सोचे जस्तो लक्ष्य भेटाउन सकेनौं : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोचे जस्तो लक्ष्य भेटाउन नसकेको स्वीकार गरेका छन् ।
सोमबार चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री महतले निर्धारण गरेका लक्ष्यहरु भेटाउन नसकेको स्वीकार गरेका हुन् ।
उनले भने, ‘कुरा गरे जस्तो काम हुँदैन । आर्थिक सुधारको विषय विस्तारै हुन्छ । अर्थतन्त्रलाई चुस्तदुरुस्त बनाउन अझै केही समय लाग्छ । समग्र अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएका छन् । यद्यपि हामीले सोचे जस्तो लक्ष्य भेटाउन सकेनौं । निधारण गरेका सूचकहरु आउन सकेनन् । बजेट व्यवस्थापनमा अझै चुनौती रहेको छ । गत बजेटमा धेरै दायित्व र घोषणा भइसकेका छन् । बजेट पद्धतिलाई चुस्त बनाउन अझै केही समय लाग्छ ।’
अर्थमन्त्री महतले बैंकिङ क्षेत्रको तरलतामा सुधार आएसँगै ब्याजदर घटेको र शोधान्तर तथा पर्यटन क्षेत्रमा सुधार देखिएको बताए ।