भिजिट भिसामार्फत हुने मानव तस्करीको समस्या समाधान गर्न संसदीय समितिको निर्देशन – Nepal Press

भिजिट भिसामार्फत हुने मानव तस्करीको समस्या समाधान गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीको समस्या समाधान गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसद सचिवालयमा आइतबार भएकाे प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले सरकारलाई १० बुँदे निर्देशन दिएको हो ।

समितिले दिएको निर्देशनमा भनिएको छ, ‘अध्यागमन सम्बन्धमा रहेको विद्यमान ऐन, नियममा समयानुसार परिमार्जन गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिने, भिजिट भिसालगायतको नाममा भइरहेको मानव तस्करी भिजिट भिसा प्रकरणमा देखिएको समस्या समाधान गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायतका ठाउँमा अध्यागमनलाई सरल र सहज बनाउन आवश्यक पहल गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिने ।’

समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा देखिएको अपुग जनशक्ति व्यवस्थापन गर्न गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ । विश्वव्यापी प्रचलनलाई ध्यान दिँदै अन्तर्राष्ट्रिय मापदण्डअनुसार अध्यागमन कार्यालयलाई व्यवस्थित बनाउन गृह मन्त्रालयलाई नै निर्देशन दिएको छ ।

समितिले राष्ट्रिय सुरक्षा नीति समयानुकूल परिमार्जन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ । खुला सिमानामा सुरक्षा व्यवस्था गर्न पनि गृहलाई निर्देशन दिइएको छ ।

सडक मगन्तेको उचित व्यवस्थापन गर्न निर्देशन

त्यस्तै बैठकले यौनिक तथा अल्पसंख्यक (एलजीबीटीआईक्यू) र अन्य सडक मगन्तेलाई उचित व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

‘सडकमा हिँड्ने बटुवालाई अनावश्यक दुःख दिने तथा शहरको सभ्यतामाथि खलल पु¥याउने तेस्रो लिंगी तथा अन्य सडक मगन्तेको उचित व्यवस्थापन गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिने’, निर्णयमा भनिएको छ ।

समितिले बुद्ध जन्मस्थल लुम्बिनीलगायतका विभिन्न स्थानमा ध्यान गर्न नेपाल आउने अन्तर्राष्ट्रिय बौद्ध भिक्षुलाई श्रम भिसा दिनुभन्दा ऐन, नियममा परिमार्जन गरेर अन्य व्यवस्था गर्न पनि गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *