कोरियाको आर्थिक विकास, नेपालको लागि सिकाइ – Nepal Press

कोरियाको आर्थिक विकास, नेपालको लागि सिकाइ

सन् १९६० को दशकसम्म आधिकारिक रुपमा कोरिया गणतन्त्र भनेर चिनिने दक्षिण कोरिया संसारका गरिब राष्ट्रहरुको समूहमा गनिन्थ्यो । त्यति बेला नेपाल र दक्षिण कोरिया प्रतिव्यक्ति आयको हिसाबले एउटै अवस्थामा थिए । तर, सन् २०२३ मा चित्र पूर्णतया फरक भएको छ । दक्षिण कोरियाले आर्थिक बलको हिसाबले आफूलाई महत्वपूर्ण रुपमा रुपान्तरण गर्न सफल भएको छ । पाँच दशकको अवधिमा दक्षिण कोरियाले ठूलो आर्थिक प्रगति गरेको छ । कोरिया अहिले विश्व उदीयमान अर्थतन्त्र भएको मुलुकको रुपमा स्थापित हुन सफल भएको छ । अहिले दक्षिण कोरियालीहरुको प्रतिव्यक्ति आम्दानी करिब ३३ हजार १४७ अमेरिकी डलर पुग्यो । नेपालीको प्रतिव्यक्ति आम्दानी १ हजार ३९९ अमेरिकी डलर रहेको छ ।

कुनै पनि राष्ट्रलाई विकासको बाटोमा लैजान राजनैतिक नेतृत्वमा दूरदर्शिता अपरिहार्य हुन्छ । दूरदर्शी राजनीतिक नेतृत्व, कामप्रति जनताको समर्पण र राष्ट्रिय भावनाले दक्षिण कोरियाको आर्थिक स्थितिलाई वर्तमान अवस्थामा पुर्‍याएको हो । कोरियालाई त्यस्तो अवस्थाबाट हालको अवस्थामा ल्याउन तत्कालीन राष्ट्रपति पार्क चुङ हेको ठूलो योगदान छ । कुनै पनि नागरिकलाई भोकै रहन नदिन उनी कटिबद्ध थिए । स्वतन्त्र र आत्मसम्मानका साथ बाँच्न आर्थिक अवस्था सुधार्नुपर्छ भन्ने कुरामा विश्वास गर्ने उनको दूरदर्शी नेतृत्वको गुणस्तर र पूर्ण तत्परताले कोरियालाई आधुनिक र विकसित राष्ट्र बनाइदियो ।

कोरियाली राजनीति स्थायित्व, सक्षम र दूरदर्शी नेतृत्व कुनै पनि राष्ट्र विकासका लागि पूर्वशर्त हो भन्ने प्रमाणित भएको छ । आफ्नो नेतृत्वमा उनले योजना विभागको स्थापना गर्दै बजेट व्यवस्थापनलाई प्रभावकारी कार्यान्वयन गर्न र अनुगमन प्रणालीलाई व्यवस्थित गर्न जोड दिएका थिए । मुलुकको विकासका लागि सडक सञ्जाल विस्तार, आयातलाई जोड दिनुपर्ने उनको रणनीति थियो । तत्कालीन अवस्थामा राज्यसँग सडक निर्माणका लागि आवश्यक पर्ने पूँजी थिएन । उनको निर्देशनमा करिब २० हजार नर्सलाई जर्मनीमा काम गर्न पठाएर जर्मनीबाट ४०० मिलियन अमेरिकी डलर ऋण लिएको थियो । सोही ऋणमा बुसानदेखि सियोलसम्म ४०० किलोमिटर सडक निर्माण भएको थियो । त्यसपछि सरकारी र निजी कम्पनीहरुले निर्यात व्यापार गर्न थालेका थिए र राज्यले विदेशी मुद्रा आर्जन गर्न सफल भएको थियो । राज्यले निर्यात गर्ने कम्पनीलाई कर्जामा सस्तो ब्याजदर, करमा छुटलगायतका विभिन्न योजना र सहुलियत दिने नीति र योजना बनाएकाले तत्कालीन समयमा धेरै कम्पनी स्थापना भएका थिए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नारा बोकेको नेपालले दक्ष जनशक्ति विदेश पठाइ त्यसबाट भित्रिएको रेमिटेन्सबाट नै देश चलाउँछौं भन्नु मूर्खता हो । यो विषयप्रति अब राज्यको ध्यानाकर्षण हुन आवश्यक छ । स्थानीयदेखि संघीय सरकारले समेत युवालाई स्वदेशमै बस्न सक्ने गरी रोजगारीको सृजना गर्नुपर्ने आजको आवश्यकता हो ।

शुरु-शुरुमा कोरियाले पनि युवालाई विदेश पठाएर विदेशी मुद्रा कमाएको थियो । कोरियालीहरु साउदी अरब, अफ्रिका र तत्कालीन पश्चिम जर्मनको पेट्रोलियम र कोइला खानीमा काम गर्न जाने गर्थे । कोरियालीहरुलाई अन्य देशका कामदारहरुले पाउने औसतभन्दा कम पारिश्रमिक दिइन्थ्यो । एकातिर कोरियाली युवाहरु स्वदेशमा स्रोतसाधन र उद्योगको अभावमा रोजगारीका लागि विदेश जान बाध्य थिए भने अर्कोतिर निकै कठिन र जोखिमपूर्ण काममा खटिएका थिए । त्यसबेला यी युवाले पठाएको रेमिटेन्सको सही सदुपयोगबाट कोरियाले विस्तारै विस्तारै उद्योग स्थापना ग¥यो र अहिले अन्य देशका लाखौं युवालाई ल्याएर रोजगारी दिने अवस्थामा पुगेको छ ।

सन् १९६४ सेप्टेम्बरदेखि १९७३ मार्चसम्म भएको भियताम युद्धका बेला अमेरिकाले कोरियालाई आफ्नो सेना पठाउन अनुरोध गरेको थियो र कोरियाले ३५ हजार सिपाही पठाएको थियो । अमेरिकाले उनीहरुलाई दिएको तलब ठूला आयोजना निर्माणमा खर्च गरिएको थियो । यसरी वैदेशिक रोजगारीमा गएका युवालाई उनीहरुकै रेमिटेन्सले रोजगारी सृजना गरी स्वदेश फिर्ता बोलाउन कोरिया सफल भएको थियो । सन् १९७० को दशकमा कपडाका साना उद्योगहरुबाट शुरु भएको कोरियाको व्यापार सन् १९८० मा फलाम, स्टिल, अटोमोबाइल, मेसिनरी सामान र सेमिकन्डक्टरका सामानहरु र सन् १९९० मा जहाज, इलेक्ट्रोनिक र सूचना तथा प्रविधिसँग सम्बन्धित सामग्री निर्यात गरेको थियो । यसरी कोरिया कृषिबाट औद्योगिक राष्ट्र बनेको थियो ।

संवेदनशील कुशल र दूरदर्शी नेतृत्वले देशको भविष्य कसरी परिर्वतन गर्नसक्छ भन्ने उदाहरण आज कोरिया स्थापित भएको छ । विकासोन्मुख राष्ट्रका लागि रेमिटेन्स महत्वपूर्ण घटक हो । आर्थिक वर्ष २०७९/८० मा नेपालले मासिक औसत १०० अर्बभन्दा बढी रेमिटेन्स आप्रवाह भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत वर्षको वार्षिक तथ्यांकअनुसार असार मसान्तसम्म १२ अर्ब २० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा रेमिटेन्स २१.२ प्रतिशतले बढेको छ । नेपालमा हिजो सत्ता परिर्वतन, विकास, समाजवाद आदि इत्यादिको नारासहित सडकमा गोली थाप्दै हिँड्ने युवा परिर्वतन आएर सबै कुरा भरिपूर्ण भैसकेपछि पनि देशमै बसेर केही गर्न सकिने अवस्था नदेखेपछि आफ्नो ज्यानको बाजी राखेर भए पनि वैदेशिक रोजगारका लागि विदेश जानुपर्ने बाध्यता छ । यही बाध्यताकै वरिपरि रहेर हरेक नेपालीले प्रवासमा कठिनभन्दा कठिन काम गरिरहेका छन् ।

