रुसी सेनामा नेपाली भर्तीबारे विश्वप्रकाशको सरकारलाई प्रश्न- रुससँग वार्ता गर्नसक्ने क्षमता छ की छैन ? (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले रुसी सेनामा भर्ती भएका नेपालीहरु फर्काउनका लागि रुससँग कूटनैतिक पहल र संवाद गर्नसक्ने क्षमता देखाउन नसकेको बताएका छन् ।
आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले हालसम्म नेपालस्थित रुसी राजदुतालाई बोलाएर संवाद गर्नु बाहेकको पहल गर्न सकेको छ की, छैन ? भन्दै प्रश्न गरे ।
उनले देशबीच कुटनैतिक पहल र सरकारको क्षमता रसियासँग संवाद गर्नसक्ने स्तरमा छ की छैन ? भन्ने प्रश्न गरे । उनले रुसी सेनामा भर्ती भएका नेपालीको यकिन तथ्यांक सरकारसँग नरहेको बताए । उनले नागरिकलाई सरकार छ भन्ने महशुस गराउन सरकारले रसियामा गएर सैनिक भइ बसेका नेपालीको उद्धार गर्ने कुरामा गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
उनले ६ फेब्रुअरीको साँझ एयर अरबियाको जहाजबाट नेपाल आउन लागेका सुरेन तामाङ, सजन लोप्चन तामाङ र मदन कुमाललाई मस्कोस्थित विमानस्थलबाट पक्राउ गरी रुसी सेनाको कब्जामा रहेको विषयमा सरकार जानकार छ की छैन ? भन्दै प्रश्न गरे ।
महामन्त्री शर्माले रुसी सेनामा भर्ती भएकाहरुको उद्धार गर्न सरकारको पहल नपुगेको बताए ।
यस्तो छ शर्माको भनाइः
६ फेब्रुअरीको साँझ एयर अरबियाको जहाजबाट नेपाल आउन लागेका थिए, सुरेन तामाङ, सजन लोप्चन तामाङ र मदन कुमाल मस्कोबाट । उनीहरु मस्कोको एयरपोर्टमा रसियन सैनिकको गिरफ्तारीमा परे । एक महिनाअघि उनीहरु रसियन सैनिकहरुबाट भागेर मस्को पुगेका थिए । दुतावास पुग्नुअघि पक्राउ परे ।
उनीहरुलाई फेरि लिएर गइयो र सैनिक सीमामा राखियो । करिब १६ सय किलोमिटर भागेर उनीहरुसँग दुतावासको सम्पर्क भयो । उहाँहरुले सम्पर्कमै आएकै साँझ विमानस्थल पुर्याउँदा उनीहरु पक्राउ परे । उनीहरु अहिले रसियन सैनिकको गिरफ्तारीमा छन् । उनीहरुको अवस्था के छ ? नेपाल सरकारलाई जानकारी छ की छैन । उनीहरुलाई उद्धार गर्ने सम्भावना के छ ?
रसियन सैनिकमा नेपालले अनुमति नदिकन, रसिया र युक्रेनबीचको वार आफ्नो ठाउँमा छ । जसको अन्त्य होस् भन्ने हामी कामना गर्दछौँ । तर युद्धसँग असम्बन्धित देशका मानिसहरु नेपाल सरकारले अनुमति नदिकन यहाँबाट मानव तस्कर गरेर लैजानेहरुको सञ्जाल तोड्नका लागि नेपाल प्रहरीले काम गरिरहेको छ । यताबाट तोड्नुपर्ने कुरासँगै उताबाट जोडेर ल्याउनुपर्ने कुरामा नेपाल सरकार छ ?
सरकारको कुनै न कुनै सम्पर्क भइरहेको, दुतावासको दुतलाई बोलाएर कुरा गरेको भन्दा बाहेक हाम्रो कुटनैतिक पहल, सरकारको क्षमता रसियासँग संवाद गर्नसक्ने स्तरमा छ की छैन ? जम्मा यकिन संख्या कति छ ? सरकार छ भन्ने महशुस गराउन सरकारले रसियामा गएर सैनिक भइ बसेका नेपालीको उद्धार गर्ने कुरामा गम्भीरतापूर्वक लिनुपर्छ ।’