कञ्चनपुरका दुई पत्रकारलाई ७ दिन थुनामा राख्न अदालतको अनुमति
धनगढी । कञ्चनपुरमा विद्युतीय अपराध गरेको अभियोगमा पक्राउ परेका पत्रकारद्वयलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।
जिल्ला प्रहरी कार्यालयले शनिबार विद्युतीय अपराध(साइबर क्राइम) को मुद्दामा दुवै जनालाई पक्राउ गरेको थियो ।
प्रहरीविरूद्व लेखेकै कारण उनीहरूलाई पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासङ्घ लगायतका पेसागत सङ्गठनले विरोध जनाएका थिए ।
उनीहरूलाई तत्काल रिहा गर्न माग गरेका थिए तर कञ्चनपुर प्रहरीले भने सामाजिक सञ्जालमा जथाभावी लेखेर चरित्र हत्या गर्ने काम गरेको भन्दै उनीहरूलाई पक्राउ गरेको बताउँदै आएको छ ।
‘उहाँहरू विरुद्ध सात दिन म्याद थप भएको छ । हामी थप अनुसन्धान गरिरहेका छौँ’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।