कार्यपालिका बैठक नै नबसी शनिबारको ल्होसार विदा आइतबार दिने राप्ती नगरप्रमुखको निर्णय – Nepal Press

कार्यपालिका बैठक नै नबसी शनिबारको ल्होसार विदा आइतबार दिने राप्ती नगरप्रमुखको निर्णय

चितवन । राप्ती नगरपालिका चितवनका नगरप्रमुख समशेर लामालेले कार्यपालिका बैठकको निर्णय बिना नै शनिबार परेको सोनाम ल्होसारको बिदा भोलि आइतबारको लागि दिएका छन् ।

नगरपालिकाका प्रमुख लामा र नगरकार्यपालिका सदस्यहरुबीच विवादका कारण साउनयता नगरकार्यपालिकाको बैठक बस्न सकेको छैन । तर, नगरप्रमुख लामाले हिजो शुक्रबारको निर्णय भन्दै शनिबार परेको २८६० औँ सोनाम ल्होसारको विदा आइतबारको लागि दिएका हुन् ।

शुक्रबारको मितिमा आज शनिबार सार्वजनिक गरिएको विदा सम्बन्धि सूचनामा भनिएको छ, — २०८० माघ २७ गते शनिबारको दिन पर्न गएको २८६० औँ सोनाम ल्होसारको अवसरमा २०८० माघ २८ गते थप १ दिन यस नगरपालिका भित्रका सम्पूर्ण सरकारी निकाय, विद्यालय, बैँक तथा वित्तीय संस्थाहरु सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ ।’

सामान्यतया नगरपालिकाले कार्यपालिका बैठकबाट विदाको निर्णय गर्नुपर्ने भएपनि आफूहरुलाई कुनै जानकारी नै नदिइ विदाको निर्णय शनिबारको दिन सार्वजनिक गरिएको राप्ती नगरपालिका वडा नम्बर ४ का अध्यक्ष केदार आचार्यले बताए । वडाध्यक्ष आचार्यका अनुसार नगरपालिकामा साउनयता कार्यपालिका बैठक बस्न सकेको छैन । तर, नरप्रमुखले २६ गतेको निर्णय बोमोजिम विदा दिइएको भनेर उल्लेख गरेका छन् ।

राप्ती नगरपालिकाका नगरप्रमुख लामा भने लामो समयदेखि विवादका कारण नगरको बैठक बस्न नसकेकोले अब बस्ने कार्यपालिका बैठकबाट पास गर्नेगरि विदा दिने निर्णय गरिएको बताउँछन् ।

‘अहिले नगरपालिकामा कार्यपालिका बैठक बस्नसक्ने अवस्था छैन, उनले भने —त्यसैले अब जहिले बैठक हुन्छ त्यहिबाट पास गराउने गरि सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।

 


प्रतिक्रिया

One thought on “कार्यपालिका बैठक नै नबसी शनिबारको ल्होसार विदा आइतबार दिने राप्ती नगरप्रमुखको निर्णय

  1. तस्बीर दाङको गाउँपालिकाको राखेर चितवनको नगरपालिकाको न्युज बनाउने ? वाहियात !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर