अनियमित विद्युत कटौतीविरुद्ध उद्योगी आन्दोलित, उद्योग बन्द गरेर साँचो बुझाउने चेतावनी (भिडिओ)
गर्मी सुरु नहुँदै घन्टौं विद्युत् कटौती, उत्पादन घटकाले अझै समस्या बढ्ने प्राधिकरणको भनाइ
रुपन्देही । केही सातायता अघोषितरुपमा दैनिक १२।२४ घन्टासम्म विद्युत कटौती हुन थालेपछि रुपन्देहीका उद्योगीहरु आन्दोलनमा उत्रेका छन् । उनीहरुले विभिन्न समस्याले थला परेका उद्योगीलाई अघोषित लोडसेडिङले उत्पादन कार्य ठप्प भएको बताउँदै यस्तै भए बन्द गरेर साँचो बुझाउन तयार रहेको बताएका छन् ।
केही समययता दैनिक घन्टौ बन्द हुने विद्युतको समस्या झेल्दै आएका यहाँका उद्योगीले समस्या आएको विषय उद्योगीसँग लुकाएर अघोषित रूपमा पटक पटकको लोडसेडिङले थप मारमा परेको बताए । ३३ केभिए तथा ११ केभिए औद्योगिक कोरिडोरका उद्योगहरुमा विगत केही दिनदेखि दैनिक पटक पटक अघोषित विद्युत कटौती भइरहेको रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले बताए ।
उद्योगहरुमा भएको अघोषित लोडसेडिङले उद्योगहरुको उत्पादनमा रहेका कच्चा पदार्थ बिग्रेको, बजारमा मालवस्तुको अभाव सिर्जना भइसकेको तथा मूल्यवृद्धि हुने डर रहेको उनले बताए ।
उनले भने, ‘यस्तो आर्थिक संंकटमा उद्योग चलाउनुपरेको छ, अघोषित विद्युत कटौतीले झनै संकटमा पार्यो, विविध प्रकारका नोक्सानी व्यहोर्नुपरेको कारण निर्वाध रुपमा उद्योगहरु सञ्चालन हुन नसकी उद्योगहरु बन्द हुन स्थितिमा पुगेका छन् ।’
राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उद्योगहरुलाई गुणस्तरीय तथा निरन्तर विद्युत आपूर्तिको तालिका मिलाइ उद्योग सञ्चालनको वातावरण सिर्जना गर्न उनले माग गरे ।
उद्योगमा पटक-पटक विद्युत कटौती भएकाले उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत प्राधिकरणको प्रदेश कार्यालयमार्फत प्रणाली सञ्चालन विभाग, विद्युत कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँमिललाई समेत रुपन्देही उद्योग संघले शुक्रबार ध्यानाकर्षण गराएको छ ।
उद्योगमा केही समययता दैनिक १२ घण्टासम्म अघोषित रूपमा लोडसेडिङ रहेको .द्योगीहरुको भनाइ छ । यसरी कटौती गर्दा उद्योग सञ्चालनमा समस्या आएको उद्योगी माधव पौडेलले बताउँछन् । उनले उद्योग सञ्चालन हुन नसक्दा आपूर्तिमा असहज हुने र यसले देशकै अर्थतन्त्रमा समस्या पार्ने भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘उद्योग सञ्चालन हुन नसके मूल्यवृद्धि हुनसक्छ, सामान आयात गर्नुपर्ने अवस्था आउँछ, जसले गर्दा व्यापार घाटा पनि बढ्छ ।’
पन्चकन्या उद्योगका प्रबन्धक देवेन्द्र साहुले प्राधिकरणले विद्युत दिन नसक्ने भए पूरै उद्योग बन्द गर्न तयार रहेको तर यसरी सूचनाबिना कटौती गरेर थला परेका उद्योगीलाई थप हतोत्साहित नबनाउन आग्रह गरे । ‘यसैपनि हाम्रा उद्योग आधा चलेका छैनन्, यस्तो समयमा हामीले कुन समयमा काम गरेर उद्योग थेग्ने अवस्थामा छौं, त्यसमाथि जुनसुकैबेला कटौती गरेपपछि कतिबेला चलाउने ?’, उनले प्रश्न गरे ।
‘उद्योगीलाई पहिले तर्साउन हुँदै नभएको ट्रंकलाइनको विषय उठाइयो, अनावश्यक रुपमा विद्युत काटियो यो हामीलाई बन्द गराउने योजना हो, अहिले पुनः यो समस्या थपिएको छ, किन यसरी हामीमाथि अन्याय गरिन्छ ?’, उनले भने ।
बुटवल औद्योगिक क्षेत्रका उद्योगी हिरामणि भट्टराईले विद्युत कटौती गर्ने समस्या आए तत्काल सूचना दिन माग गर्दै अनियमित कटौतीले उद्योगका उत्पादन हुनै नसक्ने बताए । उनले ट्रंकलाइनजस्तै यो पनि उद्योगीलाई तर्साउन बनाइएको रणनीतिका रुपमा बुझ्नु परेको गुनासो गरे ।
‘देशको समस्या हामी उद्योगी व्यवसायीले पनि बुझेका छौं । समस्या भए लोडसेडिङको तालिका दिनुपर्यो, नभए यसरी उद्योगी तर्साउन भएन’ उनले भने । लोडसेडिङ गर्ने भए तालिका बनाएर उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना हुनुपर्ने उनको माग छ । उद्योग सञ्चालन गर्न नपाइने भए लिखित रुपमा जानकारी गराउनुपर्ने उद्योगीको माग छ ।
रुपन्देहीको लुम्बिनी कोरिडोरमा मात्रै २ दर्जन बढी र भैरहवा बुटवल क्षेत्रमा दर्जन बढी उद्योग अहिले बन्दसरहको अवस्थामा पुगेको उद्योगीहरु बताउँछन् । उद्योगी कृष्णप्रसाद पराजुलीले उद्योगीले माग गरेअनुसार तत्काल समय तालिकाअनुसार विद्युत कटौती गर्न र उद्योगीहरुको माग पूरा गर्न आग्रह गरे ।
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख इं हरिप्रसाद पाण्डेले विद्युत् आपूर्तिमा समस्या भएको कारण उद्योगतर्फ समस्या आएको बताए । उनले भने, आएको विद्युत हामीले वितरण गर्ने हो, उद्योगहरुको माग अनुसारको आपूर्ति नभएकोले विद्युत अनियमित हुने गरेको हो, यो अघोषित कटौती हो लोडसेडिङ होइन ।’
उनले प्रदेशमा अहिले के कति समस्या भएको हो भनेर केही दिनमा तथ्यांक निकालेर उद्योगीसँग समन्वय गरेर तालिका निकाल्ने बताए । उनले अहिले पानी नपरेर उत्पादन कम भएको, र भारतबाट चाहेजति किन्न नसकिएकाले समस्या भएको बताए ।
‘यहाँ उत्पादन दिनहुँ घटिरहेको छ, मागको ५० प्रतिशत पनि पुगेको छैन, अहिले सम्पतियाबाट ७५ मेगावाट किनिएको छ, तर त्यो सबै यहाँमात्र चलाउन मिल्दैन, भोल्टेजमा समस्या छैन तर आयात गर्नुपर्ने भएकाले समस्या भएको हो, गर्मी नलाग्दै उत्पादनमा कमी आएपछि पछि झन् बढी समस्या आउने देखिन्छ’ इन्जिनियर पाण्डेले भने, ‘लोड म्यानेज गर्न सूचना आइसकेको छ, छिटै सूचना दिएर काट्ने व्यवस्था गर्नेछौं ।’