विदेशबाट पठाएको पैसाले स्वदेशमा उत्पादनमूलक कार्यमा लगानी गरी युवालाई स्वदेशमै बस्न सक्ने अवस्था सृजना गर्न आवश्यक छ । आफूसँग भएको कच्चापदार्थको भरपुर प्रयोग गर्दै सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्न देशको मुख्य सामाजिक–आर्थिक शक्तिको रुपमा रहेको श्रम शक्तिलाई दक्ष र व्यवसायिक बनाउनुपर्छ ।

वैदेशिक रोजगारमा गएका कैयौं युवायुवतीले कामको सिलसिलामै अकालमै ज्यान गुमाउने र कोही विदेश जान पाउँ भन्दा राज्यको गोली खाएर मर्नुपर्ने दयनीय अवस्था आज नेपाली युवाको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नारा बोकेको नेपालले दक्ष जनशक्ति विदेश पठाइ त्यसबाट भित्रिएको रेमिटेन्सबाट नै देश चलाउँछौं भन्नु मूर्खता हो । यो विषयप्रति अब राज्यको ध्यानाकर्षण हुन आवश्यक छ । स्थानीयदेखि संघीय सरकारले समेत युवालाई स्वदेशमै बस्न सक्ने गरी रोजगारीको सृजना गर्नुपर्ने आजको आवश्यकता हो । सीप तथा क्षमताको विकास गरी जनतालाई नेपालमै कृषि तथा औद्योगिक क्षेत्रमा विशेष महत्व दिई रोजगारीको सृजना गर्छौं भन्ने धारणा राख्नुबाहेक अर्को विकल्प राज्यसँग छैन ।

विदेशबाट पठाएको पैसाले स्वदेशमा उत्पादनमूलक कार्यमा लगानी गरी युवालाई स्वदेशमै बस्न सक्ने अवस्था सृजना गर्न आवश्यक छ । आफूसँग भएको कच्चापदार्थको भरपुर प्रयोग गर्दै सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्न देशको मुख्य सामाजिक-आर्थिक शक्तिको रुपमा रहेको श्रम शक्तिलाई दक्ष र व्यवसायिक बनाउनुपर्छ । स्वदेशमै रोजगारी अभिवृद्धि गर्ने दृढताका साथ सरकारले नयाँ योजना बनाउन आवश्यक छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने मेहनती र उत्साही युवाले रेमिटेन्सको रुपमा स्वदेश पठाएको रकमको उचित सदुपयोग गरी राज्यले युवालाई देश फर्किन प्रोत्साहन गर्न नीति ल्याई नेपालमा बसी केही गर्न सकिन्छ भन्ने मनोभावनाको विकास गराउनु सरकारको दायित्व हो ।

अहिले लाखौं नेपाली युवा अन्तर्राष्ट्रिय श्रम बजारमा छन् । अर्काको देश बनाइरहेका लाखौं युवाले आफ्नो देश बनाउन नसक्ने कुरै हँुदैन । तर, यो महान उद्देश्यमा राज्य नयाँ योजनासहित लाग्न जरुरी छ । त्यसो नहुँदा जतिसुकै रेमिटेन्स आए पनि देश धनी हुन सक्दैन र देशमा रोजगार सृजना हुने सम्भावना रहँदैन । देशको मुख्य सामाजिक, आर्थिक शक्तिको रुपमा रहेको श्रम शक्तिलाई दक्ष र व्यवसायिक बनाइ स्वदेशमै रोजगारी अभिवृद्धि गर्ने दृढताका साथ सरकारले नयाँ योजना बनाउन अब ढिला गर्नुहुँदैन । दक्षिण कोरिया नेपालको पुरानो मित्र हो । भोकमरीमा परेका बेला कोरियाली नागरिकलाई चामल पठाएर नेपालले ठूलो उपकार गरेको गर्विलो इतिहास छ । कोरियामा हाल करिब ६० हजारभन्दा बढी नेपाली युवा श्रम गरिरहेका छन् । कोरियामा कामदार पठाउन मात्र जोड नगरेर कोरियामा श्रम गरिरहेका युवाहरुले कोरियामा हासिल गरेको सीप र दक्षता नेपालमा सदुपयोग गर्न सकियो भने राज्यले दोहोरो फाइदा उठाउन सक्छ ।

