सहिद प्रजापति स्मृति प्रतिष्ठानले झापामै पहिलोपटक जनवादी गीति कार्यक्रम आयोजना गर्दै – Nepal Press

सहिद प्रजापति स्मृति प्रतिष्ठानले झापामै पहिलोपटक जनवादी गीति कार्यक्रम आयोजना गर्दै

काठमाडौं । झापामै पहिलोपटक वृहत जनवादी गीति कार्यक्रमको आयोजना हुने भएको छ । सहिद प्रजापति स्मृति प्रतिष्ठान झापाले जनवादी गायक राजन राईको साथमा जनवादी गीति कार्यक्रम आयोजना गर्न लागेको प्रतिष्ठानका अध्यक्ष त्रिलोचन सापकोटाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

फागुन २१ गते आयोजना गरिने उक्त कार्यक्रममा गायिका मधु गुरुङ र अन्य स्थानीय कलाकारहरु पनि रहनेछन् ।

जनवादी गीत संगीतको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने, प्रजापति सापकोटालाई सहिद घोषणा गर्न दबाब दिने, जनवादी कलाकारहरुको मान, सम्मान र महत्वलाई उजागर गर्ने, संस्थाको संरक्षण, दिगो विकास गर्ने, संस्थामा आवश्यक भौतिक व्यवस्थाको प्रबन्ध गर्ने जस्ता उद्देश्य कार्यक्रमको रहेको अध्यक्ष सापकोटाले बताए ।

कार्यक्रममा तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध गाइएका सदावहार जनवादी गीतहरु प्रस्तुत गरिनेछ । त्यस्तै, प्रतिष्ठानका जग्गादाता तथा घटनाका समकक्षीहरुलाई सम्मान गरिने र प्रतिष्ठानको साधारण सदस्य, आजिवन सदस्य, मानार्थ सदस्यको सदस्यताहरु वितरण गरिने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

२०४३ सालमा तात्कालीन कम्युनिष्ट पार्टीको निर्देशनमा अगुवा कम्युनिष्ट कार्यकर्ताहरुको अगुवाईमा जनवादी गीत संगीतका साथ खेलिएको देउसी भैलो घर दैलो कार्यक्रममा तत्कालीन पञ्चहरुको समूहको आक्रमणबाट घाइते भएको अग्रज कम्युनिष्ट कार्यकर्ता प्रजापति सापकोटाको केही दिनपछि मृत्यु भएको थियो ।

उनकै स्मृतिमा त्रिलोचन सापकोटाको अध्यक्षतामा २०७३ मंसिर २७ गते जिल्ला प्रशासन कार्यालय झापामा द.नं. २६०६ कायम भइ प्रतिष्ठान स्थापना भएको हो ।

यस प्रतिष्ठानको नाममा हल्दिबारी १ गोलधाप निवासी स्व. डुकमाया ढकालबाट २ कठ्ठा जग्गा प्राप्त भएको तथा विभिन्न दाता एवं ऋण सापटी समेत गरि थप २ कठ्ठा जग्गा खरिद गरि कूल ०-०४-० कठ्ठा जग्गा रहेको प्रतिष्ठानले जनाएकाे छ ।

हाल प्रतिष्ठानको भौतिकरुपमा एक कोठाको भवन निर्माण भइ प्रयोग भइरहेको छ । तर त्यसको संरक्षण र सम्वर्द्धनका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने आयोजकले विश्वास व्यक्त गरेको छ ।

त्यस्तै, फागुन २१ जनवादी गायक राजन राईले सहिद प्रजापति स्मृति प्रतिष्ठानले गर्न लागेको बृहत जनवादी गीति कार्यक्रममा आउने र जनवादी गीत संगितलाई माया गर्ने सबै जनालाई उपस्थितिका लागि आह्वान गरेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *