धन्यवाद डा. रामेश कोइराला ! जसले अहं र कर्तव्यमा दोस्रो रोजे
मानिसको शरीरमा सबैभन्दा संवेदनशील अंग मानिन्छ- मुटु । यही संवेदनशील अंगको चिरफार गर्ने एक दक्ष शल्य चिकित्सक डा. रामेश कोइरालाले हालै एउटा ‘असंवेदनशील’ निर्णय लिए । उनले ट्विटरमार्फत सार्वजनिक गरेको निर्णय थियो- अनिश्चितकालका लागि बिरामीको शल्यक्रिया नगर्ने । आफूले गरेको एउटा ट्विट आफैंलाई गलपासो भएपछि उनले यो विषयको छिनोफानो नहुञ्जेल शल्यक्रियाबाटै अलग हुने ध्वाँस दिएका थिए ।
खुशीको कुरा, डा. कोइरालाले आफ्नो निर्णयलाई कार्यान्वयनमा भने लगेनन् । उनी नियमित अस्पताल आएर आफ्नो काम गरिरहेका छन् । यद्यपि, आफू निर्णयबाट पछि हटेको कुरालाई उनले गुपचुप नै राखेका थिए । ट्विटरमा अत्यधिक सक्रिय कोइराला १० दिनसम्म मौन बसे । यो विषयमा नेपाल प्रेसमा समाचार आएपछि उनले लेखे- मैले अहम् र कर्तव्यमा दोस्रो रोजें ।
उनको ट्विट यस्तो छ, ‘हितैषीको बेबुनियाद वार्षिक बकवासलाई मलमपट्टि गर्दै देशको कानून र सो समयका यकिन कुरो थाहा नपाइ गरिएको ग्लोरिफाइको विरोध थियो । काउन्सिलले सांसदलाई जवाफ दिएको हेर्न एवं मलाई नै सोधेमा ‘गजब’ को स्पष्टीकरण दिएर यतै राख्न पर्खन चाहें । तर, बहुधा अनुरोधले अहं र कर्तव्यमा दोस्रो रोजियो ।’
कतिलाई अस्पष्टता हुनसक्छ, खासमा यो विषयको सुरुवात डा. कोइरालाकै एउटा ट्विटबाट भएको थियो । गत माघ १० गते लेखेको ट्विटमा उनले गंगालाल अस्पतालमा ४ जना बिरामीको शल्यक्रियापछि भएको मृत्युलाई आफूहरुले सामान्य रुपमा लिएको उल्लेख गरेका छन् ।
रास्वपाकी सांसद सुमना श्रेष्ठले एक अनलाइनमा प्रकाशित मुटुरोगका डाक्टर मखनलाल श्रेष्ठको अन्तर्वार्ता शेयर गरेकी थिइन् । लामो समयदेखि जर्मनीमा बसेर काम गरिरहेका डा. श्रेष्ठले उक्त अन्तर्वार्तामा सरकारले चाहेमा नेपाल फर्किने इच्छा व्यक्त गरेका थिए ।
उनले अन्तर्वार्तामा भनेका छन्, ‘म जर्मनीको काम छोडेर फर्किन तयार थिएँ । कोसिस पनि गरें । नेपाल आएर एक महिना गंगालाल तथा स्वास्थ्य मन्त्रालय धाएँ । मैले पुनः लोकसेवाबाट परीक्षा दिएर मेडिकल अफिसरबाटै काम शुरू गर्नुपर्ने भनिएपछि फेरि जर्मनी गएँ ।’
सोही अन्तर्वार्ता शेयर गर्दै श्रेष्ठले लेखेकी थिइन्, ‘फर्किने वातावरण बनाउनु पर्छ ।’
कोइरालाले भने जस्तो सुमनाले उनलाई स्पष्टीकरण सोधेकी थिइनन् । एउटा सांसदले अस्पतालको विभागीय प्रमुखलाई स्पष्टीकरण सोध्ने ल्याकत पनि राख्दैन । उनले केवल मेडिकल काउन्सिलसँग प्रश्न सोधेकी थिइन् । यसले डा. कोइरालालाई कुनै कानूनी वा नैतिक दबाब परिहालेको अवस्था थिएन । शल्यक्रिया नगर्ने उनको घोषणा दम्भ र लघुताभाषको द्योतकमात्र थियो ।
सुमनाको यो ट्विट डा. कोइरालालाई जँचेन । उनले सुमनाको ट्विटलाई रिट्विट गर्दै डा. मखनलाल श्रेष्ठमाथि गम्भीर आरोप लगाए ।
कोइरालाले ट्विट गर्दै लेखेका थिए, ‘२००२ मा म गंगालालको सर्जरी विभागको संयोजकमात्र थिएँ र हाम्रामा सो समय लोकसेवा वा मे.अ.बाटै जागिर गर्नु पर्दैनथ्यो । पछि डा. साहेब गंगालाल आउँदा स्वागत गरेर यहाँले अपरेसन गरेका चारै बिरामीको मृत्यु सहज मान्दियौं पनि । प्लिज्, म आज विभागीय प्रमुख यहाँलाई सो पद आजै छाड्छु । फर्किने हो ?’
‘अपरेशन गरेका चार बिरामीको मृत्युलाई सहज मानिदिएको’ भन्ने डा. कोइरालाको टिप्पणी अत्यन्तै हलुका र असंवेदनशील थियो । विवादको उत्पत्ति यहीबाट भयो । सांसद सुमनाले पनि यसलाई सहज रुपमा लिन सकिनन् । अध्ययनशील र प्रखर सांसदको छवि बनाएकी सुमनाले डा. कोइरालाको ट्विटलाई मेडिकल काउन्सिलतर्फ धकेलिदिइन् र केही प्रश्न सोधिन् । ‘के गंगालाल अस्पतालमा अपरेशन गरिएका बिरामीको मृत्युलाई सहज मानिन्छ ?’ भन्ने प्रश्नले डा. कोइरालाको मथिंगल हल्लियो । र, उनले आवेशमा निर्णय लिए- यो विषयको किनारा नलागुञ्जेल बिरामीको अपरेशन नगर्ने ।
उनले ट्विटरमा लेखेका थिए, ‘प्रिय हृदयरोगको अपरेसन गर्न मलाई छान्ने महानुभावहरु, मेरोबारेमा रास्वपाकी आदरणीय सांसद सुमना श्रेष्ठले मेडिकल काउन्सिलमा स्पष्टीकरण सोध्नुभएकाले सो मुद्दा किनारा नलागेसम्म नैतिक रुपले यहाँहरुको अपरेशन गर्न नमिल्ने हुनाले आइतबारेदेखि अपरेशन गर्र्दिनँ । अरुसँगै गराउनु ल सरी !’
कोइरालाले भने जस्तो सुमनाले उनलाई स्पष्टीकरण सोधेकी थिइनन् । एउटा सांसदले अस्पतालको विभागीय प्रमुखलाई स्पष्टीकरण सोध्ने ल्याकत पनि राख्दैन । उनले केवल मेडिकल काउन्सिलसँग प्रश्न सोधेकी थिइन् । यसले डा. कोइरालालाई कुनै कानूनी वा नैतिक दबाब परिहालेको अवस्था थिएन । शल्यक्रिया नगर्ने उनको घोषणा दम्भ र लघुताभाषको द्योतकमात्र थियो ।
डाक्टरलाई भगवानको रुप पनि भन्ने गरिन्छ, कारण मृत्युको मुखमा पुगेका बिरामीहरुलाई उनीहरुले बचाउन सक्छन् र नयाँ जीवन दिन सक्छन् । यदि बचाउन सकिने कुनै बिरामीको चिकित्सकीय त्रुटिले ज्यान गयो भने त्यो सामान्य मानिँदैन । चिकित्सक स्वयंका लागि र अस्पतालका निम्ति पनि यो एउटा कालो धब्बा बनेर रहन्छ । त्यसको अनुसन्धान आवश्यक हुन्छ । यस हिसाबले डा. कोइरालाको ट्विट आपत्तिजनक नै थियो भने सुमनाले सोधेका प्रश्नहरु जायज थिए ।
कोइरालाले काउन्सिललाई वा सुमनालाई चित्तबुझ्दो तरिकाले लिखित जवाफ दिन सक्थे । तर, उनी उत्तेजनामा आए । आफ्नो आत्मसम्मानमा ठेस लागेको महसुस गरे । यसबाट प्रश्नको सामना गर्न नसक्ने डा. कोइरालाको कमजोरी एक्सपोज भएको छ । त्यसाे त यस्ताे प्रवृत्ति उनले ट्विटरमा बारम्बार देखाउने गरेका छन् ।
डा. कोइराला स्वयं भने ‘खोक्रो बौद्धिक’ होइनन् । उनीसँग बहुआयामिक बौद्धिकता छ, जसलाई केपी ओलीसँग तुलना गर्न सकिन्छ । जसरी ओलीले विज्ञानदेखि धर्म, खेलकुददेखि वनजंगलसम्मका विषयमा धाराप्रवाह प्रवचन दिन सक्छन्, डा. कोइराला पनि हरेक विषयमा दख्खल राख्छन् । तर्कसहित जोकसैको आलोचना गर्न सक्छन् ।
कोइराला आफ्नो विचार र धारणासँग असहमत हुनेहरुलाई सहँदैनन् । आलोचनाको सामना गर्ने क्षमता कमजोर छ । कसैले उनीमाथि संवेदनशील प्रश्न उठायो वा कडा शब्दमा टिप्पणी गर्यो भने जवाफ दिनुको साटो सोझै ‘ब्लक’ ठोक्छन् । उनको फलोअर्स लिस्टकै हाराहारीमा ब्लक लिस्ट पनि नहोला भन्न सकिन्न । यद्यपि ब्लक गर्ने वा नगर्ने उनको निजी रोजाइको विषय हो ।
डा. कोइराला ट्विटरबाट बारम्बार विभिन्न घुर्की दिइराख्छन् । उनले गत पुसमा सरकारी सेवाबाट राजीनामा दिने मनस्थितिमा रहेको भन्दै ट्विट गरेका थिए ।
उनको ट्विट थियो, ‘देशमा स्वास्थ्य र शिक्षा सरकारको दायित्व हो भन्ने म मन नपरिकन पनि कसोकसो सरकारीबाट राजीनामातिर पुग्दैछु । मेरो भान्साबारे चिन्तै गरेर दण्डवतको हैसियतमा त छुइनँ नै । सरी गंगालाल र धन्यवाद भाउजू ! जय नेपाल !’
कुन विषयवस्तुमा असन्तुष्टि हो भन्ने उनले खुलाएका थिएनन् । तर, ‘भाउजू’ भनेर कांग्रेस सभापति शेरबहादुर देउवापत्नीलाई इंगित गरेको ठानिएको थियो । यद्यपि, उनले न राजीनामा दिए न त आफ्नो ट्विटबारे प्रष्ट्याए ।
उनले गंगालालको कार्यकारी निर्देशक बन्न नपाएकोमा भाउजूमात्र होइन, कांग्रेसका दुई महामन्त्रीप्रति पनि कटाक्ष गरेका थिए । समकालीन नेताहरुमध्ये कांग्रेसका महामन्त्रीप्रति उनी बेहद आशावादी पनि छन् ।
त्यसो त ट्विटरमा डा. कोइरालाका प्रशंसकहरु पनि टन्नै छन् । यस हिसाबले उनलाई ट्विटर सेलिब्रिटी मान्दा पनि हुन्छ । ट्विटरमा उनका १ लाख ६२ हजारभन्दा बढी फलोअर्स छन्, जुन उनले चिकित्सा क्षेत्रमा कमाएको ख्यातिबाट मात्रै आर्जेका अवश्य होइनन् । ती उनका एउटा विचार समूहप्रति घृणा र अर्कोप्रति आशा जगाउने ट्विटका फ्यान हुन् । फ्यान नभए पनि उनका ट्विटमा चासो दिनेहरु हुन् । आलोचकहरु पनि उति नै होलान् । गंगालालमा उनीजस्तै धेरै चिकित्सक छन्. तर ट्विटरबाटै सार्वजनिक चर्चामा आएका उनीजस्तो अरु सार्वजनिक फोरममा सवाल जवाफ गर्दैनन् र उनीजस्तै चिनिदैनन् पनि ।
हर्क साम्पाङका फेसबुक स्टाटस जस्तै डा. कोइरालाका ट्विटहरुले धेरैको ध्यानाकर्षण गर्छन् । यद्यपि, यी दुईबीच शैलीगत भिन्नता छ । दुवै अरुको उछितो काढ्न दक्ष भए पनि साम्पाङ अमर्यादित र अशिष्ट शब्दहरु प्रयोग गर्छन् भने कोइराला अलि घुमाउरो र क्लीस्ट तरिकाले लेख्छन् । कोइरालाका शब्दमा बौद्धिकताको लेपन हुन्छ, साम्पाङका शब्दमा जसको अभाव छ ।
लामिछानेले भनेका थिए, ‘रामेश कोइरालाले ट्वीट लेख्छ भनेर मान्छे बहुलाएर हिँड्या छ । ह्वाट द हेल ! उहाँको बौद्धिकताको लम्बाइ धेरै होला । तर, उहाँको बौद्धिकताको लम्बाइ गगन थापाको कट्टुको साइजभन्दा बढी छैन ।’
जे भए पनि ट्विटरमा डा. कोइरालाको आफ्नै रवाफ छ । उनका समर्थक/प्रशंसकहरुको एउटा संगठित डफ्फा नै रहेको मानिन्छ, जसले कोइरालामाथि भएका प्रहारमा अगाडि बढेर छाती थाप्छ । ‘नेपालीहरुको आईक्यू कमजोर छ’ भन्ने ट्विटर स्कुलिङका मुख्य प्रिन्सिपल डाक्टर कोइराला नै हुन् । यो स्कुलका विद्यार्थीहरु आफूहरुलाई बेग्लै बौद्धिक क्लासको सोच्छन् । चर्को स्वरमा आदर्शका कुरा गर्छन्, आधुनिकता/स्वच्छन्दताको नारा लगाउँछन्, एक-अर्काको ट्विटलाई रिट्विट हानेर एैंचोपैंचो गर्छन् । यो स्कुलिङमा हरेक प्रकारका अतिवादीहरु जोडिएका छन् । उनीहरु राष्ट्रियतालाई नफरत गर्छन्, धर्म-संस्कृति (मूलतः हिन्दू धर्मका) विरुद्ध अवहेलना फैलाउँछन्, साम्प्रदायिकता र नक्कली महिलावादको व्यापार गर्छन् । भित्र खोक्रो भए पनि बाहिर बौद्धिकताको भ्रम छर्ने प्रयासमा हुन्छन् । अझ आफ्नो व्यक्तिगत आचरण विपरीत आदर्शवान छबि सामाजिक सञ्जालमा देखाउन प्रयास गर्छन्, लोकरिझ्याइँका लागि ।
डा. कोइराला स्वयं भने ‘खोक्रो बौद्धिक’ होइनन् । उनीसँग बहुआयामिक बौद्धिकता छ, जसलाई केपी ओलीसँग तुलना गर्न सकिन्छ । जसरी ओलीले विज्ञानदेखि धर्म, खेलकुददेखि वनजंगलसम्मका विषयमा धाराप्रवाह प्रवचन दिन सक्छन्, डा. कोइराला पनि हरेक विषयमा दख्खल राख्छन् । तर्कसहित जोकसैको आलोचना गर्न सक्छन् । आफ्नो पेशागत सरोकारभन्दा बाहिरका एकदमै प्राविधिक विषयलाई पनि गहिरोसँग पर्गेल्ने विशिष्ट क्षमता छ । निष्कर्ष सही नै निकाल्छन् भन्ने चाहिँ छैन । जे होस, यो बहुआयामिक बौद्धिकताले नै उनलाई ‘गुगल डाक्टर’ को परिचय दिएको छ ।
साहित्यमा पनि डा. कोइरालाको दख्खल छ । उनले केही पुस्तक पनि ल्याइसकेका छन् । उनले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजको मुटुको शल्यक्रिया गरेका थिए । उक्त शल्यक्रियापछि कोइरालाले शोभराजमाथि किताब नै लेखे । पेशागत जिम्मेवारीको हिसाबले जोसुकै बिरामीको शल्यक्रिया गर्नु स्वाभाविक नै भए पनि पुस्तक नै लेख्दा भने उनले आलोचना खेप्नु परेको थियो ।
त्यसो त डा. कोइरालाको बौद्धिकताले अन्तत्वगत्वा गगन थापाको अँगालाेमा पुगेर छाँद हाल्छ पनि भन्ने गरिन्छ । केहीअघि रास्वपा सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमै यस्तोखालको आरोप लगाएका थिए र त्यसलाई धेरैले विश्वाससमेत गरे ।
लामिछानेले भनेका थिए, ‘रामेश कोइरालाले ट्वीट लेख्छ भनेर मान्छे बहुलाएर हिँड्या छ । ह्वाट द हेल ! उहाँको बौद्धिकताको लम्बाइ धेरै होला । तर, उहाँको बौद्धिकताको लम्बाइ गगन थापाको कट्टुको साइजभन्दा बढी छैन ।’
लामिछानेको यो अभिव्यक्ति अतिरञ्जित हो, यद्यपि डा. कोइराला र गगन थापाको अन्तरसम्बन्ध लुकेको भने छैन । थापा स्वास्थ्यमन्त्री हुँदा कोइरालालाई सल्लाहकार बनाएका थिए । कोइरालाको ट्विटहरुमा थापाप्रतिको अनुराग खुलेरै प्रकट भएको हुन्छ । जस्तो कि दुई दिन अगाडि मात्रै उनले थापाको एउटा भाषण शेयर गर्दै लेखेका छन्, ‘गगन थापा बोल्छ मात्र भन्ने हर एक नेतालाई डर छ, यो चालकको सीटमा बसेका दिन हाम्रो दिन सकिन्छ भन्ने ।’
कमीकमजोरी जोकसैका हुन्छन् । आफ्नो कमजोरी चिनेर सच्चिने साहस गर्नु सबैभन्दा ठूलो कुरा हो । यसका लागि ठूलै मुटु चाहिन्छ । डा. कोइरालाले अहिलेको प्रसंगमा त्यो साहस गरेका छन् । उनले बाटो बिराएनन् । अहंलाई थाँती राखेर कर्तव्यपालनालाई निरन्तरता दिए । यसलाई ‘चिसै पानीले नुहाएको’ भनेर हियाउनु उचित होइन । यो जाडोमा चिसो पानीले नुहाउन पनि त ठुलै मुटु चाहिन्छ नि !