एमाले प्रमुख सचेतक गिरी भन्छन्- देशको अखण्डतालाई असर गर्नेबाहेक चलचित्रमा सेन्सरशिप चाहिँदैन
काठमाडौं । चलचित्र जाँच समितिले तयार पारेको २० बुँदे कार्यविधिले यतिबेला फिल्म क्षेत्र हल्लाएको छ । सरकारले ल्याउन लागेको सो कार्यविधिप्रति फिल्मकर्मी असन्तुष्टि छन् । यो कार्यविधि पारित भएको खण्डमा चलचित्र नै बनाउन मुस्किल पर्ने फिल्मकर्मीहरुको गुनासो छ ।
बिहीबार राजधानीमा आयोजित चलचित्र ‘दयारानी’को प्रिमियर हेर्न पुगेका एमालेका प्रमुख सचेतक तथा पूर्वस्वास्थ्यमन्त्री पदम गिरीले यो विषयमा आफ्नो धारणा व्यक्त गरेका छन् । उनले चलचित्र राम्रो लागेको बताउँदै २० बुँदे कार्यविधिको विषयलाई नयाँ ढंगले सोच्नुपर्ने बताए ।
उनले भने, ‘चलचित्र जाँच पास समितिले तयार पारेको नयाँ कार्यविधि पुरानो सोचमा आधारित छ। सेन्सर बोर्डका मानिसहरूले पुरानो सोचले सोच्नुभएन, क्रियटिभ तरिकाले सोच्नुपर्यो ।’
पुरानो सोचले अहिलेको समयमा नचल्ने गिरीको भनाइ छ । ‘कुनै पनि चलचित्रलाई त्यसको भित्री मर्मअनुसार हेर्न सक्नुपर्छ । पुरानो सोचले अहिलेको समाजलाई प्रतिनिधित्व गर्न सक्दैन । समयअनुसारको आधुनिकीकरण जरुरी छ’, उनले भने, ‘सेन्सरशिप केमा लागू गर्न जरुरी छ भन्ने हो । देशको अखण्डताको बारेमा केही कुरा उठ्यो भने सेन्सरशिप आवश्यक छ, होइन भने कुनै पनि कुरामा सेन्सर गर्न आवश्यक छ जस्तो मलाई लाग्दैन ।’
समाजलाई विखण्डन गर्ने, देशको अखण्डतालाई कमजोर पार्ने खालको भयो भने सेन्सर आवश्यक हुने उनको भनाइ छ ।