रुपन्देहीमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु – Nepal Press

रुपन्देहीमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु

पहिलो दिन बागमती प्रदेश, एपीएफ र कोशी प्रदेश विजयी

रुपन्देही । शुक्रबारबाट रुपन्देहीमा ९ औं मणिमुुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता–२०८० सुरु भएको छ । प्रदेश खेलकुद परिषद, लुम्बिनीको मुख्य प्रायोजन, नेपाल भलिबल संघको संयोजन तथा मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सिके गुप्ताले गरे ।

तिलोत्तमा नगरपालिका वडा नं २ स्थित खेल मैदानमा भएको प्रतियोगिताको पहिलो दिन ३ वटा खेल भएका छन् । जसमा बागमती प्रदेश, एपीएफ र कोशी प्रदेश विजयी भएका छन् । पहिलो खेल बागमती प्रदेश र कर्णाली प्रदेशबीच भएको थियो । जसमा बागमती विजयी भएको छ ।

बागमतीले कर्णालीलाई २२–२५, २५–१६, २५–१८ र २६–२४ स्कोरमा जित हात पारेको हो । त्यसैगरी दोस्रो खेल कोशी प्रदेश र मधेश प्रदेशबीच खेल भएको थियो । जसमा कोशीले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ । कोशीले २६–२४, २५–१६ र २५–१३ को स्कोरमा जित हात पारेको हो ।

यसैगरी लुम्बिनी प्रदेश र एपीएफबीचको खेल एपीएफले जितेको छ । जसमा एपिएफ २१–२५, २५–२०, २५–१९, २०–२५ र १५–१० स्कोरको निकै प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटमा विजयी भएको हो ।

प्रतियोगिता अन्तर्गत शनिबार शुक्रबार हुन नसकेको नेपाल पुलिस र सुदूरपश्चिम प्रदेशको खेलसँगै त्रिभुवन आर्मी र मधेश प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ । फागुन ३ गतेसम्म चल्ने प्रतियोगितामा प्रत्येक दिन ४ वटा खेल सञ्चालन गरिने छ ।

प्रतियोगितामा सहभागी १० टिमलाई २ वटा पोलमा विभाजन गरी खेलाइएको छ । लिग कम नकआउटका आधारमा खेलाइएको खेलमा दुई पोलबाट पहिलो र दोस्रो भएर आएका टीम फागुन २ गते फाइनलका लागि भिड्नेछन् । रुपन्देहीमा १६ वर्षपछि राष्ट्रियस्तरको भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर