मिस एण्ड मास्टर लिटल स्टार मदरल्याण्ड सिजन १ हुने – Nepal Press

मिस एण्ड मास्टर लिटल स्टार मदरल्याण्ड सिजन १ हुने

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका- ९ भाटेढिकुरस्थित मदरल्याण्ड इङ्गलिस स्कुलले मिस एण्ड मास्टर लिटल स्टार सिजन १ आयोजना गर्ने भएको छ ।

प्रतियोगिताको लागि ९ देखि १२ वर्षका २९ छात्रा र १६ छात्र क्लोज क्याम्पमा छन् । क्लोज क्याम्पपछि यही फागुन ४ गते ग्रायण्ड फिनाले हुने स्कुलका प्रिन्सिपल सञ्जय खड्काले जानकारी दिए ।

विद्यार्थीहरुको बाहिरीसँगै भित्री सुन्दरता निखार्न प्रतियोगिता गर्न लागिएको स्कुलले आइतबार गरेको पत्रकार सम्मेलनमा प्रिन्सिपल खड्काले बताए ।

उनका अनुसार विद्यार्थीहरुको रुचिलाई उजागर गरी उनीहरुको क्षमतालाई थप परिस्कृत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

‘बालबालिकाको सुन्दरता प्रतियोगिताबारे धेरैको नकारात्मक धारणा छ । हामी यो चिर्ने उद्देश्यले गर्दैछौं’, प्रिन्सिपल खड्काले भने, ‘यसमा बाहिरी रुप र सुन्दरताभन्दा बालबालिकाको व्यक्तित्व, सकारात्मक सोच, समुचित प्रतिस्पर्धी भावनाको विकासमा जोड दिएका छौं । उनीहरु कति आत्मनिर्भर हुन्छन् भन्नेमा पनि ध्यान दिएका छौं ।’

उनले प्रतियोगितामा व्यक्तित्व र बौद्धिक विकासलाई ध्यान दिएर सोहीअनुसार निर्णायकहरुको व्यवस्था गरिने बताए । उनका अनुसार शैक्षिक क्षेत्रका ३ र अन्य क्षेत्रका एकएक गरी पाँच जना निर्णायकले दिने अंकको आधारमा विजेता घोषणा गरिनेछ ।

प्रिन्सिपल खड्काले रुचि र इच्छाशक्ति भएका बालबालिकालाई उनीहरुका अभिभावकहरुको अभिरुचि तथा सहमतिपछि मात्रै प्रतियोगितामा छनोट गरिएको बताए । प्रारम्भिक चरणमा ७६ जना विद्यार्थीले नाम दर्ता गराए पनि ४५ जना मात्रै क्लोज क्याम्पको लागि छानिएको उनले बताए ।

उनका अनुसार क्लोज क्याम्पमा विद्यार्थीहरुको रुचिअनुसार नृत्य, गीतसंगीत तथा खेलकुदका प्रशिक्षकको व्यवस्था गरिएको छ । ‘एकजना मात्रै विद्यार्थी हुँदासमेत उनको रुचिअनुसार प्रशिक्षकको व्यवस्था गरेका छौं’, प्रिन्सिपल खड्काले भने ।

प्रतियोगितामा सुमी बानियाँ कोरियोग्राफर रहेका छन् । उनले ग्रायण्ड फिनालेमा मौखिक प्रश्नोत्तर र परिचयात्मक तथा लिखितपछि अन्तिम राउन्डमा छात्रातर्फ १५ र छात्रतर्फ ८ जना प्रतिस्पर्धी छनोट गरिने बताइन् ।

अन्तिम राउन्डबाट छात्रातर्फ विजेतासँगै दोस्रो, तेस्रो र चौथो तथा छात्रतर्फ विजेतासँगै दोस्रो र तेस्रो छानिने आयोजक स्कुलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *