म्यानमारमा नयाँ नियम घोषणाः अब हरेक नागरिकले कम्तिमा दुई वर्ष सैनिक सेवा गर्नुपर्ने
काठमाण्डौ । म्यानमारमा हरेक नागरिकले कम्तिमा दुई वर्ष सैनिक सेवामा जोडिने नियम सुरु हुने भएको छ । शनिबार सार्वजनिक भएको घोषणाअनुसार अब म्यानमारका १८ देखि ३५ वर्ष उमेरका पुरुष नागरिकहरुले आफ्नो जीवनको कम्तिमा दुई वर्ष सैनिक सेवामा सक्रिय हुनुपर्नेछ ।
बीबीसीका अनुसार महिलाको हकमा भने १८ देखि २७ वर्षको समूहमा यो नियम लागू गरिने भएको छ । यो नियमको लागि आवश्यक कानूनी प्रावधानहरु क्रमशः सार्वजनिक हुने सेनाले बताएको छ ।
सन् २०२१ फेब्रुअरी १ मा जननिर्वाचित सत्ता हत्याएको म्यानमारको सेनाले पछिल्ला महिनाहरुले विद्रोही जातीय समूहसँग पराजय भोग्दै आएको छ ।
तीन महिना अगाडि सान राज्यमा तीन विद्रोही समूहहरुले सेनालाई पराजित गरेर चीनसँगको सीमा नाका कब्जामा लिएका थिए । पछिल्ला अरु लडाइँमा पनि सेनाले पराजय भोगेका समाचारहरु सार्वजनिक भइरहेका छन् ।
म्यानमारको बेलायतबाट स्वतन्त्र भएको साल सन् १९४८ जनवरी ४ हो । त्यसयताको आधा शताब्दी समय किस्ताकिस्तामा सेनाको कब्जामा आएको छ ।