य प्रसारण गर्ने कार्यक्रम थियो दक्षिण एसियाकै पहिलो एफएम रेडियो सगरमाथाबाट । अब त्यो हुने प्रश्न नै रहेन । रेडियो सगरमाथाको राजनीतिक कुराकानीमा मैले ‘कोदो’ महात्म्य प्रसारण गरें । बुधबार साप्ताहिक २० गते बुधबारका दिन ननिस्कने खबर गरेपछि सेनाका हाकिमले ‘पत्रिका निस्कदैन रे ! गुड न्युज’ भन्ने प्रतिक्रिया दिएको कुरा सूर्य थापाले उल्लेख गरेका छन् । अब बयान शुरू भयो- सीडीओसमक्ष पत्रकारहरूको । यतिबेला सूर्य थापा पनि सरकारको निरङ्कुशताको राम्रै पेलाइमा परे, जो स्वाभाविक नै हो । नेपाल पत्रकार महासंघ अब स्वतन्त्रता सङ्ग्राममा हेलिइसकेको थियो ।
अनवरत संघर्षले गलायो निरङ्कुशतालाई
सञ्चारमाध्यममा सेनाको बर्दी पसेपछि के स्वरूप एवं स्वभाव भयो होला अनुमान असहज छैन । अब पत्रकारहरूसँग बयान, फेरि बयान, स्पष्टीकरण, फेरि स्पष्टीकरणको श्रृङ्खला शुरू भयो । यता निरङ्कुशताविरुद्ध पाँच पार्टीले मोर्चाबन्दी शुरू गरे । २०५९ सालमा विभाजित कांग्रेस पार्टीका दुबै पक्ष सँगै आन्दोलनमा लाग्ने भए । राजा ज्ञानेन्द्र आफ्नो भाषणमा ‘देशमा बहुदलीय प्रजातन्त्र छ’ भन्ने वाक्य पुनरावृत्त गरिरहन्थे । एक जना वृद्ध नेता बलबहादुर राईले बुधबार साप्ताहिकमार्फत राजासँग सोधेथे- ‘प्रजातन्त्र कहाँ छ महाराज !’ वास्तवमै प्रत्यक्ष शासन तीन महिनामै असफलतातिर उन्मुख भइसकेको थियो । स्वतन्त्र प्रेसविरोधी निरङ्कुशतन्त्रको दमन राज्यव्यापी रूपमा छ्याङ्गै भइरहेको थियो । यो कुरा पत्रकारहरूको स्थलगत भ्रमणले झनै पुष्टि भएको कुरा पनि यसमा उल्लेख छ । फेरि त्यो राजा आफैंले नेतृत्व गरेको त्यस सरकारले ‘सञ्चारसम्बन्धी केही नेपाल ऐनमा संशोधन गरेको अध्यादेश’ आएपछि त सिंगो नेपाल आन्दोलित हुनपुग्यो । सम्पूर्ण समाजले नै कालो अध्यादेशको कडा भर्त्सना गर्यो । यसरी स्वतन्त्र प्रेसलाई अब पूरै शाहीकरण गर्ने प्रयास भयो, जसको चारै दिशाबाट प्रतिरोधको प्रयत्न भयो ।
यो प्रतिरोधको मोर्चा सञ्चार जगतमा मात्र सीमित नभई सडक, न्यायालय र अन्तर्राष्ट्रिय सम्बन्धका मोर्चाहरूसम्म पुग्यो । दमन र चरम दमन गर्ने अठोट भएपछि राज्यले विज्ञापनको वर्र्गीकरणमा पनि हदभन्दा बढी पक्षपात गर्न थाल्यो । प्रतिगमनको विपक्षमा उभिने सञ्चारमाध्यमलाई विज्ञापन दिएर बचाउनु/हुर्काउनु भनेको सर्पलाई दूध खुवाएर विष बढाउनु जस्तै हो भन्ने सरकारी क्षेत्रमा व्याख्या गर्न थालियो । सरकारी सञ्चारमाध्यम बाहेकलाई सरकारी विज्ञापन नदिने भन्ने निर्णय स्वयं राजाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले गर्यो । पत्रकार महासंघलगायत सञ्चार सञ्जालबाट दबाबमूलक कार्यक्रमपश्चात बल्ल विज्ञापनको भुक्तानी दिन थालियो । लुटिएको अधिकार खोसेर लिन अनवरत संघर्ष अपरिहार्य हुन्छ भन्ने सिद्धान्तबाट अभिव्यक्त सञ्चारमाध्यमहरूले संघर्षलाई बिलाउन दिएनन्, ताजै राखे । नागरिक सहभागिता उल्लेख्य रह्यो । त्यति मात्र होइन, जनजागरणको लहर नै आयो । स्वतन्त्र प्रेसको थाप्लोमा साँच्चै सरकारी बज्र नै प्रहार भएका बखत नेपाली पत्रकारिताको इतिहास नै साप्ताहिकबाट शुरू भएको भन्दै १९५८ सालमा ‘गोर्खापत्र’ साप्ताहिकबाट थालनी भएको पत्रपत्रिकाको चिना पल्टाउनु सूर्य थापाका निम्ति अन्यथा होइन । किनकि सूर्य थापा आफैं साप्ताहिक पत्रिकाका उत्पादन रहेको पृष्ठभूमि जो रहेको छ ।
प्रश्न गर्नेबाट उत्तर दिने हैसियत
अनवरत संघर्षको प्रतिफल किञ्चित निस्कन लाग्यो । समस्या धेरै थिए, समाधान भने थोरै हुन लागे । त्यसो त २०४६ को आन्दोलनको राप र ताप बढाउन नेपाली पत्रकारिताको अभिलेख कम्ताको कहाँ छ र ? २०६१ माघ १९ को शाही कदमको प्रहारबाट बच्न साप्ताहिक/पाक्षिक पत्रपत्रिकाले संघर्ष सञ्जाल २०६२ नै स्थापना गरे र सात सूत्रीय माग राखे । संघर्षको चरणमा सूचना विभागको मूल ढोकामा धर्नासमेत दिनुपर्यो, फलतः सोही मंसिरदेखि विज्ञापनको भुक्तानी दिन सरकार बाध्य भयो । सङ्घर्षमा सक्रिय हुने सञ्चारमाध्यमलाई त्यस्ता आन्दोलनमा उभिन सजिलो हुँदैन । त्यो जीवित सत्य पनि हो । प्यूठानका भएकाले सूर्य थापाले त्यस जिल्लाको पत्रकारिताको विगत पनि कोट्याएका छन् प्रस्तुत कृतिमा । यो नितान्त स्वाभाविक हो । यदि नकोट्याएको भए उनको उचाइ घट्थ्यो !
ब्रोडसिट (ठूला आकारका) पत्रिका प्रकाशन हुन थालेपछि साप्ताहिक पत्रिकाहरू उपरको आकर्षण र तीब्रतामा अकस्मात परिवर्तन आयो भन्ने लाग्छ । तर, रेडियोमा एफएम आएपछि झन् अर्को स्थिति आयो समग्र नेपाली पत्रकारितामा । टेलिभिजनमा नेपाली पत्रकारिता पसेपछि स्थितिमा फेरि परिवर्तन आयो । यसमा पनि निजी क्षेत्रका टेलिभिजनहरू स्थापना र सञ्चालनमा आएपछि मुद्रण पत्रकारिताअन्तर्गत अखबार पढ्ने गर्दै आएका निकै पाठकहरू नयाँ माध्यमतिर झुम्मिए ।
प्यूठान जिल्लामा वाम राजनीति टुसाएको पनि सात दशक भइसक्यो । २०१५ सालको प्रथम आमनिर्वाचनमा प्यूठानको पूर्व-दक्षिणी निर्वाचन क्षेत्र नं. ८५ बाट नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार मोहनविक्रम सिंह घर्ती क्षेत्रीले २,५४६ मत ल्याएका थिए । तर, नेताहरू जिल्लामा कम बस्ने, जनतासँग कम भेटघाट र कम अन्तरक्रिया हुने हुँदा र कम्युनिष्ट पार्टी फुटेर धेरै वटा हुँदा जनता प्रशिक्षित हुने क्रम कम भयो र भ्रम पनि प¥यो । फेरि केन्द्रीय तहका नेता उम्मेदवार हुने, उनीहरू अतिथि उम्मेदवार भनिने हुँदा पनि वामपन्थी साख घटेको हो जस्तो लाग्छ । यो मुद्दामा अरू गम्भीर बहस हुनु जरुरी लाग्छ । अब त देशमा गणतन्त्र छ । तसर्थः आज यो ग्रन्थका लेखक सूर्य थापासँग प्रश्न गर्छन् जनताले । अस्तिसम्म सूर्य थापा प्रश्न गर्ने हैसियतका थिए । तर, आज उनी उत्तर दिने र प्रतिरक्षा गर्ने स्थितिमा छन्, सफलताको कामना !
अलिक बढी आग्रह भयो कि ?
अँ, एउटा कुरा लेखौं कि नलेखौं लागेको थियो, अन्त्यमा लेख्ने नै टुङ्गोमा पुगें । मित्र सूर्य थापाले पत्रकारितामा छापा पत्रकारिता, छापा पत्रकारितामा पनि साप्ताहिक पत्रिकाहरूलाई सर्वोच्च स्थान दिएको जस्तो अनुभूति भयो यो कृति समग्र पढ्दा । वास्तवमा कुनै कालखण्डमा हो । नेपालको पत्रकारिताको विकासमा पत्रपत्रिका पढ्ने कुरामा साँच्चै तरंग नै ल्याइएको थियो । उदाहरणका लागि एक हजार प्रति छापिएका पत्रिका सबै बिके भने पत्रिका प्रकाशनसँग सम्बद्ध पक्ष यति फुरुङ्ग हुन्थ्यो कि हुने भए उसले सिन्दूर जात्रा नै गर्थ्यो । त्यो स्थितिमा साप्ताहिकमध्ये २ हजारप्रति मुद्रण हुँदा पनि नपुग्नु साँच्चै अनौठो लाग्थ्यो त्यतिबेला । यो दृष्टिबाट पत्रकारिताभित्र पस्न खोज्दा सूर्य थापाको दृढ धारणा असत्य हो, गफ हो भन्ने लाग्दैन ।
परन्तु १९५८ साल जेठ ३ गतेदेखि अहिलेसम्मको नेपाली पत्रकारिताको नालीबेली केलाउँदा त्यो स्थापना एउटा कालबेलाका निम्ति मात्रै सत्य हो । तर, यो सिङ्गो १२२ वर्षका लागि भने होइन । ब्रोडसिट (ठूला आकारका) पत्रिका प्रकाशन हुन थालेपछि साप्ताहिक पत्रिकाहरू उपरको आकर्षण र तीब्रतामा अकस्मात परिवर्तन आयो भन्ने लाग्छ । तर, रेडियोमा एफएम आएपछि झन् अर्को स्थिति आयो समग्र नेपाली पत्रकारितामा । टेलिभिजनमा नेपाली पत्रकारिता पसेपछि स्थितिमा फेरि परिवर्तन आयो । यसमा पनि निजी क्षेत्रका टेलिभिजनहरू स्थापना र सञ्चालनमा आएपछि मुद्रण पत्रकारिताअन्तर्गत अखबार पढ्ने गर्दै आएका निकै पाठकहरू नयाँ माध्यमतिर झुम्मिए । यस्तो छ मेरो मुद्रण विधाको पत्रकारिताप्रतिको हेराइ । अझ अनलाइन र सोसल मिडियाको विस्तारपछि त अवस्था धेरै भिन्न बन्न पुगेको छ ।
निरङ्कुशतन्त्र झुक्न बाध्य- ११ बैशाख
अब केही समय अर्को विधामा खर्चूं । २०४६ सालमा क्रान्तिकारी शक्तिले पाटनको च्यासल कब्जा गरेको थियो, त्यहाँको प्रहरीले आत्मसमर्पण गर्न पनि मान्यो । त्यो समाचार कीर्तिपुरसम्म पुग्यो । कीर्तिपुरको जनआन्दोलन उम्लियो । कीर्तिपुर उम्लिएको खबर फेरि सुन्यो पाटनले, पाटन अरू उत्साहित भयो र क्रान्तिकारीहरूले अरू भाग पनि कब्जा गरे एवंरीतले जनआन्दोलन यति सशक्त र यति उत्साहित भयो जुन अजेय हुँदै गयो । २०६२/२०६३ को जनआन्दोलन या निरङ्कुश शासनविरुद्धको आन्दोलनलाई शिखरमा पुर्याउन एफएम रेडियोले अकल्पनीय भूमिका निर्वाह गरे । क्षणक्षणको एफएम रेडियो समाचार प्रसारणले परिवर्तन खोज्ने आमजनतालाई यति धेरै हौस्यायो, उनीहरूमा ऊर्जा थप्यो, छातीको तातो रगत उम्लिनेसम्म गरायो । सूर्य थापा सहमत/असहमत जे भए पनि मेरो ठम्याइ यही हो ।
२०६२/६३ को जनआन्दोलनमा सञ्चारमाध्यमभन्दा पनि जनताको विशाल जनशक्ति अथवा जनताको भीड सर्वाधिक निर्णायक रह्यो भन्ने मलाई लाग्छ । शहर बजारभन्दा गाउँ तात्यो । शहरियाभन्दा बढी गाउँले ताते । हातमा हतियार त के लौरो पनि नबोकेको, स-साना हरियो स्याउला भएको रुखका हाँगा बोकेको विशाल जनसमूहले राजा ज्ञानेन्द्रको ‘आफू सुन्ने राजा मात्र होइन भन्ने’ निरंकुश अतिवादलाई यसरी पछार्यो, उनले अन्तिम घुड्को पानी निल्न पनि भ्याएनन् । यो स्थितिमा जनआन्दोलनलाई उचाल्न, उराल्न र अन्तरिक्षबाट आकाशमाथि पुर्याउन साप्ताहिक, दैनिक पत्रपत्रिकाको योगदान छैन भन्ने आसय चाहिँ किमार्थ होइन । सबै विधाका सञ्चारमाध्यमले निरंकुशता उखेल्न यथेष्ट योगदान गरे । २०६३ बैशाख १ गतेको राजाको सन्देशलाई जनआन्दोलनले तिरस्कार गर्यो । भारतबाट आएका एकजना करण सिंहले बैशाख ८ मा अर्को ललिपप दिएर फकाउन खोजे । त्यसलाई पनि नेपाली जनताले तिरस्कार गरे र निरंकुशतन्त्रलाई बैशाख ११ मा ओर्लन बाध्य पारे । यी सबैमा सम्पूर्ण सञ्चार विधाको आआफ्नै खालको उच्चतम सहयोग रहेको छ । यसमा दुईमत छैन ।
अन्त्यमा, सूर्य थापाको मेहनतपूर्वक तयार यस कृतिका लागि बधाई भन्न चाहन्छु । इतिहासको एक महत्वपूर्ण कालखण्डलाई सुरक्षित र अभिलेखबद्ध गरेकोमा लेखकलाई मनैदेखि धन्यवाद ज्ञापन गर्दछु ।
घट्टेकुलो, काठमाडौं
देवकोटा जयन्ती, २०८०