७६६ औद्योगिक प्रतिष्ठानलाई नापतौलको इजाजत पत्र प्रदान
बागमती । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको छ महिनामा सात सय ६६ व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालनका लागि नयाँ इजाजत पत्र प्रदान गरेको छ ।
कार्यालयका अनुसार मकवानपुर, चितवन, पर्सा, बारा तथा रौतहट जिल्लाका व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई गत साउनदेखि पुस महिनासम्ममा सो इजाजत पत्र प्रदान गरेको हो ।
पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले छ महिनाका अवधिमा ३४ व्यवसायीको नापतौल यन्त्रको नवीकरण, दुई हजार पाँच सय १६ व्यवसायीको नापतौल यन्त्रको जाँच तथा नापतौलमा अनियमितता एवं ठगी गर्ने सात सय ८६ व्यवसायीलाई कारबाहीसमेत गरेको छ ।
कार्यालय प्रमुख मनिषकुमार दासले सो अवधिमा एक सय ५५ पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच, चार सय ८६ वटा पम्पको ‘नोजल ’जाँच तथा ६६ वेव्रिजको जाँच गरिएको बताइएको छ ।
साथै सो अवधिमा दुई सय ८८ ट्याङ्करको हेटौंडामा जाँच समेत गरिएको थियो । त्यस्तै सो अवधिमा कार्यालयका कर्मचारीहरूबाट विभिन्न बजार क्षेत्रको १० स्थानमा डोर सञ्चालन, एकल अनुगमन २० पटक तथा नौ पटक संयुक्त अनुगमन समेत भएको थियो । सो कार्यबाट रु ७३ लाख सात हजार आठ सय ५९ राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सञ्जीव ठाकुरले जानकारी दिए ।