भोकमरीमा परेका बेला कोरियाली नागरिकलाई चामल पठाएर नेपालले ठूलो उपकार गरेको गर्विलो इतिहास छ । कोरियामा हाल करिब ६० हजारभन्दा बढी नेपाली युवा श्रम गरिरहेका छन् । कोरियामा कामदार पठाउन मात्र जोड नगरेर कोरियामा श्रम गरिरहेका युवाहरुले कोरियामा हासिल गरेको सीप र दक्षता नेपालमा सदुपयोग गर्न सकियो भने राज्यले दोहोरो फाइदा उठाउन सक्छ ।

नेपाल प्राकृतिक सम्पदाको हिसाबले कोरियाभन्दा पनि धेरै अगाडि छ । तर, प्राकृतिक स्रोतसाधनलाई सकेसम्म उत्तम र प्रभावकारी बनाउन नसक्दा एकातिर स्रोत खेर गइरहेको छ भने अर्काेतिर ती स्रोतबाट बनेका सामग्री अन्यन्त्रबाट आयात गर्नुपर्ने हुँदा राष्ट्रलाई दोहोरो घाटा भइरहेको छ । कोरियाली प्रविधि, कृषिमा आधुनिकीकरण र लगानीको विविधीकरणमार्फत विकासका गतिविधिमा फड्को मार्न कोरियाबाट नेपालले सिक्नुपर्छ । नेपालले विकासको लक्ष्य हासिल गर्न भौतिक पूर्वाधार, यातायात, विद्युतीकरण र कृषिमा आधुनिकीकरणमा प्राथमिकता दिनुपर्छ । यसका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुका साथै वैदेशिक लगानी आकर्षित गर्न उपयुक्त नीति ल्याउनु आवश्यक छ । विगतमा कमजोर नहुँदा पनि राजनीतिक अस्थिरताका कारण नेपालले अर्थतन्त्र र विकासका गतिविधिमा धेरै पछाडि पर्नुपरेको छ ।

विकासका लागि राजनीतिक स्थायित्व हुन जरुरी हुन्छ । अस्थिर सरकारको कारण नीतिहरुमा स्पष्टता नहुँदा विदेशी लगानीलाई आकर्षित गर्न सकिएको छैन । आयात प्रतिस्थापन गर्न निर्यात गर्ने उद्योगलाई प्राथमिकता दिनुपर्छ । निर्यात गर्ने कम्पनीलाई कर्जामा सस्तो ब्याजदर, करमा छुटलगायतका विभिन्न योजना र सहुलियत दिएको कोरियाको अभ्यास नेपालको लागि अनुकरणीय छ । वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिटेन्सको सही सदुपयोग गर्न सकियो भने मात्रै राज्य सफल बन्न सक्छ । देशको युवा जनशक्ति देशमा रहेमात्र देशको उन्नति र प्रगतिले फड्को मार्छ । कोरियाली प्रविधिमा आधारित विकास मोडल र विकसित देशहरुले पछाएको विकासका गतिविधिलाई चाँडोभन्दा चाँडो अनुशरण गर्ने हो र युवाहरुको ज्ञान, सीप र उद्यमशीलता राष्ट्र निर्माणमा लगाउन सक्ने हो भने नेपालको समृद्धि हाम्रै पालामा सम्भव छ ।

हाल : सियोल, दक्षिण कोरिया


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *