बलम्बुका सहायक हवल्दार मृत्युबारे अध्ययन गर्न एसएसपी मैनालीको नेतृत्वमा छानबिन समिति गठन – Nepal Press

बलम्बुका सहायक हवल्दार मृत्युबारे अध्ययन गर्न एसएसपी मैनालीको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौं । आफ्नो ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर मृत्यु भएका प्रहरी सहायक हवल्दारको घटनाको अध्ययनका लागि प्रहरीले छानविन समिति गठन गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीको संयोजकत्वमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मिलन केसी र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारी सदस्य रहनेगरी तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

छानविन समितिलाई १० दिनको समयसीमा दिइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) दिपक थापालेले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘यो पुर्णरुपमा दुर्घटना भए पनि ड्यूटीबाट फर्किँदा केही विषयमा लापरबाही भएको पनि हुनसक्छ । भविष्यमा यस्ता घटना हुन नदिनका लागि भनेर सिफारिस गर्नेसम्मको जिम्मेवारी दिएर छानबिन समिति बनाएको हो ।’

बिहीबार राति ११ः१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर प्रहरी प्रभाग बलम्बुमा कार्यरत प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको थियो ।

घटना भएलगत्तै नजिकै रहेको मिड पोइन्ट अस्पतालमा लगिएको थियो । लगत्तै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

अहिले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । प्रहरीका अनुसार, सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक अध्ययनबाट देखिएको छ । गाडी चालक सहायक हवल्दार रामप्रसाद यादव प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रहरी स्रोतका अनुसार बलम्बुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठ र सवारी चालकका बीचमा केही दिनदेखि विवाद भइरहेको थियो । मृतक सहायक हवल्दार सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ सुवाकोटका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर