बाल्मिकी आश्रम जान भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यताः झोलुंगे पुल बनेपनि आएन प्रयोगमा (भिडिओ) – Nepal Press

बाल्मिकी आश्रम जान भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यताः झोलुंगे पुल बनेपनि आएन प्रयोगमा (भिडिओ)

नवलपरासी । आफ्नै देशको धार्मिकस्थल बाल्मीकि आश्रम पुग्न सडक सञ्जालको पहुँच नहुँदा वर्षौदेखि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन । चितवनको माडी नगरपालिका–१ स्थित बाल्मीकि आश्रम जान पूर्वीनवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणीबाट भारतीय बाटो भैसालौटन हुँदै जानुपर्ने बाध्यता छ ।

नेपालबाट सडक सन्जालमा जोड्न नसकेका कारण ऐतिहासिक, प्राचीन र पौराणिक सम्पदाको रुपमा रहेको यो आश्रम पुग्न नेपालीलाई समस्या परेको हो ।

त्यसो त वाल्मीकि आश्रम जोड्न नारायणी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुलसमेत दुई वर्षदेखि बाटो निर्माण नहुँदा प्रयोगविहीनजस्तै बनेर बसेको छ । ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थलको रूपमा रहेको वाल्मीकि आश्रम बाटो नभएकै कारण ओझेलमा परेको छ ।

पुल हुँदै वाल्मीकि आश्रम पुग्नका लागि चितवन राष्ट्रिय निकुञ्जको जङ्गल क्षेत्र प्रयोग गर्नु पर्दछ । बाटो बन्ने योजना अनुरूप २०७१ सालमा ६ करोड ७४ लाख बजेटमा पुल पुल निर्माणको काम सुरु भएर २०७८ मा सम्पन्न भए पनि पुल पारिबाट बाटो बिस्तार नहुँदा त्यो पुलसमेत प्रयोगविहीनजस्तै बनेको छ ।

स्थानीयले यसका लागि सरकारले आश्रमको संरक्षण गर्दै सहज पहुँचमार्ग विस्तार गर्न, भारतसँग सहकार्य गरी रामायण सक्रिट बनाउन, आश्रमका बारेमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न आग्रह गरेका छन् ।

अहिले बाल्मीकि आश्रम जान त्रिवेणी हुँदै गण्डक ब्यारेजबाट पारीपट्टी भारतको बाटो हुँदै जानुपर्छ । नेपालमा रहेको बाल्मीकि आश्रममा ठूलो संख्यामा भारतीयहरु आउँदा नेपालीहरु भने पहुँचमार्ग नभएकै कारण नगन्य रुपमा पुग्ने गरेका छन् । पुजारीका अनुसार यहाँ आउने ९९ प्रतिशत श्रद्धालु भारतीय छन् ।

आश्रमका पुजारी शेखर सुवेदीका अनुसार तत्कालीन राजा महेन्द्रले बाल्मीकि आश्रमका लागि १२ बिगाह जमिन छुट्याएका थिए । तर, हाल वन क्षेत्रमा रहेको भन्दै त्यहाँ आश्रमले कुनै पनि काम गर्न पाएको छैन । आश्रमको वरिपरी ३ वटा पुरानो घर, सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरी एउटा चौकी छ । आश्रम क्षेत्रमा २ वटा नयाँ मन्दिर बनाइएको छ भने एउटा पुरानो मन्दिर छ । त्यहाँ फूल, प्रसाद र मिठाई बेच्ने स्थानीयमात्र देखिन्छन् ।

निकुञ्जको जङ्गल हुँदै ट्र्याक बिस्तारका लागि चालू आर्थिक वर्षमा शहरी विकास मन्त्रालयबाट २० लाख रुपैयाँ विनियोजन भएपनि निकुञ्जको खातामा पैसा न आइपुगेकाले काम अघि बढ्न नसकेको बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए ।

राष्ट्रिय निकुञ्ज भएका कारण सरकारी निकायबीचको आपसी प्रक्रियागत र कानुनी जटिलताका कारण ट्र्याक बिस्तारमा ढिलाइ भएको हो । वाल्मीकि आश्रम चितवन जिल्लाको माडी नगरपालिका–१ को निकुञ्ज जङ्गल क्षेत्रमा रहेको छ । त्यहाँ पुग्नका लागि चितवनबाट जाने बाटो छैन ।

ट्र्याक बिस्तारका लागि निकुञ्जबाट पत्राचार भैसकेको र बजेट प्राप्त भएपछि तत्कालै गोरेटो निर्माणको काम अघि बढ्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । वाल्मीकि आश्रमकै लागि पुल बनेको हो अहिले बिनयि त्रिवेणी गाउँपालिका र माडी नगरपालिकाले पनि विशेष चासो देखाएका कारण निकुञ्जसँगको समन्वयमा काम अघि बढेको तिवारीले जनाए ।

वाल्मीकि आश्रम, ऋषि वाल्मीकिले रामायण रचना गरेको र राम–सीताका छोरा लवकुश जन्मेको स्थलका रूपमा रहेको धार्मिक ग्रन्थमा उल्लेख छ । त्रेता युगमा रामले सीतालाई त्याग गरेपछि वाल्मीकि आश्रममै जीवन बिताएको र पछि सीता पातल प्रवेश (धर्तीमूनी विलीन) गरेको स्थानका रूपमा पनि यो स्थल रहेको धार्मिक मान्यता छ। यहाँ नेपाली मात्र होइन भारतीय पर्यटकसमेत आउने गरेका छन् ।

भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यताका कारण पनि नेपालीहरू आश्रम पुग्न असहज मान्ने गरेका छन् । आश्रम पुग्न निर्माण गरिएको पुल ट्र्याक बिस्तार भएसँगै सञ्चालनमा आउने भएसँगै यस क्षेत्रको विकासले समेत गति लिने र पर्यटन प्रवर्द्धनमासमेत टेवा पुग्ने सबैको विश्वास छ ।

त्रेतायुगमा रामको अविश्वासपछि सीता दोस्रो पटक वनबास जाँदा यहाँ पुगेर लव, कुशलाई जन्म दिएको तथ्यप्रमाणबाट खुल्छ । तर, यही महर्षि वाल्मीकि, सीता र लब–कुशसँग जोडिएका धेरै प्रमाणहरु रहेको आश्रम भने सरकारी उदासिनताले ओझेलमा छ ।

केही समयअघि भारतमा तामझमसहित राम मन्दिरको प्राण प्रतिष्ठा गरेर विश्वभर रहेका हिन्दू धर्माबलम्बीको ध्यान खिच्यो तर, भगवान् रामसँग जोडिएको आश्रममा जान नेपालबाट बाटोसमेत छैन । यहाँ जान झोलुंगे पुल बनेपनि प्रयोगमा आएको छैन भने यहाँ रहेका ऐतिहासिक संरचना संरक्षणमा कसैको ध्यान पुगेको छैन ।

आश्रममा दर्शन र पुजाआजा गर्न पुग्ने पर्यटक ऐतिहासिक ठाउँ ओझेलमा परेको देख्दा अमिलो मन बनाएर फर्किने गरेको आश्रमका पुजारी सुवेदीले बताउँछन् । यहाँ राम भगवानले सीता मातालाई वनबासका लागि महर्षी बाल्मीकि ऋषिको आश्रममा छाडेको, भगवान् रामका छोराहरु लव र कुशको जन्म भएको र सीता माता पातालमा भाँसिएको स्थल जीर्ण अवस्थामा छ ।

आश्रम वरपर सीता पाताल प्रवेश स्थल, अमृत कुण्ड, हवन कुण्डका अवशेषहरु छन् । लव र कुशले घोडा बाँधेको खम्बा, पाठशालाको अवशेष, विष्णु चक्र, सीताको फलफूल बगैंचा र वाल्मीकि ऋषि अन्तरध्यान भएका स्थल पनि छन् । कलात्मक ढुंगा, ढुंगाकै खम्बा, इँट्टाका टुक्रा जस्ता प्राचीन वस्तुहरु यत्रतत्र छरिएका छन्  ।

तर, कहीकतैबाट संरक्षणमा ध्यान दिइएको छैन । नेपालबाट जाने पूर्वाधार नभएकै कारण नेपाली भन्दा भारतीयहरु यहाँ बढी पुग्छन् । पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले आफू काँग्रेस नवलपरासीको सभापति हुँदा झोलुंगे पुल बनाउन पहल गरेको र यसले सार्थकता पाए पनि निकुञ्जका कारण प्रयोग नभएको बताउँछन् ।

‘झोलुंगे पुलबाट आउजाउमा सहज गर्नुपर्छ, अर्कातर्फ भारतसँग समन्वय गरेर रामायण सर्किट बनाएर आश्रमलाई अयोध्यासँग जोड्नुपर्छ, यसो गरेमा अयोध्यामा आउने पर्यटक यहाँ आउँछन्, यसले हामीलाई नै फाइदा पुग्छ ।’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर