विद्यालय जान लागेका प्रअमाथि वैद्य निकट पार्टीका कार्यकर्ताको कुटपिट, दुई पक्राउ – Nepal Press

विद्यालय जान लागेका प्रअमाथि वैद्य निकट पार्टीका कार्यकर्ताको कुटपिट, दुई पक्राउ

रुपन्देही । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं ८ मा रहेको बालशिक्षा माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र पन्थीलाई वैद्य नेतृत्व रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले हातपात गरेका छन् ।

पन्थीमाथि हातपात तथा अभद्र व्यवहार गरेका क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज हुकुम खड्का र सहसेक्रेटरी नरिश्वर पाण्डे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रधानाध्यापक पन्थीलाई घरबाट बिहान विद्यालय जाने क्रममा मोटरसाइकल रोकेर हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा नरेश्वर पाण्डे र हुकुम खड्कालाई पक्राउ गरेको जनाएको छ । प्रहरी प्रमुख डीएसपी प्रतित सिंह राठोरले दुई जनालाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको जनाए ।

विद्यालयमा जाने क्रममा शिक्षकलाई हातपात तथा अभद्र व्यवहार गरेको भन्दै जिल्लामा क्रियाशील शिक्षकहरूका संघ, संगठनले कडाभन्दा कडा कारबाहीको माग गरेका छन्। नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अनेशिसं, अनेशिसंगठन र प्रनेराशिसंले एक संयुक्त विज्ञप्ति जारी गरी कारबाहीको माग गरेका हुन् ।

मालारानी गाउँपालिकाले पनि यो घटनाको विरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गरेको छ । पन्थी एमाले निकट शिक्षक संगठनमा आवद्ध छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर