राजीनामा फिर्ता लिएका विमानस्थलका डीआईजी अर्जुन चन्दको काज सरुवा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको काज सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको सिफारिसमा गृह मन्त्रालयले उनलाई प्रहरी प्रधान कार्यालयमा रहेको प्रदेश समन्वय विभागमा सरुवा भएको प्रहरी महानिरीक्षको सचिवालय स्रोतले जनाएको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) सुदीप गिरी प्रमुख रहेको विभागमा दोस्रो बरियतामा रहनेगरी उनको काज सरुवा भएको हो ।
विमानस्थलमा प्रहरी र अध्यागमन विभागका कर्मचारीबीच कुटपिट भएको घटनामा प्रहरीलाई कारबाही गरिएको प्रति डीआईजीपी चन्द असन्तुष्ट थिए । गृह मन्त्रालयले बनाएको छानबिन समितिले पनि प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेपछि उनले राजीनामा दिएका थिए ।